भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक : अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको दाबी गरिएको छ । 

विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीले भुटानी शरणार्थी समस्या समाधान अन्तिम चरणमा पुगेको बताएका हुन् । 

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भुटानी शरणार्थीको समस्या अन्तिम चरणमा पुगेको जानकारी दिँदै तेस्रो मुलुक स्थानान्तरण भएर बाँकी रहेका शरणार्थीका समस्या अझै ठूलो र गम्भीर रहेको बताए । शिविरमा अहिले सात हजार हाराहारीमा शरणार्थी रहेका छन् । अन्य सबै शरणार्थी तेस्रो मुलुक पुनार्वास भइसकेका छन् । 

नेपाल सरकारको शरणार्थी समन्वय एकाइका संयोजक रहनुभएका प्रजिअ दाहालले भने – “हरेक शरणार्थीको स्वदेश फिर्ती नै दीर्घकालीन समस्याको समाधान भएकाले यसमा सबै सरोकारवाला निकायले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ ।” दाहालले शरणार्थी रेखदेख गर्ने निकायलाई शरणार्थीलाई दिँदै आएको राशन पानी निरन्तर प्रदान गर्न अनुरोधसमेत गरे । 

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त कार्यालय, दमक शाखाकी प्रमुख अन्ना पेलोसीले संसारमा हरेक दुई सेकेण्डमा एकजना शरणार्थी बनिरहेको अवस्थामा सबै मिलेर यो समस्या समाधानमा पहल गर्नुपर्ने बतार्इन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?