निर्मलाको न्यायको लागि काठमाडौंसहित देशभर विप्लवको प्रदर्शन

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । 

नेकपाले प्रदेश नम्बर ५ का प्रमुख शहर बुटवल, दाङ र नेपालगञ्जसहित देशभर एक साथ प्रदर्शन गरेको हो  । 

प्रदर्शनका क्रममा दाङबाट नेकपाका ७ कार्यकर्तालाई प्रहरी ले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा नेकपा दाङका जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत छन् । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको साढे चार महिना हुँदासम्म पनि सरकारले अहिलेसम्म अपराधी पत्ता लगाउन नसक्नुले सरकारमाथि नै प्रश्न चिन्ह उठेको नेकपाले बताए । 

अपराधीहरुलाई कानुनीको कठघरामा ल्याउन नसकेको अवस्थामा दबाबस्वरुप शान्तिपूर्ण रुपले कार्यक्रम भइरहेको बेला नेता कार्यकर्तालाई गिरफ्तार गरिएको नेकपा दाङले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?