चाबहिल टु बौद्ध : काठमाण्डु कि अघोषित धूलोमाण्डु? (तस्वीरमा)

काठमाडौं । एक हुल विद्यार्थीहरु आफ्नो पोशाकमा लागेको धूलो टक्टकाउँदै हिँडिरहेका थिए । छेउबाट एउटा ट्रक कुद्यो । झन् धूलो उडायो, विद्यार्थीको समूह आँखा मिच्न थाल्यो । त्यसपछि उनीहरुले ट्रकतिर हेरेर गाली गर्न थाले । डाइभरले नसुनेझैँ गरी ट्रक अगाडि बढायो ।

बाटोमा बुङबुङ्ती धूलो उडिरहेको थियो । सर्वसाधारणले मास्क लगाएर आफूलाई ‘स्वस्थ’ राख्न खोजिरहेका थिए । तर, सडकको छेउमै थन्काएर राखिएको फोहोरका डङ्गुरको दुर्गन्धलाई मास्कले पनि छेक्न सकेन । डाक्टरहरु भनिरहेका छन्, ‘धूलो छिरेको थाहा नपाउने मात्र हो, तर यो काठमाडौंको धूलोलाई मास्कले पनि रोकेको हुँदैन ।’

काठमाडौंका जनतालाई धूलोको बानी नपारी सुखै छैन । नेताहरु चिल्ला गाडीमा वारपार गरिरहेका दृश्य सर्वसाधारणलाई सामान्य लागे पनि सर्वसाधारणलाई भने दिनभरि धूलो खाँदै काठमाडौंका मुख्य सडकमा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । 

बिमस्टेकका बेला विशिष्ट अतिथि हिँड्ने रुटका सडक चिल्ला बनाए पनि बिमिस्टेकका पाहुना फर्किनासाथ काठमाडौंका जनताले फेरि उही धूलो र हिलाम्मे सडकको यात्रा पार गर्नुपरेको छ ।

काठमाडौंको पर्यटकीय क्षेत्र मानिने बौद्ध वरिपरि नै धूलोले ढाकेको हुन्छ भने दुई महिनादेखि नउठेको फोहोरले मान्छेलाई सास फेर्न पनि गाह्रो परेको छ ।

बौद्धमा सुन पसल राख्दै आएका एक व्यापारीले भने, ‘यो ठाउँमा त बस्न निकै गाह्रो भयो, जनतालाई उस्तै सास्ती छ, न बाटो छ, न जेब्रा कस्रिङ छ ।’

बाटोमा हिँड्दै गरेका सर्वसाधारणको अवस्था पनि उस्तै देखिन्छ । बौद्ध घुम्न आएका पर्यटकहरु पनि नाक थुन्दै बाटो काटिरहेका थिए ।

सार्वजनिक यातायातको पनि उत्तिकै चाप हुने बटुवालाई बाइकमा हिँड्नभन्दा बरु कोचिएरै भए पनि सार्वजनिक यातायातमा जान उचित हुने बताए । 

मुखमा मास्क लगाएर जोरपाटी जाँदै गरेका मनोज शर्माले भने, ‘हुन त बसमा पनि उभिने ठाउँ हुन्न तर बाइकमा त झन् घर पुग्ने बेलासम्म धुलैधुलो भइन्छ, नहिँडी सुखै छैन ।’

बिमस्टेकमा आएका पाहुनालाई सरकारले ‘पार्टी’ दिएको हयात होटलको अगाडि पनि फोहोरको थुप्रो थियो भने त्यहाँ वरिपरिको अवस्था पनि उस्तै थियो । सर्वसाधारणले भने यो सडक कहिले बन्ला भनेर सरकारको बाटो कुर्ने बाहेक अरु केही गर्न नसकेको बताउँछन् । दोलखाकी सन्ध्या न्यौपाने भन्दै थिइन्, ‘सबैतिर यस्तै हो, काठमाडौंको धूलोले मास्कम्यान बनायो ।’

अन्य तस्वीरमा हेर्नुहोस् काठमाडौंदेखि चाबहिलसम्म पुग्ने बाटो र सर्वसाधारणको हालतः

तस्वीरहरूः सरोज घिमिरे/लोकपथ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?