नेपाली फिल्म: नयाँ निर्माता आउँदै, ‘मुर्गा’ बन्दै, हराउँदै

काठमाडौं । लेटर केसीले ठमेलमा हस्तकलाको व्यवसाय गरिरहेका थिए । नेपाली बजारमा मात्र होइन, उनले आफ्नो हस्तकलाको उत्पादनलाई विदेशी मार्केटमा समेत पु–याएका थिए । त्यतिबेला उनको कमाइ गज्जबको थियो ।

अहिले पनि उनको व्यापार चलिरहेको छ । दक्ष जनशक्तिको अभावमा व्यापारमा केही सुस्तता आएको छ ।

दश वर्षअघि नै झण्डै बीस/पच्चीस लाख रुपैयाँ नगद थियो त्यही व्यवसायबाट कमाएको । जवान थिए । किशोरावस्थामै राम्रो कमाइ गरेका थिए ।

एक दिन उनको भेट एक फिल्म निर्देशकसँग भयो । दर्शकको मन जित्ने फिल्म बनाउन नसक्ने ती निर्देशकले तारन्तार केसीलाई भेट्न थाले । फिल्ममा लगानी गरेर हुने फाइदाका बारेमा सुनाउन थाले । यो हलबाट यति पैसा आउँछ भन्दै ठूल्ठूला सपना देखाउन थाले ।

निर्देशकलाई विश्वास गरेर भएको पैसा पनि फिल्ममा खन्याए । केही पैसा यताउताबाट खोजे ।

त्यो समयका केही फिल्मले राम्रो कमाइ पनि गरिरहेका थिए । ती निर्देशकले तिनै फिल्मको उदाहरण दिए । हिसाब गर्दै यति लगानी गरे, यति कमाउन सकिने लोभ्याउन थाले ।

लेटरलाई पनि आफूले कमाइ गरेको नगदमा थपथाप गरेर अझै कमाउन मन नलाग्ने कुरै भएन । पहिले त विश्वास थिएन । तर निर्देशकको त्यो फकाउने र विश्वास दिलाउने लगाव देखेर लगानी गर्ने सोच बनाए उनले ।

निर्देशकलाई विश्वास गरेर भएको पैसा पनि फिल्ममा खन्याए । केही पैसा यताउताबाट खोजे ।

फिल्म बन्यो । र, फ्लप भयो । पूरै पैसा डुब्यो । 

केसी सुनाउँछन्, ‘फिल्म बनाउने भन्ने त सोच नै थिएन, निर्देशकले निकै लोभ देखाउनुभो, होला भनेर लगानी गरेँ, घाटा भयो ।’

उनी सम्झिन्छन्, ‘पछिसम्म पनि ती निर्देशकले झुलाइरहे, पूरै पैसा डुब्यो, त्यो बेला जग्गामा लगानी गरेको भए अहिले करोडौँको भाउमा जान्थ्यो होला ।’

त्यसपछि ती निर्माताले दोस्रो फिल्म बनाउने आँट गरेनन् । अहिलेसम्म पनि पहिलो फिल्म बनाउने, डुबाउने र थन्किने निर्माताको लस्कर लाग्ने गर्छ यहाँ ।

यसरी निर्देशकको चक्रव्युहमा फसेर आफ्नो घरबार गुमाउने अन्य निर्माताको लिस्ट शायद एक पानामा अट्दैन ।

यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो ।

पुतलीसडकको भित्तामा टाँसिएको ‘साली कसको भेनाको’ को पोस्टर देखाउँदै एक निर्माताले चिया पसलमा सुनाउँदै थिए – ‘यहाँ त निर्माताले नै नयाँ निर्मातालाई घुमाइ–घुमाइ फसाउँछन्, कतिमा त आफू डुबियो, अरुलाई पनि किन नडुबाउने भन्ने समेत भाव हुन्छ ।’

फिल्म क्षेत्रमा एकाध निर्माताले नाफा कमाए पनि अरु निर्माता ‘मुर्गा’ बनिरहेका हुन्छन् । राम्रो फिल्म बनाउन नसक्ने, र आफ्नो फिल्मको विरोध भएको हेर्न नसक्ने निर्देशकले मात्र होइन, निर्माताले पनि अलिकति पैसा हुने व्यापारीलाई पनि फिल्ममा लगानी गर्न लालायित पार्छन् । त्यसरी फिल्मका नाममा पैसा खन्याउने लगानीकर्ताको होश त्यतिबेला खुल्छ, जतिबेला फिल्म डुबिसकेको हुन्छ । फिल्म रिलिज भएको दुई दिनमै लापत्ता भइसकेको हुन्छ ।

फिल्म निर्देशक नरेशकुमार केसी भन्छन्, ‘खासमा फिल्म निर्माण पनि पढ्नुपर्ने विषय हो, तर नेपालमा त फिल्म नै नबुझेकाले पनि लगानी गर्ने चलन छ, उहाँहरुलाई निर्माता भन्दा पनि लगानीकर्ता भन्न मिल्छ ।’

अन्तराष्र्टिय फिल्म बजारमा भने फिल्म मेकिङ बुझेका र पढेकाले यो क्षेत्रमा बुझेर लगानी गर्ने गर्छन् । यहाँ त पैसा कमाउने दिवास्वप्न र सस्तो लोकप्रियताले पनि धैरै निर्माताले लाखौँ डुबाएका छन् । फिल्म क्षेत्रमा बुझेका निर्माताले नै ती नयाँ निर्माताहरुलाई ‘मुर्गा’ भन्ने गर्छन् । यो क्षेत्रमा कालो धनलाई सेतो बनाउने अभ्यास कमै भए पनि लगानी गरेर ठाडै डुब्ने अभ्यास भने निरन्तर जारी छ ।

फिल्म ‘लूट’ निर्देशन गरेर एकाएक चर्चामा आएका निश्चल बस्नेतले अहिले बरु फिल्म निर्माण गरिरहेका छन् तर निर्देशन गर्न अझै तयार छैनन् । कारण के भने, यदि फिल्म बन्यो भने आफूलाई चित्त बुझ्दो सिनेमा बनाउन सकियोस् । निर्माता उनीकहाँ ठोक्किन आए पनि उनी फिल्म निर्देशनका लागि तत्काल तयार छैनन् ।

‘म जबसम्म निर्देशनका लागि तयार हुँदिन, तबसम्म निर्देशन गर्दिन, भएको अलिकति शाख पनि किन गुमाउनु?’, निश्चल भन्छन् ।

तर, यसरी फिल्मलाई सिर्जनाको नजरबाट सोच्ने मेकर भने नेपालमा निकै कम हुँदा फिल्ममा लगानी गर्दै निर्माता डुब्दै गरेका छन् । कतिपयले पहिलो फिल्म डुबेपछि अर्को फिल्म बनाएर लगानी फर्काउन सकिन्छ कि भनेर समेत लगानी गरेका छन् ।

अनेक फन्डा मच्चाएर फिल्म चलाउन सिपालु एक निर्देशकसँग मिलेर फिल्म बनाएका व्यवसायी एक निर्माताले भन्दै थिए, ‘पहिलो फिल्म डुब्यो, अब अर्को फिल्म बनाएर लगानी फर्काउन प–यो नि ।’

उनले यसो भने पनि अर्को फिल्मले पनि लगानी उठाउन सकेन । डुब्यो । अहिले उनै निर्माता उही टिमसँग मिलेर तेस्रो फिल्म निर्माण गर्दैछन्, त्यो पनि चलेका स्टार कलाकारलाई महंगो पारिश्रमिक दिएर । यो फिल्म पनि डुब्यो भने शायद उनको घाटा करोडको हाराहारीमा पक्का पुग्नेछ । राम्रो फिल्मको कथा र राम्रो टिमसँग काम नगरेर डुब्ने कथा र निर्देशकसँग काम गरिरहने निर्माताहरुले फिल्म डुबाउँदै, पछुताउँदै गर्नेबाहेक अरु विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?