नेपाली साहित्यकारका पुस्तक विश्वबजारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छन् तर अनुवादक छैनन्ः कृष्ण धरावासी

वि.सं. २०३४ सालमा साहित्यकार इन्द्रबहादुर राईले ‘रुपरेखा’ मार्फत लीलालेखनको शुरुवात गरेका थिए । साहित्यमा देखिने विभिन्न वादजस्तै लीला लेखन पनि एउटा वाद बनेर देखा प-यो नेपाली साहित्यमा । अहिले लीलालेखन नेपाली साहित्यको एउटा शैली भइसकेको छ । झण्डै ३० वर्षदेखि साहित्यकार कृष्ण धरावासीले पनि यही वादमा कलम चलाउँदै आएका छन् ।

लीलालेखनसम्बन्धि दुई कृति प्रकाशन गरिसकेका छन् उनले । धरावासीका कृति ‘लीलालेखन’ र ‘लीलाबोध’ बजारमा छन् । फुटकर लेख र सामाजिक सञ्जालमार्फत पनि उनले लीला लेखनका बारेमा जानकारी गराइरहेका हुन्छन् । धरावासीले लेखेको कथा ‘झोला’ माथि चलचित्र समेत निर्माण भएको छ । राधा, बालक हराएको सूचना, शरणार्थी लगायतका कृतिका सर्जक धरावासीको ‘राधा’ ले मदन पुरस्कार समेत प्राप्त गरेको छ । यिनै साहित्यका हस्ती कृष्ण धरावासीसँग लोकपथकर्मी अर्घेलो थापाले छोटो कुराकानी गरेका छन्ः

आजभोलि केमा व्यस्त हुनुहुन्छ?

फुटकर लेखनमै व्यस्त छु । ठूला पुस्तक लेख्न रोजेको विषयमा लामो अध्ययन गर्नुपर्ने भएकाले पनि समय दिन पाएको छैन । साहित्यकार ईन्द्रबहादुर राई बित्नुभएको ६ महिना भयो । अबको ६ महिनामा उहाँका बारेमा लेखिएको एउटा कृति तयार पार्दैछौँ । अहिले रचना संकलनको काम भइरहेको छ । उक्त कृतिको सम्पादन मैले नै हेरिरहेको छु । उहाँको वार्षिक पुण्यतिथि पारेर कृति सार्वजनिक गर्ने योजना बनाइरहेका छौँ ।

साहित्यको जुन बजार फैलिँदै गएको छ, त्यसका हिसाबले लेखक बाँच्ने अवस्था आएको छ भनेर त तपाईं आफैले पनि स्वीकार्दै आउनुभएको छ । तर, तपाईंलाई लाग्दैन कि, साहित्यमा पनि सिन्डिकेट हुन्छ?

यो कुरालाई अलिक सरल तरिकाले बुझ्नुपर्छ । हरेक क्षेत्रमा साना समूह आफै बन्छन् । चार जनाको विचार मिल्यो भने, चिया गफ गरेर आफ्नो विचारधाराको कुरा गर्छन् । मिडियामा पहुँच बनाउँछन् । पत्रिकामा पनि आफ्नो मत मिल्नेसँग छपाउँछन् । यो प्राकृतिक कुरा हो । यस्तो समूह नेपाली साहित्यमा मात्र होइन, विदेशमा पनि हुन्छ ।

यो यातायात कम्पनीले चलाएजस्तो सिन्डिकेट होइन । मिडियामा पहुँच हुनेले आफ्ना कृति छपाउँछ । नहुनेले कुण्ठा पोख्छ । तर, यो स्थायी रहँदैन । बिस्तारै फेरिन्छ । फेरि नयाँ समूह आउन सक्छ । यो संसार नै व्यापारका लागि हो । व्यापार भन्नेबित्तिकै सबैको उत्तिकै भूमिकाको कुरा हुन्छ ।

मेरो अन्तर्वार्ता पनि तपाईंले यस कारण छाप्दै हुनुहुन्छ कि, तपाईंलाई मिडियाले जागिर दिएको छ । होइन भने यो अन्तवार्ताको के काम होइन र? भनेँ नि, तर यो स्थायी हुँदैन, फेरिरहन्छ । सिन्डिकेट भन्दा पनि यो मनोविज्ञान र व्यवसायसँग जोडिएको कुरा हो ।

साहित्यिक कार्यक्रमकै लागि वैदेशिक यात्रामा पनि गइरहनुहुन्छ है? फाइदा के छ?

वास्तवमा नेपाली साहित्यको बजार बाहिर छैन । विदेशमा गर्ने साहित्यिक कार्यक्रम पनि नेपालीले गर्ने हुन् । विदेशीलाई त यसबारेमा थाहा पनि हुँदैन । कसैले यहाँ हुँदा पनि लेख्छन् र उता गएर पनि लेख्छन् । कतिले उतै पुगेपछि लेख्न थाल्छन् । विदेशमा हुने नेपालीले कविता गजल सुनाउँछन् । चियापान र भेटघाट गर्छन् । यसले साहित्यिक माहोललाई बाहिर प्रवर्धन गर्न भूमिका खेल्दैन । बरु नेपालमा एकअर्काको आत्मियता बढ्छ । नेपाली साहित्यमा सङ्ख्याका हिसाबले केही पुस्तक थपिन्छन् । केही डलर भित्रिन्छ ।

त्यसो त केही राम्रा लेखक पनि छन् । विदेशमा बसेर उनीहरुले राम्रो लेखिरहेका छन् । पुरस्कृत भएका छन् । तर पनि नेपाली साहित्य नेपालीभाषीबीच मात्र सीमित छ । किनकि, हामीकहाँ राम्रा अनुवादक छैनन् ।

अङ्ग्रेजी भाषामै अनुवाद हुनुपर्छ भन्ने पनि छैन । हिन्दीमै भए पनि पुग्छ । विदेशमा भएका मान्छेलाई भेला पार्ने काम भए पनि विदेशीलाई तान्न सकेको छैन । विदेशीले त नेपाली लेखक छन् भन्ने पनि थाहा पाउँदैनन् । सुन्दा सामान्य लाग्ला, तर यो कुरा च्यालेन्जिङ छ । नेपाली भाषामा लेखिएका नेपाली साहित्यकारका पुस्तक विश्वबजारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छन् तर हामीले राम्ररी अनुवाद गर्न सकेका छैनौँ ।

साहित्यले राजनैतिक परिवर्तनलाई भूमिका खेल्ने गरेको छ?

हो, नेपाली साहित्यले राजनीतिक परिवर्तनमा भूमिका खेलेको छ । नेपालको परिवर्तनमा आधा राजनीतिक आन्दोलनको छ भने आधा साहित्य र बौद्धिक वर्गले पारेको छ । हतियारले मात्र हुन्थ्यो भने नेपालको दश वर्षे जनयुद्ध सफल हुन्थ्यो । त्यतिबेला राजनीतिक युद्ध भयो तर साहित्यकार र बौद्धिक वर्गले यो युद्ध गलत हो भनिरहे । त्यसैले सफल भएन । अन्य आन्दोलनमा साहित्यकार सडकमा आएर कविता सुनाइरहेका छन् । राजनीतिक भाषणले भन्दा साहित्यिक शक्तिले जनतामा चेतना जगाइदिन्छ ।

तपाईंका पनि कतिपय प्रशंसक हुनुहुन्छ, पढ्नुहुन्छ । तपाईंले लीला लेखनबारेमा त पुस्तक नै तयार गर्नुभयो । साहित्यका विविध वादमध्ये लीला लेखन किन महत्त्वपूर्ण छ?

यो एउटा दर्शन हो । यो राजनीति या धर्मसँग जोडिएको कुरा होइन । यो एउटा लेखन शैली हो । नेपालमा जति पनि लेखन शैली प्रयोग हुँदै आएका छन्, तीमध्ये यो फरक शैली हो । हामीले मान्दै आएका स्वच्छन्दतावाद, प्रगतिवाद, आधुनिकवाद लगायतका सबै विदेशबाट आयातित वाद हुन् ।

विदेशी साहित्यले यस्ता वादलाई विकास गरेर व्यापार गर्न थालिसकेको छ । यही वादका कारणले उक्त देशको साहित्य विश्वबजारमा बिक्छ भने त्यो व्यापारिक हिसाबले पनि सोच्न सकिने कुरा हो । संसारमा जति सिद्धान्त छन्, ती सिद्धान्तको व्यापार तथा उद्योग भएका छन् ।

नेपाली साहित्यमा पनि लीला लेखन साहित्यको सम्पत्ति भएर जान्छ । हामीले पनि त्यस्ता सिद्धान्तको विकास गर्न सक्यौँ भने नेपाली साहित्य बजार विदेशमा समेत फैलाउन सक्छौँ ।

नेपाली साहित्यिक बजार चकलेटी भयो भनेर एकथरी पाठकहरुले निरन्तर गाली गर्दै आइरहेका छन् । पछिल्लो समय लेखकहरु बौद्धिकताभन्दा पनि बजारको पछि दौडिए भन्ने पनि सुनिन्छ नि?

यसलाई कसरी पनि बुझ्नुपर्छ भने पाठकहरुको पनि एउटा ‘लेभल’ हुन्छ । सबै लेभलका पाठकले पुस्तक पढ्न पाउनुपर्छ । हाम्रोमा त बल्ल लेखिन थालेका हुन् । बालसाहित्य पनि बल्ल राम्रोसँग लेखिन थालिएको छ । युवापुस्ताले रुचाउने पुस्तक फरक हुन्छ । किशोरको साहित्य त झन् लेखिएकै छैन । अहिले यिनै चकलेटी भनिएका लेखकले पाठक बढाएका छन्, जुन सकारात्मक हो ।

हामीले एकैपटक बौद्धिक साहित्य मात्र लेख्यौँ । त्यो बेला पाठक नै थिएनन् । अहिले आएर विभिन्न तहका पाठकले मन पराउने बजार छ । विभिन्न खालका पुस्तकहरु बजारमा आएका छन् ।

यसलाई चकलेटी बजार भनिएको छ । तर पछि तिनै पाठकले बौदिध्क पुस्तक पनि पढिरहेका हुनेछन् । कहिलेकाहीँ पाठकबाट आरोप या गाली आउनु सामान्य हो । यसलाई पनि समालोचनाका रुपमा हेरिनुपर्छ । पत्रिकामा छापिने समालोचना मात्र समालोचना होइनन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै हेरौँ, उहाँलाई गाली पनि गरिरहेका छन् । राम्रो काम गर्दा गाली गर्नेहरु चुप छन् । प्रधानमन्त्री ज्यूले के बुझ्नुपर्छ भने उहाँको विरोध गरेका हैनन्, समालोचना गरेका हुन् ।

अहिलेको साहित्यिक बजारमा आम पाठकको सङ्ख्या बढेको छ । यसले व्यापारको दायरा पनि बढायो । मेरो पुस्तक ५ हजार प्रति विक्री हुन्छ भने कुनै अर्को लेखकको ५० हजार पुस्तक विक्री हुनसक्छ । जे भए पनि नेपाली साहित्यका बजार बढेका हुन् । पाठकलाई पुस्तक पढ्नुपर्छ भन्ने चेतना हुन्छ ।

तपाईंको प्रिय पुस्तक कुन हो, जुन पुस्तकले लेखनमा सधै उर्जा दिने गर्छ?

केही वर्षयता विदेशतिर धेरै भएकाले होला, पाँच वर्षदेखि बजारमा आएका पुस्तक पढ्न भ्याएको छैन । पुस्तक नपढी मूल्याङकन गर्न मिल्ने भन्ने कुरा पनि भएन । नाम चलेका साहित्यिक कृति पनि पढ्न भ्याएको छैन । तर मलाई पढ्नैपर्ने दुई पुस्तकमध्ये पीटर जे. कार्थकको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ र अर्को खुबै मनपर्ने पुस्तक ‘आकाशगंगाको तिरैतिर’ हो । प्रदीप नेपालले नेपालको राजनैतिक अवस्थालाई विचित्र तरिकाले चित्रण गरेर यो उपन्यास लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?