अपराधको जालोमा काठमाडौं : अपराधी अघि-अघि प्रहरी पछि-पछि

काठमाडौं । कर्तव्य ज्यान, चोरी, डकैति, ठगी, लागूऔषध ओसारपसार, अबैध हतियारको कारोवार, जवरजस्तीकरणी र साइवर अपराधका घटनाहरु राजधानीमा आश्चार्य जनक ढंगले बढेका छन् ।  

तर, केही अपराधका घटनाहरुमा भने कमि आएको छ । जस्तो अपहरण तथा शरीर बन्धक, महिला वेचविखन, विष्फोटक पदार्थको प्रयोग, संगठित अपराध, गुण्डागर्दी, कुटपिट अंगभंग लगायत घरेलु हिंसाका घटनाहरुमा नियन्त्रण आएको जानकारी प्रहरीले दिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले अपराध सम्बन्धी सार्वजनिक गरेको एक तथ्याङकमा राजधानीमा हुने १८ किसिमका अपराधहरु मध्ये १० वटा अपराधको संख्या तुलनात्मक रुपमा घटेको देखाएको छ । 

काठमाडौं परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कर्तव्य ज्यान, खुनडाँका, खोटा चलन, ठगी, लागूऔषध, हातहतियार खरखजना, जवरजस्तीकरणी, विद्युतीय कारोवार तथा साइवर क्राइम जन्य अपराधका घटनाहरुमा वृद्धि भएको जानकारी दिए । 

त्यस्तै, विष्फोटक पदार्थ, अपहरण, चेलिवेटी वेचविखन, कुटपिट अंगभंग, संगठित अपराध, गुण्डागर्दी, अपहरण तथा शरीर बन्धक, फिरौति र चन्दा अशुली जन्य अपराधका घटनामा नियन्त्रण आएको जानकारी पनि उनले दिए ।  

आर्थिक वर्ष २०७४-२०७५ मा छ हजार आठसय ४१ वटा मुद्धा दर्ता भएका छन्  । अघिल्लो आर्थिक वर्षमा चारहजार पाँचसय ८२ वटा मुद्दा दर्ता भएका थिए । यो वर्ष अपराध घटनाहरुमा ३३ प्रतिशतले वृद्धि भएको परिसरको तथ्याङ्कमा उल्लेख छ । 

ती मध्ये केही सार्वजनिक मुद्दाको संख्या अधिक रहेको छ । आर्थिक वर्ष ७४-७५ मा तीन हजार ७ सय ८३ र त्यसअघि दुई हजार २ सय ६९ रहेको थियो । यस आर्थिक वर्षमा दर्ता भएका छ हजार ८ सय ४१ मुद्दाहरुमा संलग्न ९ हजार १ सय २ जना अभियुक्त पक्राउ परेका छन् । 

ती मुद्दामा संलग्न ६ सय ९२ जना अभियुक्त फरार छन् । यो आर्थिक वर्षमा ५ हजार ९ सय ७६ वटा मुद्दा फर्छौट भएका छन् । परिसरले वर्षभरीमा सबैभन्दा बढी अपराधका घटना हुने महिनाको रुपमा असार र कम हुनेमा साउनलाई राखेको छ ।

गत साउनमा तीनसय ८९ वटा अपराधका मुद्दा दर्ता भएका छन् । ती अपराधमा संलग्न रहेको अभियोगमा चारसय ४४ जना पक्राउ परेका छन् भने ४९ जना फरार छन् । तीनसय १८ वटा मुद्दा फर्छौट भएका छन भने ७१ वटा पेण्डिङमा छन् । 

त्यस्तै, यो असारमा ८ सय ८६ दर्ता भएका मुद्दाहरुमा संलग्न नौ सय ५५ जना अभियुक्त पक्राउ परेका छन् । ९१ जना फरार छन् । ७ सय ३९ वटा मुद्दा फर्छौ गरिएपनि एकसय २८ पेण्डिङमा रहेको जानकारी परिसरका प्रवक्ता मोहन थापाले दिएका हुन् । 

पीडित राजधानीवासीहरु प्रहरीको सक्रियता अझै नबढेको बताउछन् । अपराध अनुसन्धानका लागि प्रहरी पछिपछि अपराधि अघिअघि भइरहेको गुनासो उनीहरुको छ । अपराध नियन्त्रणमा केही प्रहरी सेवामुखी भन्दा पनि पैसा मुखी भएको आरोप सर्वसाधारणको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?