निक्षेपमा ब्याजदर ‘सिन्डिकेट’ तोडिएसँगै बढी ब्याज दिन बैंकहरूबीच प्रतिष्पर्धा

काठमाडौं : निक्षेप र कर्जाको ब्याजदरमा 'सिन्डिकेट' लादिरहेको नेपाल बैंकर्स एशोसियसनले निक्षेपको ब्याजदर तोक्न बैंकहरूलार्इ खुला गरिदिएसँगै अब बैंकमा रकम जम्मा गर्ने निक्षेपकर्ताले अपेक्षित ब्याज पाउने भएका छन् । 

मंगलबार संधले निक्षेपको ब्याजदर बैंकहरू अाफैंले तोक्न सक्ने निर्णय गरेको थियो । कम ब्याज दिँदा बैंकिङ प्रणालीमा निक्षेप जम्मा गर्न चाहने सर्वसाधारण घटेका थिए भने बैंकबाट ऋण लिन चाहनेले  सजिलै कर्जा पाएका थिएनन् । 

यो पनि : बैंकर्स संघले तोड्यो आफ्नै सहमति, मुद्दति निक्षेपमा ब्याजदर तोक्न बैंक स्वतन्त्र

निक्षेपको ब्याजदर बैंकहरूले नै तोक्न पाएपछि मंगलबार नै जनता बैंकले मुद्धती निक्षेपको ब्याजदर १२% दिने जनार्इसकेको छ । यस्तै माछापुच्छ्रे बैंकले पनि मुद्धती निक्षेपमै १२% ब्याज दिने निर्णय गरेको छ । 

बैंकहरूले तोकेको नयाँ ब्याजदरमा ०.५% बिन्दु बढीसम्म ब्याजदर दिन सक्ने हुनाले अब बैंकमा रकम जम्मा गर्नेले १३% सम्म ब्याजदर पाउन सक्छन् । यसअघि सिंस्थागत निक्षेपमा बढी ब्याजदर दिने प्रतिष्पर्धा थियो । तर बैंकहरूबीच अब ब्यक्तिगत निक्षेपमै बढी ब्याजदर दिन प्रतिष्पर्धा हुने देखिएको छ । 

बैंकको ब्याजदरमा सिन्डिकेट लादिरहेको बैंकर्स संघले यसअघि यसलार्इ 'भद्र सहमति' नामाकरण गर्ने गरेको थियो । निक्षेपमा बढी ब्याज दिँदा अब बैंकबाट कर्जा लिनेले पनि बढी ब्याज तिर्नुपर्ने देखिएको छ । 

अधिकांश बैंकहरूले केही दिनभित्रै मुद्धती निक्षेपमा अाकर्षक ब्याजदर दिने प्रस्तावसहितको योजना ल्याउने तयारी गरिरहेका छन् । मुद्धती निक्षेपमा बढी ब्याजदर प्राप्त गर्ने अवस्थामा निक्षेपकर्ताहरूलार्इ अाफ्नो रकम जम्मा गर्ने बैंक छनोट गर्ने सुविधा मिल्नेछ । हाल कायम तरलता संकट पनि हट्ने बैंकरहरू बताउँछन् । 

बैंकहरूले यसअघि मुद्धती निक्षेपमा ११ प्रतिशतसम्म मात्रै ब्याजदर दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?