शिक्षकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा रोक

काठमाडौं । सरकारले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा रोक लगाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सामानजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुशी प्रयोग गर्न रोक लगाएको हो । 

यही कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्वीरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ ।

त्यस्तै, कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागी व्यक्तिले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ ।

यदी बिनाअनुमति तस्वीर खिच्ने सामाजिक सञ्जालमा अपलोड गर्ने, टिप्पणी, लाइक र सेयर गरे प्रतिलिपि अधिकार र व्यक्तिगत गोपनीयताको हकविरुद्ध कार्य गरेको भनी आवश्यक कारबाही अघि बढाउने मन्त्रालयले चेतावनी दिएको छ ।

तसर्थ मन्त्रालय मातहत कर्मचारी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सञ्जालको आफ्नो व्यक्तिगत पेजरएकाउन्टमा इच्छाअनुसार तस्वीर राख्न यसले रोक लगाएको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?