‘प्रसाद’ समीक्षा: समाजले स्वीकार्न नसकेका नायकहरूको कथा

काठमाडौं । केही दशकयता नेपाली दर्शकले घरेलु सिनेमामा पनि फरक स्वाद र प्रस्तुती चाख्न पाएका छन् । विषयप्रधान सिनेमाले सिनेमाको मर्म र सामाजिक प्रभावलाई पनि केही हदसम्म सम्बोधन गर्ने प्रयास गरिरहेका छन् । चलचित्र ‘प्रसाद’ सामाजिक बिम्ब झल्कने एउटा सग्लो फिल्मी ऐना हो ।

सिनेमाले सामन्ती वर्गको कथा उठाएको छैन । तर भुइँमान्छेको माध्यमबाट त्यही समाजको चित्रण गरेको छ, जहाँ सामन्तीहरुले समाजलाई ‘समाज’ रहनबाट वञ्चित गरेका छन् ।

चलचित्रले सामान्य कथा भन्न खासै फरक प्रस्तुती दिएको छैन । अन्तर्जातीय विवाह गरेका कारण गाउँबाट निकालिएका एक जोडी बाबुराम परियार (विपिन कार्की) र नारायणी (नम्रता श्रेष्ठ) गाउँ छोडेर काठमाडौं जान्छन् । काठमाडौंमा उनीहरुको आफ्नो मान्छे भन्ने एकजना साथी हुन्छ । त्यही साथीले केही दिन आफ्नैमा बास दिन्छ । सबै त्यागेर भागेर आएका बाबुराम र नारायणीको बिहे गराइदिन्छ । आफैले काम खोजिदिन्छ । बाबुराम र नारायणीका लागि लाई निःस्वार्थ सहयोग गर्छ ।

सुन्दर परिवार र सन्तानको सपना बुनेको यो जोडीको परिवारमा त्यतिबेला जटिलता देखिन थाल्छ, जतिबेला बाबुरामको बच्चैदेखिको साथी रमेश (निश्चल बस्नेत) को उपस्थिति हुन्छ । रमेशलाई बाबुरामले गरेको विश्वासका कारण उसको जीवनमा कस्ता समस्या आउँछन् र ती समस्या कसरी सुल्झिन्छन् भन्ने ‘खुल्दुली’ सँगै फिल्मको कथा अगाडि बढ्छ ।

चलचित्रमा मुख्य भूमिका निभाएका विपिन कार्की र नम्रता श्रेष्ठको अभिनय अब्बल छ । विपिनले चलचित्रमा एक सोझो युवक (बाबुराम)को चरित्रलाई निर्वाह गरेका छन् । फिल्म हेरिरहँदा उनी विपिन नभएर त्यही बाबुराम हुन् भन्ने पारिदिन्छन् । उनको अभिनय र भाषिकागत संवादमा खोट लगाउने ठाउँ छैन । नम्रता श्रेष्ठको अभिनय पनि तारिफयोग्य छ । उनको अभिनयमा सरलता त छ नै, रमेशको मायाप्रति उत्तिकै इमान्दार भएको पनि भेटिन्छ ।

सिनेमाको स्वादिलो पक्ष भनेको यसको मौलिक कथा नै हो । हरेक गाउँमा भेटिने फिल्मको कथाले गाउँका समस्या मात्र होइन, शहरका समस्यालाई पनि छोएको छ ।

तर, संवाद र लबजमा भने उनी कतै–कतै चुकेकी छिन् । प्रायः गाउँकै लबजमा बोल्नुपर्ने भए पनि बेलाबेलामा उनको आवाजमा त्यो सन्तुष्टि पाइँदैन । निश्चल बस्नेतको अभिनय चाहिँ त्यस्तो प्रभावकारी देखिँदैन । उनी यसअघिका फिल्ममा जस्तो थिए, त्यस्तै छन् । उसरी नै बोलिरहेका छन् । उनको प्रस्तुतिमा विभिन्नता पाइँदैन । अन्य गौण कलाकारको अभिनय पनि ठीकै छ ।

सिनेमाको स्वादिलो पक्ष भनेको यसको मौलिक कथा नै हो । हरेक गाउँमा भेटिने कथाले गाउँका समस्या मात्र होइन, शहरका समस्यालाई पनि छोएको छ । संवाद पनि चरित्र सुहाउँदा छन् । दोहोरो अर्थ लगाएर दर्शक हँसाउने चेष्टा गरेको छैन फिल्मले ।

फिल्मका तीन पक्ष बढी प्रभावकारी लाग्छन् – कथा, निर्देशन पक्ष र पार्श्वध्वनिसहितको संगीत ।

यी तिनै कुराले फिल्मलाई जीवन्त बनाउन मद्दत पु–याएका छन् । कथा र संवादका हिसाबले लेखक सुशील पौडेल प्रशंसाका भागीदार छन् । कैयन् लेखक पहिलो फिल्ममा समस्या हुन्छ भन्दै बहाना बनाउँछन् तर लेखक पौडेलले पहिलो फिल्मलाई लय गुमाउन दिएका छैनन् ।

कथालाई निर्देशक दिनेश राउतले सक्दो कलात्मक रुपमा पर्दामा उतार्न खोजेका छन् । त्यसमाथि विपिन र नम्रताको जोडीले पनि कथानकलाई बाँधिराख्छ ।

लेखकले फिल्मको मुख्य नायक बाबुराम पात्रलाई सोझो, इमान्दार र धेरै नपढेको सामाजिक पात्रका रुपमा देखाएका छन् । तर, मनोवैज्ञानिक दृष्टिले यही पात्रले नै समाजका शिक्षित वर्गले समेत स्वीकार्न नसकेका सामाजिक मूल्य–मान्यतालाई स्वीकार गरेको छ । उक्त पात्रका लागि सोचलाई स्थापित गरिदिन अर्की पात्र नारायणी उदाहरण बनेर आएकी छिन् । सोझो र इमान्दार देखिए पनि फिल्मका मुख्य पात्र बाबुराम र नारायणी समाजका योद्धा हुन् । नायकहरु हुन् ।

उनीहरु मायाका लागि मात्र लड्दैनन्, समाजका कुरीतिविरुद्ध पनि आवाज उठाउँछन् । सही र गलतको द्वन्द्वमार्फत सिंगो समाजलाई सन्देश दिएका छन् ती पात्रले ।

यद्यपि सिनेमा कतै कतै भने चुकेको छ । पात्रबीचको द्वन्द्वलाई लामो र फराकिलो बाटोबाट देखाउन खोजिएझैँ लाग्छ । क्षेत्रीकी छोरी नारायणी भनिरहे पनि उनको परिवारबीचको सम्बन्धलाई संवादमा मात्र सीमित गरिएको छ । पात्रहरु उही स्थान र परिवेशमा मात्र घुमिरहन्छन् । बसुन्धरा भुसालको घरबेटी भूमिका हेर्दा काठमाडौंमा यस्ता घरबेटी पनि हुन्छन् र? भन्ने प्रश्न समेत उठाइदिन्छ ।

सम्रगमा पारिवारिक ड्रामा रुचाउनेका लागि राम्रो ‘प्रसाद’ बनेको छ फिल्म । सिनेमाले जातीय विभेदविरुद्ध आवाज उठाउने क्रान्तिकारी कदम मात्र चालेको छैन, यसले जातीय विभेद अन्त्य भएको परिकल्पना समेत गरेको छ । विपिन र नम्रताका फ्यानहरुले यो छुटाउनै नहुने फिल्म हो । निर्देशक दिनेश राउत र लेखक सुशील पौडेलले यो फिल्ममार्फत भोलिको फिल्मी यात्राका लागि समेत बलियो सम्भावना छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?