अमेरिकाद्वारा ईरानमाथि ‘प्लान बी’ घोषणा, युद्द हुनसक्ने

काठमाडौं : सन् २०१५ मा भएको आणविक सम्झौता तोडदै अमेरिकाले ईरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माईक पोम्पीयोले पछिल्लो नाकाबन्दीलाई प्लान बी को रुपमा अथ्र्याएका छन, जसको अन्तिम उद्देश्य ईरानमाथि चरम आर्थिक नाकाबन्दीका साथै आक्रमण गर्नेसम्मको काम हुन सक्छ । 

परमाणु सम्झौता भएपनि ईरानले अझै आक्रामक गतिविधि देखाईरहेको भन्दै अमेरिकाले अघिल्लो महिना सो सम्झौताबाट आफु अलग भएको घोषणा गरेको थियो । लगत्तै मंगलबार राती ईरानमाथि प्रतिबन्धको घोषणा गरेको हो । 

प्रतिबन्ध भोग्ने या अमेरिकाका सर्तहरु मान्ने भन्नेबारे ईरानसँग जम्मा दुईवटा विकल्प रहेको अमेरिकाले जनाएको छ । अमेरिकाले घोषित प्रतिबन्ध रोक्न ईरानसामु १२ वटा सर्तहरु तेस्र्याएको छ ।

ईरानले हाल सिरियाका राष्ट्रपति बसर अल असदको शासनलाई सहयोग गर्न रुससँगै आफ्ना सैनिक सिरियामा पठाएको छ । रुस र ईरानको सैन्य उपस्थितीका कारण असदको शासन ढाल्न चुनौती खेप्दै आएको अमेरिकाले ईरानलाई तत्काल सिरियाबाट सेना फिर्ता गर्न भनेको छ । यस्तै, यमनका हुथी बिद्रोहीलाई सहयोग गरेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्ने अमेरिकाको अर्को सर्त छ ।

ईरानले अन्तर्रा्ष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई आफ्नो पूर्वन्युक्लियर मिलिट्री प्रोग्रामका सम्पूर्ण जानकारी दिएमात्र आफुले प्रतिबन्ध फिर्ता लिन सक्ने, यसका लागि परमाणुसम्बन्धी कामलाई सधैंको लागि बन्द गर्नुपर्ने र छिमेकी देशप्रति धम्कीको व्यवहार बन्द गर्नुपर्ने अमेरिकाको शर्त छ ।

मध्यपूर्वमा ईरानसँग ईजरायल, साउदी अरब र युएईको लामो समयदेखिको दुस्मनी छ । बारम्बार धम्की दिने इजरायललाई ईरानले पनि ध्वस्त बनाउने चेतावनी दिने गरेको छ । यस्तै, साउदी अरब र युएईमा मिसाईल प्रहार गर्ने धम्की ईरानले दिईरहेको आरोप अमेरिकाले लगाएको छ । ईरानमा गुप्तचरीका क्रममा पक्राउ परेका अमेरिकी र सहयोगी देशका नागरिकलाई मुक्त गर्न पनि अमेरिकाले ईरानसामु सर्त राखेको छ । 

अमेरिकी विदेशमन्त्री पोम्पियोले पछिल्लो प्रतिबन्ध र नाकाबन्दीमार्फत अमेरिकाले ईरानमाथि कडा वित्तीय दबाब बढाई सँधैका लागि ईरानलाई मध्यपूर्वमा कमजोर बनाईदिने दाबी गरेका छन् । आफुले राखेका सर्त पालना गरेमा मात्रै ईरानलाई सामान्य व्यवहार गर्न सकिने पोम्पीयोले बताए । 

बीबीसीको विश्लेषणमा अमेरिकाले ईरानमाथि अपनाएको पछिल्लो प्लान बी योजनाअन्तर्गत ईरानको कुटनीतिक र आर्थिक हैसियत कमजोर पार्ने र बाध्यात्मक सहमति आउन बाध्य पार्ने काम हुन सक्छ । 

अमेरिकाले नराम्रो परिणाम भोग्ने ईरानको चेतावनी 
अमेरिकाले प्रतिबन्ध र नाकाबन्दीको धम्की दिएलगत्तै ईरानले पनि अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । यदि आफुमाथि अमेरिकाले प्रतिबन्ध लगाएमा अमेरिकाले खराब नतिजा भोग्नुपर्ने चेतावनी ईरानले दिएको छ । 

ईरानका राष्ट्रपति हसन रुहानीले आफनो देश र संसारको निर्णय गर्ने अधिकारी अमेरिकालाई नभएको बताएका छन भने विदेशमन्त्री जवाद जरिफले अहिले अमेरिका असफल र खराब नीतिहरुको कैदमा रहेको प्रतिक्रिया दिएका छन । 

अमेरिकाले ईरानमाथि चालेका पछिल्ला कदमप्रति अमेरिकाका साझेदार मुलुकहरु समेत असन्तुष्ट देखिएका छन । युरोपेली संघ (ईयु) का विदेश नीति प्रमुख फेडरिका मोग्रिनीले अमेरिकाको आलोचना गर्दै सन् २०१५ को इरान परमाणु सम्झौता बाहेक अन्य बाटो नरहेको बताईदिएकी छन ।

ईरानसँगको परमाणु सम्झौताबाट अलग हुने निर्णयको ईजरायलले समर्थन गरेपनि यो सम्झौतामा हस्ताक्षर गरेका बेलायत, रुस, फ्रान्स र जर्मनीले अमेरिकाको कडा आलोचना गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?