कर्णालीका मुख्यमन्त्री शाही चीन भ्रमणमा जाँदै

युवराज पंगाली  / सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाने भएका छन् । 

चीनको सिँचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा आगामी असोज ३ गते मुख्यमन्त्री शाही चीन भ्रमणमा जान लागेका हुन् । उनीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी पनि चीन भ्रमणमा जान लागेका हुन् ।

प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्रीहरुको यो पहिलो विदेश भ्रमण हो । 

चीन भ्रमणमा रहँदा कर्णालीसँग चीनको सिमाना जोडिएका कारण विकास निर्माणमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुने प्रदेश सदस्य रेग्मीले जानकारी दिए । विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि यो भ्रमण तय भएको समेत उनले बताए । 

‘चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजना नेपालसँग जोडिने र त्यो जोड्दा कर्णाली भएरै जोड्ने कुरा आएकोले प्रदेश सरकारको त्यहाँ भौतिक पूर्वाधार विकासमा चीनको लगानी बारेमा पनि छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणको मुख्य उद्देश्य नै पूर्वाधार विकासका लागि चीन सरकारको सहयोग ल्याउने हो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?