लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ मुल नारा रहेको सम्मेलन अार्इबारसम्म चल्नेछ । 

गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका छन्। सम्मेलनमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन्। 

शुरूमा ३८ देश सहभागि हुने भनिए पनि सम्मेलनस्थलमा १६ देशले सहभागीता जनाएका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ ।

सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ । 

लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने दाबी गरे । 

सम्मेलनमा मुख्य वक्ताका रूपमा दुरहाम विश्वविद्यालयका प्र्राध्यापक रविन कनिंघमले आफ्नो कार्यपत्र पेश गर्दैछन्। सम्मेलनमा १६ देशका विज्ञहरुले बौद्धसगँ सम्बन्धित १४ विभिन्न उपशीर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईका अनुसार  १६ जना राष्ट्रिय र १४ अन्तर्राष्ट्रिय गरी ३० जनाले १४ वटा विभिन्न उपशीर्षकहरुमा गौतम बुद्ध तथा  बौद्ध धर्मसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्दैछन् । लुम्बिनीस्थित चिनियाँ बिहारको दुई वटा सभाहलमा समानान्तर प्रणालीमा कार्यपत्रहरु प्रस्तुत गरिँदैछ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानदाताहरुले बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धि विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। प्रस्तुत गरिएका कार्यपत्रहरुको निश्कर्षको अाधारमा भोलि ‘लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन घोषणा पत्र २०१८’ जारी गरि सम्मेलन समापन गरिनेछ ।

बुद्धसगँ सम्बन्धित रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिक स्थल एवम् बुद्धको अमृतमय शिक्षालाई प्रचार–प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सद्भाव बढाउने लगायत उद्देश्यले सम्मेलन आयोजना गरीएको हाे । सम्मेलन तथा बुद्धजयन्ती आयोजना गर्नका लागि लुम्बिनी विकास कोषको आन्तरिक बजेटबाट ६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?