एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेको बाँकी एउटा इच्छा

काठमाडौं । जेठ १४, २०७४ को रात सामाजिक सञ्जालमा एउटा अपुष्ट समाचार फैलियो – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भयो ।

सामाजिक सञ्जालमा मात्र हैन, केही मिडियामा पनि यो खबरले प्राथमिकता पाइसकेको थियो । राष्ट्रकविको निवासमा लगातका फोनका घण्टी बज्न थाले । परिवार खाना खाएर सुत्ने तरखरमा थियो । राष्ट्रकवि भने सुतिसकेका थिए ।

‘हेर्नुस् न कसरी यस्तो समाचार फैलिएछ, खासमा बुबालाई केही भएको छैन ।’, राष्ट्रकविकी छोरीले भनिन् ।

त्यसपछि केही ढुक्क भयो । बिस्तारै उनको निधनको समाचार लेख्नेहरुले नै पछि गल्ती गरेको महसुस गर्न थाले । कतिपयले त सच्याए पनि ।
अर्को दिन धर्मपत्नीले राष्ट्रकविलाई सुनाइन्, ‘तपाईंको आयु बढ्यो ।’

एकछिन त घिमिरेले केही बुझेनन् । पछि परिवारले हिजोको सबै घटना सुनाइदिए । घिमिरेले भने, ‘यही जुनीमा अर्को जुनी पाएजस्तो भो, खबर त विश्वभर फैलिएछ नि, अमेरिका, युरोपदेखि पनि फोन आए ।’

आज उनै राष्ट्रकविले एकसय वर्षको जन्मदिन मनाइरहेका छन् । उनले निधनको हल्ला फैलिँदा नै भनेका थिए – ‘सय वर्ष त पक्का बाँच्छु म ।’

बिहानैदेखि राष्ट्रकविको निवासमा जन्मदिनको शुभकामना दिनेको बाक्लै आउजाउ छ । राष्ट्रकवि प्रशंसकसँग फोटो खिचाउँछन् । मुस्कुराउँछन् । उनको प्राकृतिक मुस्कानमा कति पनि कमी आएको छैन । त्यसो त उनका बारेमा नराम्रो खबर फैलिँदा पनि उनी उत्तिकै मुस्कुराइरहेका थिए ।

‘मेरो महाकाव्य ‘ऋतम्भरा’ को करीब दुई सर्ग बाँकी छ, त्यति सकेँ भने मेरो जीवनको सबै चाहना पूरा हुन्छ ।’, एकसय वर्षको जन्मदिन मनाउँदै गरेका माधवप्रसाद घिमिरेले भने, ‘महाकाव्य लेख्नका लागि बाह्र वर्ष पनि लाग्न सक्छ, यो चाहिँ मैले सक्नै लागेँ ।’

जन्मदिनमा पनि उनलाई कता–कता आफूले लेख्दै गरेको महाकाव्यकै चासो छ । लेखनकै चिन्ता छ ।

झण्डै पाँच महिना माधवप्रसाद घिमिरे बिरामी परे । काठमाडौंका अस्पतालमा उपचार हुन नसकेर भारतमा लैजानुप–यो । अहिले उनी स्वस्थ छन् । तर, काम कम सुन्छन् । बोल्न पनि उनलाई कष्ट हुन्छ । धेरै बेर बोल्न सक्दैनन् पनि ।

कविता राष्ट्रकविका लागि सबथोक हो । उनको बच्चादेखि यो उमेरसम्म पनि उनलाई कविताकै चिन्ता छ । गीत लेखनमा उनी केही निष्क्रिय छन् । तर, अहिले पनि उनी महाकाव्य ‘ऋतम्भरा’ को लेखनमा छन् । उनले दोहो–याउँदै फेरि भने, ‘मेरो जीवनको एउटा इच्छा ऋतम्भरा पूरा गर्ने हो, यसपछि मेरा सबै इच्छा पूरा हुन्छन् ।’

उनी मुस्कुराए ।

अहिले पनि उनलाई नेपाली साहित्यको उत्तिकै चिन्ता छ । खास गरी कविता विधामै आफूलाई परिचित बनाएका घिमिरेको बुझाइमा गद्य कविताले भने लय गुमाएको उनले बताए । त्यसो त यो उनले आज मात्र भनेका होइनन् । गद्य कविताप्रतिको चिन्तन बेलाबेलामा सुनाइरहन्छन् राष्ट्रकवि ।

गद्य कवितालाई उनले कवितालाई नष्ट पार्ने उपाय भएको अभिव्यक्ति दिएपछि कतिपयले राष्ट्रकविलाई गाली पनि गरे । कतिले त अभिव्यक्ति सच्चाउन समेत भने । घिमिरे भने बारम्बार भनिरहेका छन्, ‘गद्य कविताले लय गुमाएको छ ।’

‘लेखेर मात्र कविता हुँदैन नि, गद्य कविताको पनि आफ्नै लय हुन्छ, अहिले त्यो कमै छ ।’, उनले भने ।

एउटा कोठामा सजाएर राखिएका पुरस्कार र सम्मानसँगै अब आज पनि उनले पाएका उपहार थपिने छन् । केही समय बिरामीले गलाए पनि अहिले भने उस्तै फुर्तिला देखिन्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?