तारे होटलहरुका बीचमा उपराष्ट्रपति कार्यालय सार्ने तयारी, सुरक्षाका दृष्टिकोणले त्रुटिपूर्ण

काठमाडौं । लैनचौरस्थित समाजकल्याण परिषदको केन्द्रीय कार्यालयमा उपराष्ट्रपति कार्यालय सार्ने प्रस्ताव सुरक्षाको दृष्टिकोणले गम्भीर त्रुटिपूर्ण र अव्यवहारिक देखिएको आरोप स्थानीयले लगाएका छन् ।

मुख्य सडकसँग जोडिएको परिषद् भवनको दुईतिर मुख्य सडक र तीनतिर पाँच तारे होटल छन् । समाजकल्याण परिषद्को कार्यालय उपराष्ट्रपति कार्यालयका लागि उपयुक्त नै देखिँदैन । 

लैनचौरका स्थानीय एकपूर्व सैनिक अधिकारी भन्छन्, ‘भीभीआईपी कार्यालय सडक छेउ राख्नु हुँदैन, भोलि आन्दोलन चर्केको खण्डमा आन्दोलनकारीको निशाना बन्छ, तोडफोड हुने सम्भावना अधिक हुन्छ ।’

नेपाली सेनाका पूर्वमेजर सुरोजजँग कार्कीले भने ‘तीनतिर सात तारे र पाँच तारे होटल छन्, आडैमा क्यासिनो छ, उपराष्टपति कार्यालय बनाउन समाजकल्याण परिषद्को भवन सुरक्षाको दृष्टिकोणले मात्र होइन व्यवहारिक दृष्टिकोणले पनि उपयुक्त छैन ।’

समाजकल्याण परिषदको उत्तरबाहेक पूर्वपश्चिम र दक्षिण भागमा होटल शेराटन, छाया सेण्टर र होटल मल्ल रहेका छन् । सेभेन स्टार होटल शेराटन बन्दैछ । त्यसको ५० मिटर १५ तले होटल शेर्पा निर्माणाधीन अवस्थामा छ ।

अस्कल र सरस्वती क्याम्पसका विद्यार्थीहरुको विरोधमार्गका रुपमा परिचित लैनचौर सोह्रखुट्टे सडकमार्ग पटक–पटक अवरुद्ध हुनका साथै जामको समस्या देखिने गरेको छ । सर्वसाधारणको बाक्लो आवतजावत हुने क्षेत्रमा भीभीआइपीको कार्यालय राख्दा समस्या आउन सक्ने भनाइ सुरक्षा अधिकारीको छ । 

समाजकल्याण परिषद्सँगै रहेको क्यासिनो, मल्ल होटलमा रहेको लाइभ इभेण्ट ग्राउण्ड, छायाँ सेण्टरमा रहेको डिस्को र १५ तले होटल शेराटनको बनावट उपराष्ट्रपति कार्यालय सञ्चालनका लागि उपयोगी नभएको बताइएको छ ।

परिषद् पदाधिकारी दुःखी र स्थानीय खुशी 

उपराष्ट्रपति कार्यालय समाजकल्याण परिषद्मा सार्ने प्रस्तावसँगै परिषदका कर्मचारी तथा पदाधिकारी असन्तुष्ट देखिएका छन् । 

तर, लैनचौरका स्थानीयवासी भने खुशी देखिएका छन् । लैनचौरक्षेत्रमा होटल तथा क्यासिनोहरु स्थापना गर्नुभन्दा पनि भीभीआईपीहरुको बसोबासले सो क्षेत्रको महत्व बढ्ने दाबी उनीहरुको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?