नेपालमा बक्स अफिस: हात्ती आयो, हात्ती आयो फुस्सा

काठमाडौं ।  नेपाली सिने वृत्तमा लामो समयदेखि बक्स अफिसको विषयलाई लिएर बहस चलिरह्यो । कैयन् वर्षको बहसपछि अन्ततः बक्स अफिस लागू भयो । सरकारले बजेटमा नै बक्स अफिसलाई सम्बोधन गरेपछि बक्स अफिस लागू केही सहज र छरितो बन्यो । काठमाडौं उपत्यकाका हलमा बक्स अफिस प्रणाली लागू गरियो । यो प्रणाली लागू भएपछि अब फिल्मको वास्तविक व्यापारिक आँकडाको जानकारी पाइन्छ भनेर फिल्मकर्मीले नै भन्न थाले ।

तर, बक्स अफिस लागू भएको झण्डै तीन महिना बितिसक्दा अहिले भने बक्स अफिस प्रक्रिया त्यति प्रभावकारी देखिएको छैन । मिडियाले अहिले पनि फिल्मले ठ्याक्कै कति कमाइ गरे भनेर सही समाचार छाप्न पाएका छैनन् । कतिपय वितरकहरुले सिनेमाको व्यापारलाई बढाएर सूचना दिन अझै पनि छोडेका छैनन् । जसका कारण फिल्मका दर्शक ‘फेक बक्स अफिस रिपोर्ट’ लाई पत्याउन बाध्य भएका छन् ।

फेक रिपोर्ट भनेर कसरी पनि भन्न सकिन्छ भने मिडियामा एकैदिनमा आउने बक्स अफिसका समाचार पनि फरक–फरक हुन्छन् । ती सूचना वितरक या निर्माताले दिने गर्छन् ।

हामीले नजिकैबाट बुझेको छिमेकी देश भारतको बक्स अफिस रिपोर्ट एउटै हुन्छ । र, हामीले हेर्दै आएका हलिउड फिल्मको व्यापार पनि ठ्याक्कै एउटै हुन्छ तर नेपालमा भने बक्स अफिस सिस्टम लागू भए पनि फिल्मको कमाइ फरक–फरक आउने गर्छ ।

आफ्नो फिल्मको व्यापार निराशाजनक भयो भने निर्माताले मिडियालाई बढाएर सूचना दिने गरेका छन् । यसको प्रभावले दर्शकले त गलत सूचना पाउने गर्छन्, अर्कातिर मिडियाकर्मी नै चिप्लिन्छन् । किनकि, सोही फिल्मको कमाइ अर्को मिडियामा फरक आइसकेको हुन्छ ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले भने बक्स अफिस प्रभावकारी भएको बताइन् । उनले भनिन्, ‘बक्स अफिस प्रभावकारी नै नभएको त होइन, तर केही समस्या चाहिँ देखिएको हो ।’

बोर्डले बक्स अफिस सिस्टम लागू गरेका हलबाट समयमा नै फिल्मको व्यापार आए पनि पहिलेदेखि नै सिस्टम राखेका मल्टिप्लेक्स हलले भने ढिला डाटा दिँदा केही ढिला भएको अध्यक्ष पौडेलले बताइन् ।

‘हामीले यो कुरालाई अर्थ मन्त्रालयमा पनि भनिसकेका छौँ, मन्त्रालयले अनुगमन गर्ने भनेको छ, नेपालभर बक्स अफिस लागू नहुँदा पनि केही समस्या देखिएको छ ।’, उनले भनिन् ।

काठमाडौं उपत्यकामा बक्स अफिस सिस्टम लागू भए पनि मोफसलमा भने अझै बक्स अफिस सिस्टम लागू हुन सकेको छैन । जसका कारण फिल्मको व्यापारबारे जानकारी राख्न चाहनेले पनि वास्तविक डाटा नपाउने समस्या देखिएको छ ।

अध्यक्ष पौडेलले भनिन्, ‘मोफसलका कुन कुन हलमा बक्स अफिस लागू गर्ने भन्ने निर्णय भइसकेको छ, हामी बोर्डकै लगानीमा सिस्टम राख्दैछौँ, यसपछि बक्स अफिस अझ प्रभावकारी हुन्छ ।’

बोर्डलाई बक्स अफिसमा फिल्मको कलेक्सन कति भयो भन्ने सार्वजनिक गर्न नमिल्ने सम्झौता निर्मातासँग भएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म निर्माताले आफ्नो व्यापारको गोपनियता राख्न पाउने अधिकार भएकाले निर्माताले फिल्मको व्यापार नबताउन पाउने बताए ।

‘आफ्नो व्यापार निर्माताले सुरक्षित राख्ने अधिकार छ, यो स्वयम् निर्माताको कुरा हो, विदेशी फिल्मले चाहिँ आफ्नो व्यापार विकिपिडियामा समेत सार्वजनिक गर्छन्, त्यो उनीहरुले सार्वजनिक गरेको कुरा हो ।’, निर्माता अधिकारीले भने ।

नेपालमा भने फिल्मले खासै नकमाउने र कमाइ नगरेको फिल्मको व्यापार झन् गिर्ने सम्भावना हुँदा र विदेशमा आफ्नो फिल्मको राइट्स बेच्नुपर्ने भएकाले पनि कतिपयले निर्माताले ‘फेक’ रिपोर्ट सार्वजनिक गर्ने गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?