विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन् ।  

तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गरे । 

“समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ” मुख्यमन्त्री पोखरेलले भने ।  

मुख्यमन्त्री पोखरेलले दाङमा सिँचाइ र खानेपानीको समस्या रहेको भन्दै माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए । कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै उनले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए । 

अन्तरक्रियामा नगरप्रमुख घनश्याम पाण्डेले बृहत गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गरे । सडक बजेटलाई खण्डखण्ड बनाएर विनियोजन गरे पनि एकै ठाउँमा राखेर बृहत सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गरे । 

कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी र पूर्व सांसद गेहेन्द्र गिरीले दाङलाई राजधानी बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?