राष्ट्रपति भण्डारी पोल्याण्ड भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि पोल्याण्ड भ्रमणमा जाने भएकी छिन् । 

पोल्याण्डको कोताविचमा २ डिसेम्बरदेखि १४ डिसेम्बरसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ को उद्घाटन कार्याक्रममा सहभागी हुन शनिवार राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । 

उनको भ्रमण टोलीमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्यहरू पूर्णा कुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुने छन् । साथै राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका उच्च अधिकारीहरूसमेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै भ्रमण टोलीमा सरकारी सञ्चार माध्यमका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू समेत सहभागी हुनेछन् ।

राष्ट्रपति भण्डारीले आइतबार (२ डिसेम्बर)मा जर्मनीको वर्लिनस्थित नेपाली दूतावासमा दूतावासले आयोजना गरेको सम्मेलनमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै कोप २४ को उच्चस्तरीय सत्रलाई सोमबार (३ डिसेम्बर)मा सम्बोधन गर्ने कार्यक्रम छ । 

सोमबार विहानै राष्ट्रपति भण्डारीसँग राष्ट्र संघको महासभाकी अध्यक्ष फर्नान्डा स्पीनोसा गार्सियसले सम्मेलन साइडलाइनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सोमवार साँझनै पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा राष्ट्रपति भण्डारी सरिक हुनेछिन् । 

मंगलवार (४ डिसेम्बर)मा राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासँगै कातोविचमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । 

राष्ट्रपति भण्डारी बुधवार (५ डिसेम्बर)मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?