पत्रकार आचार्यको ‘उपहार’ कथासंग्रह लोकार्पण

काठमाडौँ, १९ असोज – पत्रकार तथा साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘उपहार’ कथासङ्ग्रह आज लोकार्पण गरिएको छ । आचार्य चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा कार्यरत छन् ।

प्रथम पुरुष शैलीमा लेखिएको कथासङ्ग्रहमा ग्रामीण इलाकामा बोलिने भाषाशैली प्रयोग भएको छ । ग्रामीण इलाकाका मानिसको वास्तविक घटनाक्रमलाई कथाको माध्यमबाट उजागर गर्ने प्रयास गरिएको छ । आठ कथा रहेको कृतिमा नेपाली साहित्य, पत्रकारिता र संस्कृति पनि उजागर गरिएको छ ।

विश्व विज्ञान र प्रविधिको माध्यमले साँघुरिएको अवस्थालाई आधार बनाई मानवीय जीवनका बारेमा युग परिवर्तनसँगै आवश्यकतानुसार क्षमता, योग्यता तथा दक्षताका आधारमा अघि बढ्ने तरिकाका बारेमा प्रकाश पारी सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत परिवर्तनको बाटो खोज्न प्रेरणा दिइएको छ । कथामा समय र परिस्थितिअनुसार विश्वविद्यालय तथा ग्रामिण इलाकामा बोलिने शिक्षित र ग्रामिण भेगका मानिसले वोल्ने भाषाको उजागर गरिएको छ ।

मकालु प्रकाशनगृहको आयोजनामा भएको कार्यक्रममा कृति विमोचन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्य राष्ट्रको उन्नतिका साथै मान र प्रतिष्ठाको विषय भएको बताउँदै कथामा नेपाली कला, साहित्य, संस्कृति, धर्म, जातलगायत कुरालाई समेटी वास्तविक चित्रण गरिएको टिप्पणी गरे ।

प्रा डा राजेन्द्र सुवेदीले भूकम्पका समयमा भएका मानव तस्करीका कारण सयौँ नेपाली महिला बेचिएको र उनीहरुको मिर्गाैलासमेत बेचिएको घटना सन्देशमूलक रुपमा कथामा समेटिएको बताउनुभयो । कथाकार माया ठकुरीले वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषको परिवार तथा तिनले सोच्ने सकारात्मक तथा नकारात्मक विचार तथा यौन जिज्ञासाबारे कृतिमा सन्देश दिइएको बताउनुभयो ।

चाइना रेडियो इण्टरनेशनल सिआरआईको नेपाल प्रतिनिधि चाङ युएई (वर्षा)ले साहित्यका कारण नेपाल र चीनबीचको सम्बन्ध उच्चविन्दुमा पुगेको बताउँदै कृति अङ्ग्रेजी भाषामा प्रकाशन गरी अन्तरराष्ट्रियस्तरमा पु¥याउनयोग्य रहेको विचार राख्नुभयो । पुस्तकका भाषा सम्पादक लक्ष्मी पराजुली तथा प्रकाशनगृहका अध्यक्ष वासुदेव ढकालले पुस्तकमा भएका घटना र पात्र वास्तविक रहेको जिकिर गर्नुभयो ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?