संविधान दिवसको अवसरमा कर्णाली सरकारले वृक्षारोपण गर्ने

युवराज पंगाली / सुर्खेत । असोज ३ गते संविधान दिवसको दिन कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्ने भएको छ ।

संविधान दिवस मनाउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरेको हो । 

आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा बिहीवार बसेको बैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ‘संविधान दिवस प्रदेश मूल समारोह समिति’ गठन गरेका थिए । समितिमा प्रदेशका मन्त्री, सांसद्, अदालतका प्रमुख, कर्मचारीहरुलगायतलाई समावेश गरिएको छ ।

असोज १ गते बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने र सोही दिन सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी सुर्खेतको समन्वयमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

त्यस्तै असोज २ गते प्रदेश राजधानीभित्रका मन्त्रालय, सबै सरकारी कार्यालय, नगरपालिका, उद्योगी व्यापारी र नागरिक समेत सबै सरोकारवालाहरुले आ–आफ्नो कार्यालय परिसर, घर अगाडिको सडक सरसफाई गर्ने कार्यक्रम तय भएको मन्त्री भण्डारीले बताए । साथै उक्त दिन वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नेपालको सविधान र संघीयता विषयमा अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तव्य कला प्रतियोगिता सञ्चालन गरिनेछ ।

संविधान जारी भएको असोज २ गते साँझ दिपावली गर्ने कार्यक्रम समेत तय भएको मन्त्री भण्डारीले बताए । 

यसका साथै नेपालको संविधानका विषयमा केन्द्रित रहि विशेष परिसम्वाद, सम्वाद प्रसारण गर्न स्थानीय टेलिभिजन, रेडियो तथा विशेष लेख रचना प्रकाशन गर्न स्थानीय पत्र पत्रिकाहरुलाई अनुरोध गर्ने निर्णय भएको मुल समारोह समितिले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?