एलजी सिने सर्कल अवार्ड सम्पन्न, नीता र नाजिरलाई उत्कृष्टको अवार्ड (सूचीसहित)

काठमाडौं । यस वर्षको एलजी सिने सर्कल अवार्डमा नाजिर हुसेनले चलचित्र ‘तिमीसँग’ बाट उत्कृष्ट अभिनेता र नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेका छन् ।

काठमाडौंमा आइतवार आयोजित अवार्ड समारोहमा वर्ष २०७४ मा प्रदर्शन भएका फिल्ममध्येबाट छानिएर चलचित्र ‘तिमीसँग’ ले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि र भारतका सुप्रसिद्ध अभिनेता गोविन्दाको विशेष आतिथ्यतामा काठमाडौंको राष्ट्रिय सभागृहमा भएको समारोहमा २३ विधामा अवार्ड वितरण गरियो ।

समारोहमा मृगौला रोगबाट ग्रसित किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरियो । राना आफ्ना पुराना साथी भएकाले गोविन्दा नेपाल आएका थिए ।

किशोर रानालाई लाइफटाइम अचिभमेन्टसहित नगद रु. ५१ हजार प्रदान गरियो । समारोहमा दिग्गज कलाकार तथा व्यवसायीको पनि उपस्थिति थियो । पुराना तथा नयाँ कलाकारको उपस्थिति रहेको उक्त समारोहमा अवार्ड वितरणका साथै नृत्यसमेत प्रस्तुत गरिएको थियो । समारोहमा सुनील थापा, सन्तोष पन्त, शिव श्रेष्ठ, निखिल उप्रेती, रमेश उप्रेती, सञ्चिता लुइँटेल, सारा सिर्पाली, सलोन बस्नेत लगायतका कलाकार उपस्थित थिए ।

अवार्डमा चलचित्र ‘मंगलम’ बाट पुष्प खड्काले क्रिटिक्स अवार्ड हात पारे भने अभिनेता प्रदीप खड्का र प्रियंका कार्कीलाई ‘चर्चित वर्ष कलाकारको अवार्ड’ दिइयो । यस्तै उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘भुइँमान्छे’ बाट नवराज बुढाथोकीले पाए ।

समारोहमा मुख्य आर्कषकका रुपमा गोविन्दा देखिएका थिए । उनले झण्डै १५ मिनेट स्टेजमा बोलेका पनि थिए । समारोहमा नेपालका उपराष्ट्रपति सामुन्ने हुँदा पनि धेरैजसो कलाकारले अवार्ड थाप्न जाँदा उपराष्ट्रपतिलाई सम्बोधन गर्दैनथे तर गोविन्दालाई भने सम्बोधन गरेको देखिन्थ्यो ।

यस्तो छ अन्य विजेताको सूचीः
पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा-विजय वश्याल
ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ
स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ
पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’
भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ
कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत
पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की
एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते
स्क्रिनप्ले अफ दि इयर: तिमीसँग
सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, विदुर पाण्डे
एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ
कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु
प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज
प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु
अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज
एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत
एक्टर अफ दि इयर: नाजिर हुसेन, तिमीसँग
डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे
फिल्म अफ दि इयर:  तिमीसँग
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?