संविधानको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ । 

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै वक्ताले यसको भावना र मर्मअनुरुप अघि बढ्नुपर्ने बताए । 

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसका भावना र मर्मलाई आत्मसात् गरी अघि बढ्नु आवश्यक भएकोमा जोड दिए ।     

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानतः देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको बताउँदै यसको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा पूर्वकानूनमन्त्री यज्ञबहादुर थापा, पोखरा लेखनाथ महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?