आजभोलिका गीत साह्रै ‘चिप’ भएः रत्न शमशेर थापा

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, ए कान्छा ठट्टैमा, पन्छीमा राम्रो डाँफे, जाग लम्क चम्क हे जस्ता कालजयी र राष्ट्रभक्ति गीत लेखेका गीतकार रत्नशमशेर थापाका नयाँ गीत बजारले पाएको छैन । नयाँ पुस्ताले उनलाई त्यति चिन्दैनन् पनि । तर, उनले लेखेका गीत अझै पनि उत्तिकै सुनिन्छन् कतै न कतै ।

एक जमानामा उनले लेखेका गीत स्वर स्रमाट नारायणगोपालदेखि प्रेमध्वज प्रधानसम्मको स्वर अटाउने गर्थ्यो ।

तर, अहिले गीतको शैली फेरिएको छ । 

केही दशकअघि जस्ता गीत रचिन्थे/गाइन्थे, त्यस्ता गीत अहिले विरलै गाइन्छन् । यदि त्यस्ता गीत गाइए भनेपनि गीतकै भीडमा च्यापिन्छन् । बजारमा चर्चामा आउँदैनन् । बजारले आफ्नो लय बदल्दै गएको छ ।

ती गीतहरु केही समय बजारमा एकदमै सुनिन्छन् । त्यसपछि गीत हराउन थाल्छन् । दर्शकले ती गीतलाई मनमा पु–याउँदैनन् । एकछिन सम्झिन्छन्, भुल्छन् ।

अहिलेको बजारले कालजयी गीत जन्माएको छ त? रत्नशमशेर थापा अहिले गीत सबै सतही भएको बताउँछन् ।
‘गीत साह्रै सस्तो भएको छ आजभोलि, गीत त गहन विषय हो नि’, स्रष्टा रत्नशमशेर थापा सुनाउँछन्, ‘अहिले पनि नारायणगोपाल, प्रेमध्वज प्रधानका गीत सुनिन्छ, किनकि ती गीतमा गाम्भीर्यता हुन्थ्यो, अहिलेका गीतमा गहिराई नै छैन ।’

थापाका अनुसार संगीत पनि साहित्यको अंग हो तर नेपालमा अति सस्तो रुपमा संगीतमा लिएका छन् । यहाँ युट्युबमा हिट भएका गीतलाई रुचाइएको भनिन्छ तर गीतको भारी कति छ, विषयवस्तु कत्तिको गहन छ, जस्ता कुरालाई ख्याल गरिन्न ।

‘गीतमा एउटा कथा अटाउन सक्नुपर्छ, गीत पनि कविताकै एक हिस्सा हो, बरु कवितालाई लामो बनाउन सकिन्छ तर गीतमा जम्मा आठदेखि दश लाइनमै पूरै भाव अटाउनुपर्ने हुन्छ ।’, थापा सुनाउँछन्, ‘तर, अहिलेका गीत स्रोताको स्वादका हुँदै गए, गीतलाई भन्दा भिडियोलाई हेर्ने दर्शक बढे ।’

दर्शक/स्रोताले पनि अहिले फास्टफुडजस्ता संगीत मन पराउँदै आएको उनले भन्दै आएका छन् । तर, यस्ता गीतको आयु भने धेरै लामो समय उनको दाबी छ । गत वर्ष चर्चाको चुचुरोमा पुगेको गीतलाई अहिले कमैले खोतलखातल पार्छन् ।

मान्छेको दैनिकी व्यस्त बन्दै जानुले चटपटेजस्ता गीतहरु रुचाइनु बेग्लै कुरा भयो । संसारका अन्य राष्ट्रमा पनि फरक धारका फरक गीत सार्वजनिक भइरहन्छन् । यो गीतको स्वरुप नै भयो तर नेपाली संगीत क्षेत्रमा भने एउटै शैलीका गीतको बाढी आएको छ । सिरियस र गम्भीर गीत सुनसान भएका छन् । गहन र भाव बोकेका गीत पनि मार्केटमा आउने हो भने दर्शक तथा स्रोताले चयन गरेर गीत सुन्ने अवस्था आउँछ ।

यसको कारण गीतमा हुनुपर्ने जुन रस हो, त्यो रसको कमी भएको रत्नशमशेर बताउँछन् ।

‘गीतमा पनि साहित्य हुन्छ नि, अहिलेका गीत त के हो के !, आउँछन्, गइहाल्छन् ।’, उनी सुनाउँछन् ।

अझ बजारमा देखिएको ट्रेन्ड अर्को पनि छ । कुनै एउटा गीत हिट भैहाल्यो भने त्यही गीतमा कभर गीत गाउन लगाइन्छ । या त, कुनै गीतलाई हिट बनाउन कभर गीत प्रतियोगिता गराइन्छ । यसरी हेर्दा बजारको आयातन डिजिटल विज्ञापनको रुपमा देखिन्छ । तर यो ट्रिकले गीतको स्तरीयता लम्बाउन मद्दत गर्छ त?

रत्नशमशेर भन्छन् – अहँ ।

‘पहिलेका गीत र अहिले सिर्जना हुने गीतमा धेरै फरक छ, सुन्ने र गहन गर्नेभन्दा हेर्नेतिर दाँजियो, यसो गर्दा गीतको स्तर खस्कियो’, थापा आफ्नो धारणा सुनाउँछन्, ‘फेरि अर्को समस्या के छ भने रेडियो टिभीले राम्रा गीत बजाउन पनि लोभ गर्छन्, जबरजस्ती त्यस्ता गीत सुनेर बानी पार्नुपर्ने अवस्था छ, गीत किन पनि सस्तो हुँदै गयो भने नेपाली गीतले आफ्नो गाम्भीर्यता गुमायो ।’
अहिलेका गीतहरु सस्तो भएको रत्नशमशेर गुनासो गर्छन् । गीतका लागि हुनुपर्ने चिन्तन मनन झण्डै हराएको छ । उनका अनुसार गीत आफैमा साहित्य हो, साहित्यमा जुन रस र शक्ति हुन्छ, त्यो गीतमा हुन्छ । गीतहरु झनभन्दा झन गहिराईमा जानुपर्ने हो तर सस्ता हुँदै गए ।

समाज एक तह अगाडि पुगेको पनि उनले राम्ररी बुझेका छन् । अहिलेका चल्तीका स्रष्टाले आफ्ना कुरालाई मनन नगर्ने बताउँछन् । ‘अहिलेका गायकले हाम्रा गीतमा कम साहित्य छ? भनेर भन्न सक्छन्, तर सत्य यही हो कि, अहिलेका गीत साह्रै सस्ता र काम चलाउ भए ।’, उनी भन्छन् ।

गीत संगीतमै आफ्नो महत्त्वपूर्ण समय खर्च गरेका रत्नशमशेर थापाले स्रष्टा र पाठकलाई गीतलाई सस्तो रुपमा नलिन आग्रह गर्छन् । ‘गीत गहन कुरा हो, यसलाई मजाकका रुपमा नलिऔं, गीतले समाजमा छाप छोड्न सक्नुपर्छ’, थापा भन्छन्, ‘अहिले त झन् तिनै गीत सुन्नैपर्ने अवस्था छ, रेडियोमा बजेका गीत कि त वाध्य भएर सुन्नुपर्‍यो, कि त रेडियो थुन्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?