‘महेश काफ्लेः दश वर्षपछि ‘नाच फिरीरी’ ल्याए, भाइरल बनाए’

असारे महिना सिमसिमे पानी परिरहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी
हावा चल्यो सिरीरी
आँतै जिरीरी
म बजाउँछु मुरली तिरीरी
तिमी नाच फिरीरी

केही समयदेखि यो गीत नेपालीमाझ निकै भाइरल छ । गाउँदेखि शहरसम्मका संगीत पारखीले यो गीतलाई आफ्नै तरिकाले गुनगुनाइरहेका छन् । लोकशैलीको यो गीत मादलको तालमा रमाउने वर्गको पनि रोजाइमा छ, अर्कातिर गितारको धुनमा गीत गुनगुनाउनेले पनि ‘नाच फिरीरी’ भन्दै गितार बजाइरहेका हुन्छन् ।

गीतमा उनिएका मौलिक शब्द र सुहाउँदो संगीतमा कलात्मक मोर्डन प्रस्तुतिको स्वादलाई दर्शकले मन पराएका छन् । यो गीतका गायक तिनै हुन्, जसले यसअघि ‘सानीमा, मार्देऊ बरु बगाइदेऊ पानीमा’, ‘पिण्ड दिने छोरो’ जस्ता बाल स्वरमा गीत गाएका थिए । ती गीतमा आफै अभिनय गरेका थिए ।

अडियो रेकर्ड गर्ने त्यो जमानामा ती गीतले पनि उत्तिकै चर्चा कमाएका थिए । काफ्लेको ‘नाच फिरीरी’ हिट भएपछि अहिले फेरि ती गीतको खोजी हुन थालेको छ युट्युबमा ।

बुबाले सिकाएका गायक

महेशका बुबा भोजराज काफ्लेले जमानादेखि संगीतकै क्षेत्रमा काम गर्दै आइरहेका थिए ।

‘बोत्तलको पानीले’ बोलको गीत गाएर एकाएक हिट भएका भोजराजलाई आफू मात्र हिट हुन शायद मन लागेन । छोराहरु महेश काफ्ले र दिनेश काफ्लेलाई पनि गीत गाउन लगाउँथे उनले । उनीहरुका लागि आफै गीत लेखिदिन्थे । उनले महेशलाई अभिनय पनि गराए ।

महेशका दाइ दिनेश काफ्लेले गाएको एउटा गीत अहिले पनि स्रोताले खोजीखोजी सुन्छन् – आमा रातो सारी चुरा पोते किन नलाको ।

परिवार नै संगीतमय । संगीतको नशा महेशको ‘जीन’मा नहुने कुरै भएन । नयाँ साथीहरुसँग चिनजान गर्दा उनी तिनै पुराना गीत सम्झाएर आफ्नो परिचय दिने गर्थे । संगीतप्रतिको रहर आफूमा गुम्सिए पनि झण्डै दश वर्ष उनी संगीत क्षेत्रबाट टाढा रहे । मिडियातिरै काम गरे । बुबा भोजराज काफ्लेले पनि उनलाई गीत गाउन लगाएनन् । तर, उनको मनमा संगीतप्रतिको हुटहुटी भने मरेको थिएन ।

दश वर्षपछि ‘नाच फिरीरी’

वर्षहरु बित्दै गए । महेशले गीत लेख्दै गए । कति गीत उनी आफैलाई चित्त बुझेन । कति अरुलाई चित्त बुझेन । तर, ‘नाच फिरीरी’ दर्शकलाई मन मात्र परेन, भाइरल नै भइदियो ।

‘यो गीत यति धेरै चर्चित होला भन्ने लागेको थिएन, तर दर्शकले रुचाइदिनुभयो, अहिले गीतमा आएका थुप्रै प्रतिक्रियाले प्रफुल्ल छु’, महेशले सुनाए ।

हुन पनि अहिले उनको गीत साँच्चिकै धेरैले रुचाएका छन् । उनले सानो छँदा गाएका गीतलाई अहिले पनि दर्शकले खोजी खोजी सुन्न थालेका छन् । कतिले त युट्युबमै कमेन्ट गरेका छन् – ‘नाच फिरीरी सुनेर यी गीत खोजी खोजी सुन्ने यता हाजिर हौँ त !’

‘गीतलाई सबै पुस्ताका व्यक्तिले उत्तिकै मन पराइदिनुभाको छ,’ फ्यानहरुका मीठामीठा प्रतिक्रिया सम्झेर दङ्ग पर्दै उनले थपे, ‘पाखापखेरोमा घाँस काट्दै गाउनेदेखि गिटार बजाउनेसम्मले तारिफ गर्नुभाको छ, खुसी लाग्छ ।’

बुबाकै शब्द गाएर गीतको नशामा डुबेका महेशले गीत लेखिसकेपछि बुबालाई देखाएका पनि थिएनन् । सल्लाह मागेका पनि थिएनन् ।आफ्ना शब्दलाई बरु उनले अरु साथीमाझ सुनाएका थिए ।

‘नाच फिरीरी’ गीतलाई उनले गाएका मात्र होइनन् । गीतका शब्द पनि उनी आफैले लेखेका हुन् । संगीत पनि आफैले भरेका हुन् ।

‘मलाई पहिलेदेखि नै सबै पुस्ताले रुचाउने खालको गीत लेख्न मन थियो, यो गीत लेखेपछि त्यो चाहना केही हदसम्म पूरा भएझैँ लाग्यो,’ काफ्लेले सुनाए, ‘गीत तयार हुन दुई वर्ष लाग्यो होला, पहिले त हामीले अडियो लिरिक्स मात्र सार्वजनिक गर्ने सोचेका थियौँ ।’

पहिले लिरिकल भिडियो मात्र सार्वजनिक गर्ने सोच थियो । बुबाकै शब्द गाएर गीतको नशामा डुबेका महेशले गीत लेखिसकेपछि बुबालाई देखाएका पनि थिएनन् । सल्लाह मागेका पनि थिएनन् ।आफ्ना शब्दलाई बरु उनले अरु साथीमाझ सुनाएका थिए । एकदिन उनले आफ्ना नजिकका साथी आकाश खड्कालाई गीत सुनाए ।

आकाशले गीत सुने । चित्त बुझ्यो ।

आकाशको आसिफ शाहसँग राम्रै चिनजान थियो । एकपटक कुरा राख्ने कि भनेर सल्लाह भयो । यो आजको भोलि भएको योजना पनि थिएन । आसिफलाई भेट्ने योजना बन्यो । आसिफले गीत सुने । उनले फेरि निश्चल बस्नेतलाई महेशको गीत सुनाए ।

आसिफले भनेका रहेछन् – ‘म निश्चललाई यो गीत सुनाउँछु, उसलाई मन प–यो भने बल्ल कुरा गरौँला, नत्र कसको गीत भनेर पनि म भन्दिन उसलाई ।’

नभन्दै निश्चललाई गीत मन प–यो । अब गीतमा आसिफ र निश्चलको समूहले भिडियो पनि बनाउने भयो ।

पहिले त गीतमात्र सार्वजनिक गर्ने भनिएको थियो ।

‘यो गीतको भिडियो बनेपछि दर्शकलाई यो गीत झनै मन परेको हुनुपर्छ, निश्चल दाइहरुले भिडियोमा अभिनय गर्ने भन्नुभएपछि मलाई अझ बढी फाइदा भयो ।’, महेशले सुनाए ।

गीतको भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी छ । दर्शकले गीतसँगै भिडियो मेकिङको पनि उत्तिकै तारिफ गरे ।

बुबालाई जानकारी नै थिएन

महेशले गीत तयार पारे । गीत पूरा भएर संगीत भरिसक्दा पनि महेशले एकपटक पनि बुबा भोजराज काफ्लेलाई गीत सुनाएका थिएनन् । जबकि, महेश आफै बुबाले लेखिदिएका गीत गाएरै सानैमा गायक बनेका थिए ।

‘बुबा पनि आफ्नो कामले व्यस्त हुनुहुन्थ्यो, पछि फेरि म संगीतमा त्यति सक्रिय पनि थिइन, शायद बुबाले मैले गीत गाउँछु भन्ने पनि सोच्नुभएको थिएन,’ महेशले सुनाए, ‘बुबाले एकैपटक कम्पोज गर्दा गीत सुन्नुभएको थियो, तर केही प्रतिक्रिया दिनुभएन ।’

बुबाले त उनलाई केही भन्नुभएन । तर उनलाई लाग्यो, बुबाले सोच्नुभयो – ‘छोराले राम्रो गरेछ ।’

अहिले पनि बुबाले गीतको विषयमा प्रतिक्रिया दिएका छैनन् । महेशले सोधेका पनि छैनन् । उनलाई लाग्छ, बुबालाई चित्त बुझेको छ ।

यो गीत उनले सुन्छन्, कताकता अझै पनि ‘त्रुटि’ छन् कि भन्ने लाग्छ । गीतलाई अझै राम्रो गर्न सकिन्थ्यो कि भन्ने लाग्छ ।

अझै राम्रो गर्नु छ

‘नाच फिरीरी’ यति भाइरल भइदियो कि, एउटै गीतले उनलाई एकैपटकमा चर्चित गायक बनाइदियो । उनको बालगायकी खोजी गरेर हेर्ने त अहिले पनि छन् । तर धेरैले भुलिसकेका थिए महेशलाई ।

यो गीत उनले सुन्छन्, कताकता अझै पनि ‘त्रुटि’ छन् कि भन्ने लाग्छ । अझै राम्रो गर्न सकिन्थ्यो भन्ने लाग्छ ।

‘गीतलाई अझै राम्रो गर्न सकिन्थ्यो कि भन्ने लाग्छ, दर्शकले मलाई अझै जिम्मेवार बन्न सचेत पनि बनाउनुभयो,’ महेश थप्छन्, ‘यही टिमले फेरि अर्को गीत तयार पार्दैछौँ, त्यो गीतलाई अझै राम्रो बनाउने प्रयास छ ।’

‘भाइरल होला त अर्को गीत पनि?’, हामीले सोध्यौं ।

उनले मुस्कुराउँदै जवाफ दिए – ‘गीत बनेर बजारमा नआएसम्म कुन गीत चल्छ भन्न नै गाह्रो रहेछ, हामीले हाम्रो तर्फबाट राम्रो बनाउने हो, दर्शकलाई मन पर्छ कि पर्दैन भन्ने बजारमा गएपछि मात्रै थाहा हुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?