वर्षेनी ५ करोडको कफी आयात गर्छ नेपाल, ऐन नबन्दा उत्पादन बढेन

कफीलाई विश्वकै सर्वाधिक लोकप्रिय पेय पदार्थ मानिन्छ । पेट्रोलियम पद्धार्थपछि विश्वमा सबैभन्दा बढी आर्थिक कारोबार हुने वस्तु पनि कफी नै हो ।

नेपालमा कफीभन्दा चियालाई नै प्राथमिकता दिने चलन भएतापनि केही समय यता कफीको ‘क्रेज’ ह्वात्तै बढेको अनुभव गर्न सकिन्छ । यद्यपी, नेपाली बजारमा विदेशी ब्रान्डका कफी नै बढी लोकप्रिय छ । रुचाइएको छ । 

कफी उत्पादनमा ठूलो सम्भावना बोकेको हाम्रो देशमा कफी व्यवसाय र व्यवसायीको अवस्था कस्तो छ, राज्यका नीतिहरु केकस्ता छन्, कफी उद्योगलाई कसरी विस्तृतिकरण गर्न सकिन्छ र स्वदेशी कफीलाई ‘ब्रान्ड’ बनाउन नेपाल कफी व्यवसाय महासंघले के गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर लोकपथकर्मी प्रेरणा तिमल्सिनाले नेपाल कफी व्यवसाय महासंघका अध्यक्ष ओमनाथ अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :

आज भोलि तपाईको समय कसरी बितिरहेको छ ? 

म एक किसान हुँ । कफी खेती गर्छु । तर महासंघमा नेतृत्व लिएपछि भने महासंघलाई नै अलि धेरै समय दिइरहेको छु । 

कफी कत्तिको पिउनु हुन्छ ? 

दिनको तीन कप सम्म पिउने गर्छु । 

कुन कफी पिउने गर्नुहुन्छ ? 

गुणस्तरको हिसाबले नेपाली कफी राम्रो छ ।  त्यसैले म आफैले उत्पादन गरेको कफी पिउँछु ।  

दिनको कति कप कफी पिउन उचित होला ? 

दिनमा २ देखि ३ कप सम्म पिउनु राम्रो हो । यसले खासै असर गर्दैन । बढीमा ४ कप सम्म पिउन सकिन्छ ।

विदेशी ब्रान्डका कफीको क्रेज बढी हुनु र नेपालले यहीँ उत्पादन भएको कफीको छुट्टै ‘ब्रान्ड’ बनाउन नसक्नुको मुख्य कारण के होला ? 

विदेशी ब्रान्डका ‘इन्स्टान्ट’ कफी  खाइरहेकालाई हाम्रो ‘फिल्टर’ कफी खाँदा स्वाद र बनाउने प्रक्रिया भिन्न लाग्न सक्छ । त्यसैले उपभोक्ताहरुले जे खाइरहेको हो त्यसकै स्वाद लिन चाहन्छन् । यद्यपी, केही वर्षयता स्वदेशी कफीको पनि डिमान्ड बढेको छ ।

नेपालमा ४ वर्ष अघिसम्म पनि विदेशी ब्रान्डका कफीको क्रेज बढी नै थियो तर, अहिले विदेशी ब्रान्ड भन्दा नेपाली कफी खाने बढेका छन् । 

नेपालमा उत्पादित कफी स्पेशल छ तर, हाम्रो देशमा कफी उत्पादन कम हुन्छ । त्यसैले अन्तर्राष्ट्रियबजारको डिमान्ड अनुसार हामीले  कफी उत्पादन गर्न सकिरहेको अवस्था छैन । स्टार गोल्ड, नेस्क्याफे आदि धेरै पुराना ब्राण्ड हुन् । अहिले नै हामी यस्ता कम्पनीहरुसँग प्रतिस्पर्धामा आउन सक्दैनौं ।

उत्पादन बढाउनका लागि के के गर्न सकिन्छ ? छोटकरीमा बताइदिनुस् न । 

नेपालको कूल भू–भाग मध्ये ४१ ओटा जिल्लाको ११ लाख हेक्टरमा कफी उत्पादन गर्न सकिन्छ । र, अहिलेको तथ्याङ्क अनुसार २५ वटा जिल्लामा मात्रै व्यवसायिक  रुपमा कफी उत्पादन भइरहेको अवस्था छ । ३२ हजार किसान कफी खेतीमा आवद्ध भएको तथ्याङुकले बताउँछ तर, हामी जस्ता साना किसानहरुले मात्र कफी खेती गरिरहेको अवस्था छ । साथै १७ वटा जिल्लामा मात्रै कफी व्यवसायी संघ रहेको छ । 

यी सबै कुरालाई मध्यनजर गर्दा राज्यले कफी खेतीलाई खासै वास्ता नगरेको प्रष्ट हुन्छ । त्यसैले यसलाई व्यवसायिक रुपमा अघि बढाउन राज्यले नै भूमिका निर्वाह गर्नुपर्दछ । 

अर्को, कफी स्वभावले नै जङगलमा हुर्कने बिरुवा भएकाले किसानले सामुदायिक वन भित्र कफी खेती गर्न पाउनुपर्दछ । तर, राज्यले यसमा रोक लगाएको छ । 

त्यसैले, मलाई लाग्छ कफी खेती विकास गर्न ऐनमा नै केही संशोधन हुनुपर्छ र यसमा राज्य नै लागी पर्नुपर्छ । कफी उत्पादनमा ब्राजिललाई विश्वको उत्कृष्ट  मानिएतापनि हिमाली हावापानीले छोएकाले नेपालको कफी स्पेशल छ त्यसैले, हामीसँग सबै भन्दा महंगो कफी उत्पादन गर्न सक्ने क्षमता छ । 

सामुदायिक वनमा कफी खेती गर्न नपाइने, चिया उत्पादनका निमित्त कम्पनीको नाममा सयौं बिघा जमिन दार्ता गर्न पाइने तर, कफीका लागि नपाइने आदि जस्ता ऐनहरु संशोधन गर्न आवश्यक छ ।

कफीको डिमान्ड कतिको छ र त्यसलाई पूरा गर्न तपाईहरु कति हदसम्म सफल हुनुहुन्छ ?

कफी उत्पादन वर्षेनि १० प्रतिशतले बढिरहेको छ । तर डिमाण्ड ५० प्रतिशतको दरले वृद्धि भइरहेको अवस्था छ ।  हामीले डिमाण्ड र उत्पादनलाई समानान्तर रुपमा वृृद्धि गर्न सकेको छैन ।

चिया उत्पादनका निमित्त कम्पनीको नाममा सयौं बिघा जमिन दार्ता गरिएको हुन्छ तर, कफीको हकमा यो अवस्था  छैन । यहाँ नीतिगत विभेद देखिन्छ । यस्ता नीतिलाई केही हदसम्म संशोधन गर्नैपर्ने आवश्यकता छ । 

कफी व्यवसायको लागि सरकारले बनाएको नीतिनियमहरु के कस्ता छन् ? 

‘राष्ट्रिय चिया तथा कफी विकास बोर्ड’ भन्ने संस्था छ जसमा कफी सम्बन्धि नीतिनियम बनेको छ । तर त्यसलाई कार्यन्वयन गर्नको लागि ऐनहरुले बाधा पु-याइरहेको अवस्था छ ।

सामुदायिक वनमा कफी खेती गर्न नपाइने, चिया उत्पादनका निमित्त कम्पनीको नाममा सयौं बिघा जमिन दार्ता गर्न पाइने तर, कफीका लागि नपाइने आदि जस्ता ऐनहरु संशोधन गर्न आवश्यक छ । महासंघ मार्फत यस्ता कुराहरु राखेर ऐन संशोधन गर्न हामी लागी रहेका छौँ ।

कफी व्यवसाय र व्यवसायीहरुका मुख्य मुख्य समस्या र यसका समाधानहरु के के  होलान् ? बुँदागत रुपमा बताइदिनुहोस् न ।

हामीले ठूलो फर्ममा जसरी कफी उत्पादन गर्न खोज्दै छौं त्यसमा राज्यले दिने ऋणको सुविधा छैन । बैंकहरुले ६ प्रतिशत र १५ प्रतिशत कृषिमा लगानी गर्नै पर्छ भनिएको छ तर  यो कुरा पनि विज्ञापनमा मात्र सीमित भएको छ । बैंकमा बुझ्न जाँदा बैंकले अहिले यो नियम छैन भन्छ । यहाँ नीति छ तर कार्यन्वयनमा आएको छैन । 

कफी खेतीमा भएको समस्या न्यूनीकरण गर्न राज्यले सानो आकारमा  कफी उत्पादन गर्ने किसानका निमित्त पूँजीको व्यवस्थापन गर्न जरुरी छ । अर्को कुरा कफीलाई सिँचाईको आवश्यकता छ ।यसमा कम्तीमा ५० प्रतिशत सहुलियतको व्यवस्था गरिदिए किसानलाई र राज्य दुवैलाई फाइदा हुन्छ । यसले किसान र राज्यको आर्थिक उन्नतिमा टेवा पु-याउँछ । 

तुलनात्मक रुपमा हेर्दा पहिलेको र अहिलेको वर्षमा कफी व्यापारमा कस्तो उतारचढाव आएको छ ? 

पहिला र अहिलेको तथ्याङ्कलाई मध्यनजर गर्दा कफीको आयात घट्ने क्रममा छ । गतसालको तथ्याङ्क हेर्दा हामीले ९ करोडको कफी निर्यात गरेका छौं र ५ करोड हाराहारीको कफी आयात गरेका छौं ।

४ वर्ष अगाडिको तथ्याङ्क हेर्दा यसको ठ्याक्कै उल्टो थियो । आयात बढी र निर्यात कम हुन्थ्यो । तर अहिले कफीको उत्पादनमा वृद्धि भएको छ र उपभोक्ता पनि बढेको अवस्था छ । 

कफी उत्पादन वर्षेनि १० % को दरले बढ्दैछ तर डिमान्ड ५० % को दरले । राज्यले ऋण दिँदैन । बैंकहरुको लगानी विज्ञापनमा मात्र सीमित छ । 

किसानले कफी उत्पादनबाट उचित मूल्य पाएका छैनौं भन्ने गुनासाहरु गरिरहेको पाइन्छ यस विषयमा के भन्नु हुन्छ ? 

म पनि किसान भएको नाताले यति चाहिँ भन्नसक्छु कि अहिले किसानले लागत अनुसारको कफीको मूल्य पाएका छन् । तर संस्थागत रुपमा हाम्रो सम्पर्कमा नआएका व्यक्तिहरु वा थोरै मात्रामा कफी उत्पादन गर्ने किसानलाई उचित मूल्य नदिएको हुनसक्छ । 

किसानहरुलाई जानकारी होस् भन्ने उद्देश्यले मंसिर १ गते हामी कफी दिवस मनाउने गर्दछौँ । यो दिनमा हामी राष्ट्रिय  चिया तथा कफी विकास बोर्ड, व्यवसायी, किसान सबै बैठक बस्छौं । उक्त बैठकमा त्यस वर्षको कफीको मूल्य निर्धारण गरिन्छ । सानो आकारमा १०–२० किलो उत्पादन गर्नेहरुले गुनासो गरेको हुनसक्छ । नभए नेपालमा त्यस्तो स्थिति छैन । 

महासंघले कफीको बजार विस्तृतिकरणका निमित्त कस्तो योजना बनाइरहेको छ ?

हामी १७ वटा जिल्लामा काम गरिरहेका छौं । अहिले एउटा युरोपिएन प्रोजेक्टसँग मिलेर आफ्ना कार्यक्रमहरु अघि बढाइरहेका छौं । यो सँगसँगै हामी सरकारी स्तर, राष्ट्रिय स्तर र कृषि विकास मन्त्रालयसँग मिलेर नेपालमा कफी उत्पादन हुने क्षेत्रको विस्तार गर्ने लक्ष्य लिएका छौं । 

आफ्नो तीनवर्षे कार्यकालमा यो क्षेत्रमा केकस्तो परिवर्तन ल्याउने योजना बनाउनुभएको छ ?

यस संस्थामा आवद्ध भएपछि हाम्रो स्वदेशी कफीलाई अन्तर्राष्ट्रिय बजारमा ‘स्पेशालिटी कफी’का नाममा दार्ता गर्न सफल भएका छौं । त्यसैले म आफ्नो कार्यकालमा यो ब्राण्डलाई अझै देशविदेशमा फैलाउने काममा लागिपर्नेछु । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने गुणस्तरको विकास गरेर जतिसक्दो धेरै कफी निर्यात गर्न सक्ने वातावरणको सिर्जना गर्नेछु । 
 

  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?