राजनीतिक गुटभित्रको लूट

दशैँमा गाउँ पुग्दा साथीहरुले स्थानीय तहको निर्वाचनका बेला विपक्षी दलका कार्यकर्तालाई पैसा बाँड्दै गरेको रंगेहात समातेका किस्सा सुनाउँदै थिए । कुन पार्टीले कति रकम बाँडे  भनी यहाँ उल्लेख गर्दा कुनै एक पार्टीको पक्ष लिएर बोले÷लेखे जस्तो सुनिएला भनेर यहाँ नाम उल्लेख गर्न मन लागेन ।

किनकि, यहाँ ठूला भनिएका सत्तासिन राजनीतिक पार्टीहरुले पैसा बाँड्छन् भन्ने कुरा नौलो होइन । स्थानीय तहको चुनावमा मात्र होइन, केन्द्रीय स्तरका निर्वाचनमा पनि पैसाको खोलो बगाइन्छ । चाडबाड लाग्ने बित्तिकै आफन्तलाई खर्च दिइन्छ । 

यो सत्यलाई हामीले सजिलै पचाइदिन थालेका छौँ । नेपालको विकास र समृद्धिका लागि सबैभन्दा भयानक समस्या यही बनेर तेर्सिएको छ । ‘आफन्तलाई काखा पराइलाई पाखा’ स्थानीय तह र प्रतिनिधिसभाको चुनावमा ठूला राजनैतिक दलले मूलतः दुई खाले सपना देखाएर चुनावको माहोल आफूतिर तान्ने गर्छन् ।

एउटा माहोल पैसाले बनाइदिन्छ भने अर्को माहोल नेताले बाँड्ने उधारा सपनाद्वारा सिर्जित हुन्छ । पैसा त बरु जनताले पाए भने पनि खर्च गर्लान् तर नेताले बाँडेका सपना चाहिँ अर्को चुनावसम्म जनताले भुलिसक्छन् ।

पैसा त बरु जनताले पाए भने पनि खर्च गर्लान् तर नेताले बाँडेका सपना चाहिँ अर्को चुनावसम्म जनताले भुलिसक्छन् । 

जनताका लागि उधारो सपना भन्दा नगदले विगत भुल्न सजिलो बनाइदिन्छ । यसकारण नेताहरु फेरि नयाँ सपना र पैसा बाँड्न थाल्छन् । नौनीजस्ता जनताले सपना बिर्सन्छन्, नगदमा पग्लिछन् ।
भन्ने गरिन्छ, यदि भ्रमको खेती गर्नु छ भने गरीबीमा गर्नू, त्यहाँ गरीबी नै खेतीका लागि उपयोगी मलजल हुन्छ । भ्रमको बुटो छोटो समयमा नै ठूलो हुन्छ । मौलाउँछ ।

नेपालको परिवेशमा राजनैतिक गुटले यस्तै भ्रमको खेती गरेर ‘लूट’ मच्चाइरहेका छन् । त्यसरी भ्रम फैलाएर आँखामा छारो हाल्ने प्रतिनिधिले राजनीतिको आडमा आफ्ना सीमित स्वार्थ र शक्तिका लागि केही फाइदा त लिएका छन् ।

तर, उनीहरुले स्वयम् आफ्ना लागि मात्र सोचेको र यही लोभको –यालले राष्ट्र र जनतालाई हानी भएको कुरालाई मजाक बनाइरहेका छन् ।

जनताले हिजो आफ्नै आँखा अगाडि देखेका र भेटेका नेतालाई अमूल्य मतदान गरी जिताएर त पठाउँछन्, तर ती नेतासम्म जनताको पहुँच अर्को चुनाव नआएसम्म पुग्दैन । मध्यस्थकर्ता बनेका नेताका आसेपासेले जनतासम्म वर्षौंसम्म सपना बाँडिरहन्छन् । ती सपनाको बिस्कुन बनेर नेता तथा नेताका कार्यकर्ता घाम तापिरहन्छन् ।

नेता र कार्यकर्ताको यो ‘गुट’ को साङ्लो त्यति कच्चा पनि छैन । यो साङ्लो सानोतिनो बलले नचुँड्ने गरी बलियो बनाएर राजनैतिक समूहले नै रक्षा गरिरहन्छन् ।

त्यसो त स–साना गुट हावाजस्तै चारैतिर जड बनेर बसिरहेका छन् । तर, ती राजनैतिक गुट भने पूरै देशलाई नै खाने धमिरो बन्ने भएकाले यस्ता गुटलाई निर्मूल गर्नुपर्छ भनेर बेलाबेलामा आवाज उठिरहन्छन् । तर, ती आवाज तातेको सियोझैँ एकैछिनमा सेलाइहाल्छन् ।

गुटको यो सिलसिला त्यति छिट्टै टुंगिने अवस्था पनि छैन । किनकि, गुट स्थानीय तहदेखि केन्द्रीय तहसम्म ‘चेन अफ कमाण्ड’ बनेर बसेको छ ।

देशमा आमूल परिवर्तन ल्याउन र गरीबका सपनालाई साकार पार्न भन्दै हतियार उठाएर जंगल पसेको तत्कालीन माओवादी पनि ‘गुट’ र ‘लूट’ को साङ्लोबाट कहिल्यै बाहिर जान सकेन । समाजमा व्याप्त भ्रष्ट्राचार, गरीबी, विभेद, वर्ग सङ्घर्षको विरुद्धमा उभिएका माओवादीका नेताहरु अहिले ‘कम्युनिस्ट सामन्ती’ बनेर भुँडी मुसारिरहेका छन् । उनीहरु नै जनताका लागि भन्दै कुर्लिरहेका छन् । जनतालाई प्रलोभनमा पारेर उनीहरुले अथाह सम्पत्ति कमाइरहेका छन् ।

यतिबेला कम्युनिस्ट नेताहरुले आफ्नो सम्पत्तिलाई कसरी सेतो बनाउने भन्ने रस्साकस्सी नै चलेको छ । सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने पत्रकारलाई जागीरबाट निकाल्न लगाउने तिनै सर्वहारा वर्गका प्रतिनिधि कम्युनिस्ट नेताहरु नै हुन् ।

कम्युनिस्ट मात्र होइनन्, कांग्रेसजनहरुको हालत पनि उस्तै रह्यो । देशमा जारी दशकौंको हिंसात्मक युद्ध र त्यसपछि धरहराजस्तै ढलेको नेपालको आर्थिक तथा सामाजिक परिवेशलाई पुनःनिर्माण गर्न कोही तम्तयार देखिँदैन्न ।

गुटको यो सिलसिला त्यति छिट्टै टुंगिने अवस्था पनि छैन । किनकि, गुट स्थानीय तहदेखि केन्द्रीय तहसम्म ‘चेन अफ कमाण्ड’ बनेर बसेको छ ।

गुट, उपगुट, आसेपासे र शक्तिमा रमाएका ती कम्युनिस्ट नेताहरु राजा फालेर फेरि आफू राजाझैँ बन्ने सपना साँचिरहेका छन् ।

गुटभित्रको लुटको अर्को महत्त्वपूर्ण विशेषता (जुन राष्ट्रिय हितका लागि उत्तिकै घातक छ) के हो भने आफ्नो गुटका जुनसुकै नेताले गलत गरे पनि त्यसलाई सही देख्ने । यो प्रवृत्तिबाट नेतामात्र होइन, राजनैतिक गुटमा सामेल कार्यकर्ताले पनि छुटकारा पाउन सकेका छैनन् । जबसम्म कार्यकर्तामा आफ्ना पार्टीका नेताले गल्ती गर्दा पनि त्यसको ‘बचाउ’ मा नलागी सचेत बनाउँदैनन्, तबसम्म राष्ट्रले निकास पाउने छैन ।

यहाँ त कार्यकर्ता पनि भोलिको आफ्नो व्यक्तिगत स्वार्थका लागि बाह्रैमास नेताका पुच्छर बनेर हिँडिरहेका हुन्छन् । त्यसो त यो भ्रम र गुट नेताले आफ्ना स्वार्थका लागि खडा गरेका हुन् । कार्यकर्ता स्वयंले पनि आफ्नो बाँकी स्वार्थका लागि नेतालाई साथ दिएका हुन्छन् । सीमित व्यक्तिका लागि फाइदाजनक देखिए पनि राष्ट्रका लागि निकै घातक हो । पार्टीका अन्धभक्त कार्यकर्ताहरु नेताको अघिपछि गरिरहेसम्म देश बन्दैन । किनकि, विश्वव्यापीकरण भएसँगै अबको प्रतिस्पर्धा राष्ट्रभित्र रहने जनताबीच होइन, अन्य राष्ट्रसँग हुन्छ । नेपाल समृद्ध नबनेसम्म सीमित व्यक्ति लाभान्वित हुनुको कुनै तुक छैन ।

लूटले केही सीमित गुट, व्यक्ति तथा समूहलाई त फाइदा पु–याउला तर सम्रग राष्ट्रका लागि भने यो ‘घर खाने धमिरो’ बन्नेछ ।

गुटभित्रको लूटले नेपालको कर्मचारीतन्त्रमा पनि उत्तिकै प्रभाव परेको छ । नेताले आफ्ना आसेपासेलाई कर्मचारी बनाएर पठाउँदा इमान्दार कर्मचारी पनि गुटको शिकार बन्नुपरेको छ । भने अर्कातिर कर्मचारीतन्त्रमा नै राजनैतिक गन्ध मिसिँदा कामभन्दा बढी ‘ठगी’ हुन थालेको छ । 

यसको प्रत्यक्ष असर हामीले देख्दै आइरहेका छौँ, नेपालबाट दैनिक हजारौँ युवा विदेश पलायन हुन्छन् । नेपालमा माथिल्लो तहसम्म पहुँच नहुने नेपाली उतै विदेश भासिन चाहन्छन् ।

आफ्नो पार्टीका सक्रिय कार्यकर्तालाई न्यूनतम योग्यताका आधारमा जागीर दिने र दक्ष जनशक्तिलाई विदेश पठाउने परिपाटी पनि यही गुट र लूटले निम्त्याएको जटिलता हो ।

केही समयअघि मात्र राष्ट्रिय बहसमा नयाँ र वैकल्पिक शक्ति नै नेपालको समृद्धिको संवाहक हुन् भनेर प्रचार गरियो ।

चुनावअघिसम्म जनताको मुद्दा निकै चासोको विषय बन्यो । एकाध जनता विकल्प फेर्न तयार पनि भए । तर, जनताको बहुमत फेरि उही पुरानो साङ्लोमा प–यो । अहिले कैयन् मतदातालाई भोट दिएकोमा थकथकी छ । तर अब चुकचुकाउनुबाहेक अरु विकल्प छैन ।

अहिले कैयन् मतदातालाई भोट दिएकोमा थकथकी छ । तर अब चुकचुकाउनुबाहेक अरु विकल्प छैन । 

जनतामा अहिले देखिएको यो थकथकी फेरि अर्को चुनावसम्म हराइसक्छ । त्यतिबेला फेरि जनताको पेट त्यही सपना र पैसाको लोभमा भरिन्छ । र, उही प्रक्रिया शुरु हुन्छ । विकल्प भेटिँदैन ।
यो गुटको जरो यति दह्रो गडेको छ कि, सामान्य जनताले यसको जरो त परको कुरा हरियो र मौलाएको पात पनि देख्दैनन् ।

गुट र लूट विकासको बाधक बनेको राष्ट्रलाई तत्कालका लागि अरुले जोगाउन सक्दैनन् । स्वयं गुट खडा गरेर बसेका नेता तथा कार्यकर्ताले नै राष्ट्रिय हितका लागि सोच्नुपर्ने बेला आएको छ । नगदले जगत चलाउने, गुटले लुट मच्चाउने खेल सधैका लागि अन्त्य नगरेसम्म प्रधानमन्त्री केपी ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा मदन भण्डारीको नारा ‘जनताको बहुदलीय जनवाद’ जस्तै नारामा मात्रै सीमित हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?