चुरोट, गाँजाको लतजस्तै ‘प्रविधि’ को लत : बच्चालाई दिनको कति घण्टा मोबाइल दिने?

काठमाडौं । तीन वर्षपहिले झापाका सुरेश दंगाल (नाम परिवर्तन) को दुबई जाने भिसा लाग्यो । फेसबूकको प्रयोग गाउँतिर भर्खरै शुरुवात भएको थियो । विदेशमा हुँदा आफ्नी पत्नीसँग कुरा गर्न सहज होस् भनेर उनले पत्नी दुर्गा दंगाल (नाम परिवर्तन) को फेसबूक खाता खोलिदिए । उनलाई चलाउन सिकाए । र, विदेश गए ।

पछि फेसबूक चलाउँदा चलाउँदै दुर्गाको चिनजान अरुसँग पनि भयो । दुर्गा मानसिक समस्यामा परिन् । सुरेश फर्केर नेपाल आउँदा उनी अर्कैसँग भागिसकेकी थिइन् ।

अर्घाखाँचीका समीर केसी परिवार पाल्नका लागि मलेसिया गए । गाउँमा भएकी आफ्नी पत्नी मोनिका केसी (नाम परिवर्तन) सँग उनको मलेसियामा हुँदा पनि निरन्तर कुरा हुन्थ्यो । केही हप्ता पहिले मात्र उनी आफ्नी चार वर्ष र दुई वर्षका छोरी छोडेर घरबाट भागिन् । सामाजिक सञ्जालतिर यतिबेला उनको खोजी भएको, बच्चा रोएको भन्दै ती महिलाको तस्वीर शेयर भइरहेको छ । ती युवतीलाई गाली गरिरहेका छन् । 

भनिएको छ, ‘उनी सामाजिक सञ्जाल फेसबूकबाटै सम्बन्ध अगाडि बढाएर एक परपुरुषसँग भागेकी हुन् ।’

प्रविधिको विकाससँगै सामाजिक सञ्जालले आम मानिसको दैनिकीलाई निकै सजिलो बनाइदिएको छ । तर, यही प्रविधिले समाजमा उत्तिकै डरलाग्दा विकृति पनि भित्र्याएको छ । एकातिर प्रविधिकै कारणले सामाजिक सञ्जालको सदुपयोग र सहजता समेत भइरहेको छ भने अर्कातिर यसको दुरुपयोग पनि निकै डरलाग्दो देखिएको छ ।

सामाजिक सञ्जाल अहिले विश्वभर नै मान्छेको एक अभिन्न अंगजस्तै भइसकेको छ । चलन त यस्तो पनि आएको छ कि, अहिले धेरै बाबुआमाले जन्मनेबित्तिकै आफ्नो बच्चाको फेसबूक एकाउन्ट बनाइदिन थालेका छन् ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘सामाजिक सञ्जालले विश्वभरि नै मानसिक असर पार्दै आइरहेको छ । अहिले त अझ मोबाइलमा खेलिने गेम नशाजन्य पदार्थजस्तै भइसकेको छ ।’

पछिल्ला केही वर्षलाई हेर्ने हो भने साइबरमार्फत अपराधका घटना पनि उत्तिकै बढ्न थालेको पाइएको छ । खास गरी युवापुस्तामाझ सामाजिक सञ्जालले ठूला समस्या पारिदिएको छ ।

‘अहिले मोबाइल तथा कम्प्युटरमा खेलिने गेमलाई मानिसको दिमागमा असर पार्ने ‘ड्रग्स’ कै रुपमा परिभाषित गरिएको छ, बढी सेल्फी खिच्नु, फेसबूक चलाउनु, फोटो निरन्तर अपलोड गरिरहनुजस्ता समस्या पनि अहिलेको पुस्तामा देखिएका छन्’, मनोविद् गोपाल ढकाल सुनाउँछन्, ‘अहिले प्रविधिको बढ्दो प्रयोगले सबैभन्दा धेरै घाटा निद्रामा परेको छ, अनिद्राको समस्याले पनि रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।’

अझ अहिले त मान्छेमा कस्तो समस्या पनि देखिएको छ भने सामाजिक सञ्जालमा रमाइदिने तर वास्तविक जीवनमा कोही भेटिँदा भने बोल्न पनि असहज मानिदिने समस्या पनि उत्तिकै देखिन थालेको छ ।

मनोविद् ढकालका अनुसार प्रविधिको प्रयोगले एकले अर्कामाथि शंका गर्ने, वैवाहिक जीवनलाई लिएर नै शंका गर्ने र अझ डिभोर्सका घटनासमेत बढ्न थालेका छन् ।

‘अहिले बलात्कारका घटना घट्नुको एउटा कारण प्रविधिको दुरुपयोग पनि हो, कतिपय ग्रामीण भागमा क्षेत्रमा त झन् बालविवाहका घटना पनि बढेका छन् ।’, ढकाल सुनाउँछन् ।

स्कूल पढ्दै गरेका बालबालिका पनि सानैमा सामाजिक सञ्जालबाटै कुराकानी हुँदाहुँदै बच्चा उमेरमै बिहे गर्ने गरेका उदाहरण पनि यत्रतत्र पाइन थालेका छन् ।

प्रविधिको कुलतमा भएको कसरी थाहा पाउने?

सामाजिक सञ्जालको लत लाग्यो भने आफूलाई सबैभन्दा प्रिय मोबाइल तथा कम्प्युटर नै लाग्न थाल्ने मनोविदहरु बताउँछन् ।

यदि एकछिन मोबाइल नहुँदा छटपटी भयो या अधैर्य महसूस हुन थाल्यो, अरु महत्त्वपूर्ण काम समेत छोडेर मोबाइलमै झुम्मिन मन लाग्यो भने यसको लत लागेको हुनसक्छ । यो ठूलो समस्या बन्न सक्छ ।

बच्चालाई बढीमा दुई घण्टा मोबाइल चलाउन दिनु उपयुक्त

मनोचिकित्सक डाक्टर जया रेग्मी भन्छिन्, ‘डब्लुएचओ गाइडलाइनका आधारमा फेसबूकको नशा र गेम खेल्ने नशालाई कुलतको नशाकै रुपमा हेरिएको छ, टेक्नोलोजीको नशा कुलतको नशाभन्दा घातक छ ।’

अहिले मोबाइल तथा कम्प्युटरमा गेम खेल्ने, जतिबेला पनि मोबाइल चलाइरहने, मान्छेबीच एक आपसमा कुरा गर्नेको साटो भर्चुअल संसारमा रमाउनेको सङ्ख्या पछिल्लो वर्ष अझै बढेको छ ।

‘सामाजिक सञ्जालको प्रयोगले आम मान्छेमा निकै असर पारिरहेको छ, भर्चुअल संसारमा रमाउनेहरुलाई कोही बोल्दा पनि रिस उठ्ने, कसैले कुरा गरेको पनि मन नपर्ने हुन्छ’, डाक्टर रेग्मी भन्छिन्, ‘सामाजिक सञ्जालमा फसेकालाई वास्तविक संसार नै नरमाइलो लाग्न थाल्छ ।’

उनका अनुसार बच्चालाई धेरै कम्प्युटर, मोबाइल र टिभी हेर्न दिनु पनि घातक छ । यदि बालबालिकाहरुलाई मोबाइलको लत लाग्यो भने अरुसँग बोल्दा पनि झर्किने, आफन्तसँग नजिकिन भन्दा टाढा हुन खोज्ने, पढाइमा ध्यान नदिने, निद्रा बिग्रनेजस्ता समस्या देखा पर्न थाल्छन् ।

अहिले देखिने धेरै रोगीमा प्रत्यक्ष रुपमा सामाजिक सञ्जाल तथा टेक्नोलोजीको असर नदेखिए पनि रोगको कारणमा टेक्नोलोजी सहायक भएको रेग्मी बताउँछिन् ।

उनी भन्छिन्, ‘डब्लुएचओको गाइडलाइन अनुसार बालबालिकालाई दिनको दुई घण्टाभन्दा बढी समय मोबाइल तथा टिभीको प्रयोग गर्न दिइयो भने यसले दीर्घकालीन असर पार्छ, मानसिक रुपमा समस्या पार्छ ।’

र, यो पनि पढ्नुहोस्:

चर्चामा आउने दाउमा युवतीका अनेक ‘स्क्यान्डल’ : सामाजिक सञ्जाल कि सम्भोग कक्ष?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?