बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019

‘हामी समाजका सह–चालक हौं’

सुदेशलाई मन पर्ने प्रिय कवि...

‘भन्नेहरु पद्य कविताको युग गयो भन्छन्, तर यी तन्नेरीले छन्द कविताको नयाँ युग लिएर आएका छन् । म सुदेशको कविता सुनेर गदगद छु ।’
राष्ट्रकवि माधवप्रसाद घिमिरले कवि सुदेश सत्यालको तारिफमा लेखेका शब्द हुन् यी ।

कविताकै माध्यमबाट युवापुस्तामाझ लोकप्रिय कवि सुदेश सत्याल कविताका सेलिब्रेटी हुन् ।


ADVERTISEMENT

गद्य कविताको लोकप्रियतासँगै पद्य कविता लेखिन र पढिन एकदमै न्यून भयो । धेरैले गद्य कविता लेख्न थाले । एक खालको गद्यात्मक बजार निर्माण गरिदिए, भलै ती कविता स्तरीय थिएनन् होलान् ।
तर, ती कविताले पद्य कविताको बजारलाई भने केही पछाडि धकेलिदिए । स्कूलका पाठ्युपुस्तकमा मात्र छन्द कविता सीमित हुन थाले ।

कविताको यो एकोहोरो विकासलाई कवि सुदेश सत्यालले भने ब्रेक लगाएका छन् । युवापुस्तामाझ लोकप्रिय सुदेशले पद्य कवितामा पनि पाठकको मन जित्ने शक्ति हुन्छ भन्ने कुरालाई प्रमाणित गरेका छन् ।

अहिले सुदेशका छन्द कविता सुन्ने डिजिटल पाठक सामाजिक सञ्जाल र युट्युबमा छन् भने उनले कविता सुनाउने कार्यक्रममा पनि दर्शकको उत्तिकै उपस्थिति हुने गर्छ ।

पहिले आफूले कविता राम्रो लेख्न सक्नुपर्‍यो, सँगै वाचन पनि उत्तिकै प्रभावकारी भयो भने कविताले दर्शकको मन जित्न सक्छन् ।

सुदेश भन्छन्, ‘मलाई सामाजिक सञ्जालले नै चिनाएको हो, पहिले आफूले कविता राम्रो लेख्न सक्नुपर्‍यो, सँगै वाचन पनि उत्तिकै प्रभावकारी भयो भने कविताले दर्शकको मन जित्न सक्छन् भन्ने मैले बुझेको कुरा हो ।’ 

कविताका अन्य विधा गीत, गद्यका तुलनामा छन्द कविताको बजार त लभगभ सुनसान जस्तै छ ।

पछिल्ला केही वर्षयता जब पद्य कविताभन्दा बढी गद्य कविताले साहित्यिक माहोल तताए, त्यसपछि कविता विधामा गद्य कविता भनेको नै कविता हो भन्ने सोचको समेत विकास भयो । यद्यपि छन्दका कविताको बजार चटक्कै सुकेको भने होइन/थिएन ।

छन्द कविताको शक्तिले पाठकको मन जित्न धौ धौ भइरहेका बेला कवि सुदेश सत्यालले युवापुस्ताको ध्यान छन्द कवितामा तानिदिए ।

कविबीच सीमित उनका कविता अहिले स्रोताका मन-मनसम्म पुगेका छन् । कविता ‘फर्केर आऊ घर’ ले उनलाई अझ बढी चर्चामा ल्याइदियो ।

पद्य कवितामा पछिल्ला रुचाइएका युवाकविको नाम लिनुपर्‍यो भने सुदेशको नाम छुट्दैन ।  कतै न कतै उनी आउँछन् । मिसिन्छन् । सुनिन्छन् ।

तनहुँका सुदेश सत्याल पढाइका लागि काठमाडौंमै छन् । कविता लेख्छन् । सुनाउँछन् ।

कक्षा ६ मा पढ्दादेखि नै पद्य कवितामा रुचि राख्न थालेका सुदेशले नौ कक्षादेखि छन्द कविता लेख्न थालेको बताउँछन् ।

‘कविता त पहिलेदेखि नै लेख्थें, तर ती कविता कविबीच मात्र सीमित थिए, अहिले समाजमा पुग्छन्, स्रोतामाझ पुग्छन् ।’, सत्याल भन्छन्, ‘पहिले कविता सन्तुष्टिका लागि लेख्थें, तर कविताले मलाई नसोचेको लोकप्रियता दियो, कविताले मलाई अझै जिम्मेवारी बनाएका छन् ।’

मुख्य कुरा त कवितामा सुगन्ध हुनुपर्छ, कविता भनेको सबैलाई मन पर्ने फूल हो, फूलको सुगन्धले मान्छेलाई छुन सक्नुपर्‍यो ।

जब सुदेशले कविता ‘फर्केर आऊ घर’ लेखे, उनी अझ धेरै स्रोतामाझ पुगे । उनको कवितालाई रुचाइयो, छन्द कविता रेडियोमा आउँदा पनि रेडियो बन्द गर्ने स्रोताले पनि उनको कवितालाई आनन्दका साथ सुन्न थाले ।

‘कविता गद्य होस् या पद्य, यी दुवै कविता नै हुन्, यी दुई विधा बेली र चमेलीजस्तै हुन्,’ सुदेश कविताबारेको आफ्नो धारणा सुनाउँदै भन्छन्, ‘मुख्य कुरा त कवितामा सुगन्ध हुनुपर्छ, कविता भनेको सबैलाई मन पर्ने फूल हो, फूलको सुगन्धले मान्छेलाई छुन सक्नुपर्‍यो ।’

सुदेश जति चर्चित छन्, यसको श्रेय उनका कविता नै हुन् । आख्यानका अन्य विधामा उनी त्यति सक्रिय छैनन् । कविता, त्यसमाथि पनि छन्द कविता उनलाई चिनारी दिने गहना बनेका छन् । नेपालीभन्दा बढी हुन् संस्कृतका कविता बढी पढ्छन् ।

नेपाली कविमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, महाकवि लक्ष्मीप्रसाद देवकोटा र कवि शिरोमणि लेखनाथ पौडेलबाट बढी प्रभावित भएको बताउँछन् सुदेश । त्यसमाथि पनि पछिल्लो समय राष्ट्रकवि घिमिरेको काव्य चेतले आफूलाई अझ बढी प्रभावित गरेको उनी बताउँछन् । ‘राष्ट्रकवि घिमिरेको काव्यचेतमा सरलता थपिँदै गएको छ, तीनै जना कविको आफ्नै चेत र दर्शक छ, तर घिमिरेका कवितामा अझ बढी सरलता छ,’ सत्याल थप्छन्, ‘संस्कृतका कवि कालीदास मलाई सबैभन्दा बढी मन पर्ने कवि हुन् ।’

सुदेशलाई छन्द कविताले नै लोकप्रियता दिएको  हो । उनको कविता वाचनको मात्र तारिफ हुने गर्दैन, कविताले उठाएका विषय र शब्दले मान्छेको मन लुछ्छ । सुदेश आफूले कविता समाजका विविध विषय उठाएर लेख्ने गरेको बताउँछन् । कविताले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएपनि कविता एन्टीवाइटिक औषधिजस्तो नभएको उनी बताउँछन् ।

हामी समाजका सह–चालक हौं, सह–चालकले गाडी गलत बाटो जान थाल्यो भने ड्राइभरलाई सचेत गराएझैं हामीले समाज र राज्यलाई सचेत गराउँछौं ।

‘आज लेखेको कविताले युगौंपछि पनि परिवर्तन ल्याउन सक्छ, कविताले तत्कालै समाज बदल्छ भन्ने हुँदैन, तर कविताले समाजका असङ्य मान्छेलाई प्रभाव पार्न सक्छ,’ उनी थप्छन्, ‘हामी समाजका सह–चालक हौं, सह–चालकले गाडी गलत बाटो जान थाल्यो भने ड्राइभरलाई सचेत गराएझैं हामीले समाज र राज्यलाई सचेत गराउँछौं ।’

कवितामै रमाइरहेका सुदेशले कवितालाई व्यावसायिक रुपमा भने लगेका छैनन् । भन्छन्, ‘मैले जुन चर्चा पाएँ, त्यो छन्द कविताले नै दिएको हो, अब यो क्षेत्र नै छोडेर अरु विधामा लेख्छु भन्ने त छैन, भोलिका दिनमा कविताबाहेक अन्य विधामा पनि लेख्न सक्छु, तर छन्द कविता नै मेरो मुख्य विधा हुनेछ ।’

सत्यालको एउटा कविताः
पैसाले सबथोक आउँछ भने माया किनी ल्याउनू
पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु रु

थाहा नै समुद्रपारितिरको त्यो देश कस्तो छ र रु
यो सानो झुपडी बुझे महल हो, फर्केर आऊ घर ।
मान्छे आज विदेशको झिलीमिली देखी रमाए पनि
आमाकै प्रिय हुन्छ काख हुन्छ जहिल्यै, लाखै कमाए पनि ।।

जाँदैछौ पुतली समान नभमा उड्दै कहाँ हो पर
आफ्नै देश सिंगार्नुपर्दछ यहाँ फर्केर आऊ घर ।
बाँझो खेत जताततैतिर भए के काम खोज्छौ भन
नेपाली हुनुमा गौरव छ स्वयं के नाम खोज्छौ भन ।।


हो तिम्रै श्रमले फुलाउनप–यो यो सृजना सुन्दर
फुट्छन् मूल यही फुटाउन सके फर्केर आऊ घर ।
बस्दाखेरी यही गुराँस जसरी मुस्कान साँचिन्न र रु
चाहे खान परोस् न गुन्द्रुक ढिँडो खाएर बाँचिन्न र रु

अर्को सुन्दर देश छ खै कहाँ यो भूमिभन्दा पर
रित्तो आँगनको तिमी मखमली फर्केर आऊ घर ।
खुल्छन् गुप्त कुरा विदेशतिरका ढोका चियाएपछि
के फल्दैन हुँदैन के दशवटा नङ्ग्रा खियाएपछि ।।

भिडियो अन्तर्वार्ता हेर्नुहोस्ः

अर्घेलो थापा

अर्घेलो थापा (अनिल थापा) लोकपथका लागि फिचर लेख्छन् ।

Leave a comment