विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताएका छन् ।

शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पुरा नहुने बताउदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न जरुरी रहेको बताएका हुन् । 

‘हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारा सहित आइतवारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकोले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।

सुरक्षाको प्रत्याभुति विना समाजमा कसैले पनि केही काम गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको मौलिक हकको रुपमा रहेको शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी थप जिम्मेवार हुनुपर्ने बताए ।  अपराध नियन्त्रणका लागि सुचना महत्वपुर्ण रहेको बताउदै उनले सूचनाको श्रोत जनता भएकोले जनतासँग साझेदारी गर्न प्रहरी संयन्त्रलाई आग्रह गरे । 

मुख्यमन्त्री शाहीले संघीय प्रहरी ऐन निर्माणमा भएको ढिलाईका कारण प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मेवारी लिन नसकेको प्रष्ट गरे । ‘ऐन नवनेका कारण प्रदेश सरकार प्रहरी विहिन छ’ मुख्यमन्त्री शाहीले भने–‘शान्ति सुरक्षाको जिम्मेवारी प्राप्त भएको १५ दिन भित्रै जनताले महशुस गर्ने गरि काम हुन्छ ।’

सिमित साधन श्रोत र जनशक्तिको अभावका विच पनि प्रहरीले प्रभावकारी काम गरेको भन्दै मुख्यमन्त्री शाहीले नेपाल प्रहरीको प्रशंसा गरे । 

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षाको दायित्व प्रहरीको मात्रै हो भन्ने धारणा त्याग्नुपर्ने बताए । भयरहित र सुरक्षित समाज निर्माणका लागि हरेक नागरिकको दायित्व भएको बताउदै मन्त्री भण्डारीले समुदाय र प्रहरीको साझेदारीले मात्र सुरक्षित समाज निर्माण हुने बताए । 

समृद्धिको आधार शान्ति सुरक्षा रहेको वताउदै मन्त्री भण्डारीले सुरक्षित प्रदेशको पहिचान निर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?