अरिङ्गालको सत्ता !

                                                            -विजय देवकाेटा
अरिङ्गालले माहुरी किन मार्छ ?
अरिङ्गालले मह किन लुट्छ ?
किन पाकेको खन्यु र नास्पतीमा
बिखालु र भौंजाहा कालो अरिङ्गाल घुम्छ ?
किन बिना कारण बाटो छेक्छ ?
किन बिना कारण लखेटिहाल्छ ?
किन बिना कारण डसेर भाग्छ ? 

थाहा भयो :
कालो र बिखालु अरिङ्गालको पनि
झुठले आर्जेको 'टाउके बहुमत' को 'कालो सत्ता' हुन्छ
उसको राजाको मुख कालो हुन्छ
जिब्रो बटारिएको हुन्छ
मस्तिष्क खल्बलिएको हुन्छ
सहज गुमेको हुन्छ
मैमत्त हुन्छ
मनमौजी हुन्छ !

अरिङ्गालको बहुलठ्ठी शासकले
कालो आदेश दिएको हुन्छ :
“मौरीलाई हामीजस्तै कालो बन्न भन्नु
नमाने सिध्याउनु
हामी त अरिङ्गाल पो त,
आतंक फैलाउनु !
जे भेटिन्छ त्यसैलाई डस्नु !
अत्याउनु ! सिध्याउनु !
त्यसपछि हाम्रो सत्ता
कसैले हल्लाउन सक्नेछैन !”

विश्वासको चर्को खडेरीले 
अरिङ्गालको गोलो झुर्रिएको दिन
कर्मी माहुरीहरूले आगोको छेस्को जोतिदिए भने
अरिङ्गालको कालो शासन 
एकक्षणमै खत्तम हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?