नेकपाका सांसदद्वारा प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  सांसदहरुले अवरुद्ध गरेका छन् । 

आइतवार प्रदेशसभा बैठक शुरु हुनुभन्दा अगाडी नेकपाका सांसदले करारमा कर्मचारी भर्ना ऐनमा दर्ता गराएको संशोधन समावेश नभएको भन्दै उभिएर विरोध जनाएका हुन् । 

नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माले करार ऐेन अध्ययन गर्न बनेको विशेष समितिमा त्रुटी रहेको भन्दै त्रुटि संशोधन नभएसम्म बैठक चल्न नदिने बताए । साथै सरकारले ल्याएको विधेयकमा प्रमुख सचिव भर्ना गर्न समिति बनाउने प्रावधानलाई अध्ययन समितिले मुख्य न्यायधिवक्ताको अध्यक्षतामा बनाउने भन्दै प्रतिवेदन ल्याएकोमा विश्वकर्माले विरोध गरे ।

बैठक शुरु हुन साथ नेकपका सांसद विश्वकर्माले विशेष समयमा बोल्दै त्रुटि सुधार नभएसम्म बैठक चल्न नदिने अडान लिएपछि प्रदेशसभा बैठक स्थगित भएको हो । 

सभामुख रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई बोल्ने समय दिएपनि नेकपाका सांसद बस्न नमानेपिछ १० मिनेटकालागि बैठक स्थगित गरिएको हो । 

बैठक पुनः बस्नका लागि अहिले नेकपाका सांसदहरुसँग छलफल भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?