गोजीमा दाम हुने र नहुनेबीचको द्वन्द्व ‘चंगाचेट’

काठमाडौं । चलचित्र ‘चंगाचेट’ को छायांकन केही दिनअघि मात्र सकिएको थियो । निर्देशक दीपेन्द्र के. खनालले फिल्मको छायांकन सकिएको घोषणा गर्दै सामाजिक सञ्जाल फेसबूकमा केही शूटिङ तस्वीर सार्वजनिक गरे । त्यसको केही दिनपछि निर्मातामध्येका एक माधव वाग्लेलाई प्रहरीले पक्राउ ग–यो । पक्राउ गर्नुको कारण थियो – नक्कली नोट प्रकरण ।

निर्माण टिमका अनुुसार ती नोट त्यही फिल्म ‘चंगाचेट’ का लागि छापिएको थियो । नोट छाप्ने केहीले तिनै नक्कली नोट प्रयोग गरेछन् । र, खाजाको पैसा तिर्न गएछन् । त्यही घटनाले माधव वाग्लेलाई समेत कठघरामा तान्यो ।

निर्देशक भन्छन् – फिल्मको कथा पनि यस्तै विषय वरिपरि घुमेको छ । माधव दाइ पक्राउ पर्दा फिल्मको कथाजस्तो घटना घट्यो भनेर समेत कुरा ग–र्यौं हामीले ।

‘समग्रमा भन्नुपर्दा गोजीमा दाम हुने र दाम नहुनेबीचको द्वन्द्वको कथा हो यो, वर्तमान नेपालका समस्यालाई नै फिल्ममा हामीले विषयवस्तु बनाएका छौँ’, निर्देशक खनाल भन्छन्, ‘अहिलेको बेरोजगारी, समाज र युवाको कथालाई हास्य माध्यमबाट प्रस्तुत गरेका छौँ ।’

विषय गहन । माध्यम हास्य ।

शायद, नेपालमा चल्ने कमेडी बजारको फाइदा ‘चंगाचेट’ ले पनि उठाउन खोजेको छ । फाइदा त उठाउन खोजेको छ । तर, फिल्म रिलिजको नजिक आइपुग्दा निर्माण टिमसँग कलाकार छैनन् । जम्बो टोली भए पनि प्रायः कलाकार आफ्नै काममा व्यस्त छन् । फिल्मलाई समय दिन भ्याएका छैनन् । धेरै शूटिङमै व्यस्त छन् ।

‘हो, फिल्म रिलिजको बेला पनि दर्शकलाई फिल्मको बारेमा त्यति बुझाउन सकेनौँ, कलाकार व्यस्त हुनुभएको छ’, निर्देशक भन्छन्, ‘उहाँहरुले पनि बुझ्नुपर्ने हो, किनकि फिल्म चल्यो भने सीधा फाइदा सधै कलाकारलाई हुन्छ, शूटिङ रोकेर आउनुस् भन्न हामीले पनि मिल्दैन ।’

यतिबेला कलाकारले त्यति समय दिन नपाए पनि फिल्मको छायांकनका बेला भने काम गर्न सहज भएको निर्देशक बताउँछन् । धेरै कलाकार भएकाले समय र सेडुअल मिलाउन केही गाह्रोजस्तो भए पनि कलाकारसँग काम गर्दा रमाइलो भएको उनी सुनाउँछन् ।

‘हाम्रो फिल्म पनि कमेडी भएको र कलाकार पनि उस्तै भएकाले होला, शूटिङको समय रमाइलो रह्यो’, खनाल अगाडि थप्छन्, ‘छायांकनमा जानुअघि वर्कशप पनि गरेका थियौँ, त्यसले गर्दा झन् सहज भयो ।’

फिल्मको गीत ‘गोजीमा दाम छैन’ पछिल्लो समय चर्चामा छ । निर्देशक खनाल भने गीतमात्र नभएर फिल्मको ट्रेलर र पोस्टरहरु पनि दर्शकले रुचाएको बताउँछन् ।

‘ट्रेलरमा अझै राम्रा कलाकारलाई हामीले अटाउन सकेनौँ, फिल्ममा धेरै कलाकार हुनुहुन्छ, तर विनाकारण कुनै कलाकार पनि फिल्ममा देखिनुहुन्न’, खनाल थप्छन्, ‘धेरै कलाकार भएपछि फिल्मको अन्त्य कसरी हुन्छ भन्ने एउटा समस्या हुन्छ, यसमा हामीले दर्शकलाई चित्तबुझ्ने गरी फिल्म टुङ्ग्याएका छौँ ।’

पूरै फिल्म राम्रो होस् भनेर सानो भूमिकामा देखिने कलाकारमा पनि राम्रा कलाकार छानेका दीपेन्द्र बताउँछन् ।

फिल्म बनेर हलसम्म आइनपुग्दै यसमा प्रयोग भएको नक्कली नोटले चाहिँ फिल्म युनिटलाई दिनुसम्म तनाव दियो । निर्देशक भन्छन्, ‘हामी यति स्पिडमा फिल्मको छायांकनमा लागेका थियौँ, कि, नक्कली र सक्कली नोटको बारेमा केही सोच्न पाएनौँ, पैसा छाप्न हामीले अरुलाई भन्ने हो, कसरी छापिए भन्ने निर्माता निर्देशकलाई थाहै हुँदैन ।’

फिल्ममा नक्कली पैसा नै छापेर प्रयोग गर्नुको कारण फिल्मलाई अझ वास्तविक बनाउन भएको निर्देशक बताउँछन् । उनका अनुसार यदि नक्कली पैसालाई कागजमा देखाएको भए कामचलाउ सिनेमा बनाउन खोजेजस्तो हुन्थ्यो ।

‘अहिले हलमा पनि फोरके सिस्टम आइसक्यो, फिल्ममा नोटलाई दर्शकले हेर्दा सक्कलीजस्तै लागोस् भनेर हामीले नक्कली नोट प्रयोग गरेका थियौँ, अरुले पनि यस्तै गर्ने हुन् नि’, दीपेन्द्र स्पष्ट पार्दै भन्छन्, ‘माधव दाइ त्यस्तै धन्दामा लाग्नुहुन्थ्यो भने अलिक क्वालिटीकै पैसा छाप्नुहुन्थ्यो होला, उहाँले १४ सय रुपैयाँ दिएर पैसा छाप्न लगाउनुभएको थियो ।’

विभिन्न आरोह अवरोहलाई छिचोल्दै फिल्म भने हलसम्म आउन लागेको छ । दशैँमा रिलिज हुने सोच बनाएको यो फिल्म तिहारको अवसर पारेर रिलिज हुन त लागेको छ । तर, तिहारको बेलामा पनि फिल्मका हलिउड, बलिउड र नेपाली फिल्मसँग समेत जुध्नुपर्ने छ । अर्कातिर दशैँको छेकोमा रिलिज भएका दुई फिल्म ‘जय भोले’ र ‘छक्का पञ्जा ३’ पनि हलमा प्रदर्शन भइरहेका छन् ।

निर्देशक भन्छन्, ‘मान्छेको जीवनको चंगाचेट कसरी पनि हुनसक्छ भनेर बुझ्न पनि यो फिल्म दर्शकले हेर्नुपर्छ, गीत संगीत मात्र होइन, फिल्म हेर्नुपर्ने धेरै कारण छन्, दर्शकले सिनेमा हेरिसकेपछि माधव (वाग्ले) दाइलाई पनि सम्मान गर्नुहुनेछ, दर्शकलाई हलमा मज्जाले बाँधेर राख्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?