क्वार्टरफाइनल आजबाट शुरु, फ्रान्स र उरुग्वे आमने—सामने हुँदै

रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजबाट क्वार्टरफाइनलको खेल शुरु हुँदैछ । 

निज्नी नोभ्गोरोड स्टेडियममा हुने पहिलो क्वार्टरफाइनल खेलमा पूर्व विश्व विजेता फ्रान्सले उरुग्वेको सामना गर्दैछ । यि दुई टिमविचको खेल नेपाली समयअनुसार आजसाँझ पौने ८ बजेपछि शुरु हुँदैछ ।

रसिया विश्वकपमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आइरहेको फ्रान्सले उरुग्वेलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गर्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । तर, उरुग्वे टिमको सबैभन्दा बलियो देखिएको रक्षापंक्तिलाई फ्रान्सले तोड्नुपर्नेछ । प्रि—क्वार्टफाइनलको खेलमा फ्रान्सले अर्जेन्टिनालाई टाइब्रेकरमा ४—३ ले तथा उरुग्वेले पोर्चुगललाई २—१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान तय गरेको थियो ।

यसअघि दुवै टिम लिग चरणको आ–आफ्नो समूहको विजेता बनेको थियो । उरुग्वेले समूह ‘ए’ का सबै तीन खेल जितेको थियो भने फ्रान्सले समूह ‘सी’ मा ७ अंक बटुलेको थियो । युरोपियन पावर हाउस पोर्चुगलविरुद्धको खेलमा उरुग्वेले रुसी भुमिमा एकमात्र गोल खाएको थियो । 

यता अर्जेन्टनाविरुद्धको नकआउट चरणको खेलमा राम्रो नतिजा निकालेको फ्रान्सको उच्च मनोबल रहेको छ । एन्टोइन ग्रिजमन, ओलिभियर जिरुड र केलियन एमबाप्पे आजसाँझ हुने खेलमा आक्रामक रुपमा प्रस्तुत हुने देखिएको छ ।

१९ वर्षे एमबाप्पले अर्जेन्टिनाविरुद्ध उत्कृट खेल खेल्दै दुई गोल गरेका थिए भने पेलेको किर्तीमानसँग बराबरी पनि गरे । उनी सन् १९५८ यता विश्वकपमा १९ वर्षको उमेरमा दुई गोल गर्ने पहिलो ‘टिनएज’ खेलाडी समेत बनेका छन् । यो किर्तीमान पहिलो ब्राजिलका बादशाह पेलेको नाममा रहेको थियो ।

 यता एटिकिङ र फ्रास्ट खेल खेल्ने एमबाप्पे देखि उरुग्वेका डिफेन्डरलाई आज टाउको दुखाई हुनसक्छ । उरुग्वेका डिफेन्डरद्वय डिएगो गोडिन र जोसे जिमिनेजको उद्देश्य एमबाप्पेलाई रोक्ने रहेको बताइएको छ । 

त्यस्तै, उरुग्वेका लागि भरपर्दा स्टार खेलाडीद्धय लुइस स्वारेज र एडिन्सक कभानीविचको तालमेल मिले फ्रान्सलाई पराजय पनि गर्ने सक्ने बताइएको छ । आजको खेलमा जित दर्ता गराए उरुग्वे सन् २०१० को विश्वकपपछि पहिलो पटक सेमिफाइनल पुग्नेछ । 

विश्वकप इतिहासमा सातौंपटक क्वाटरफाइन खेल्न लागेको फ्रान्स र उरुग्वे अहिलेसम्म ६ पटक आमने—सामने भएका छन् । जसमा उरुग्वेले दुईमा जित र चारमा बराबरी गरेको छ । पछिल्लो पटक सन् २०१३ मा भएको मैत्रिपूर्ण भेटमा फ्रान्स उरुग्वेसँग २—१ गोलले पराजित भएको थियो ।

खेलमा कुन टिम अघिल्लो चरणमा पुग्नेछ, कुन टिमको विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ त्यो भने आजसाँझको खेलप्रश्चात टुङगो लाग्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?