तुइनबाटै तारिन्छ सवारी साधन

जाजरकोट । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट-डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । 

भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् । चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि धेरै समय लागेको छ । अहिले ट्र्याक मात्र खोलिएको यो सडकमा सहजै सवारीसाधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पावासी बताउँछन् । 

एक सय १८ किमी लम्बाइ रहेको यो सडकखण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गर्छ । विसं २०६५ मा निर्माण थालिएको यो सडकको विसं २०७५ कात्तिकमा मात्र ट्र्याक खुला गरिएको हो । जाजरकोट खण्डको रिम्ना-दल्लीसम्मको भूभाग हुँदै जाने कि रिम्ना-छेपारे वैरीताल हुँदै जाने भन्ने विषयमा विवाद हुँदा काम दुई वर्ष ढिला गरी काम शुरु भएको थियो । 

अन्तिममा जाजरकोटको रिम्ना हुँदै रुकुम पश्चिमको छेपारे, चिसापानीबाट जाजरकोटको वैरीताल जोडेर लैजाने सहमति भएपछि काम सञ्चालन भएको थियो । जाजरकोट सदरमुकामको जिरो प्वाइन्ट पासागाड-खलङ्गा र वासागाड-कालेगाउँ दोहोरो सडक निर्माण गर्नुका साथै पासागाड–खलङ्गा हुँदै कालेगाउँभन्दा पासागाड कालेगाउँ सडकखण्डको यात्रा गर्दा आधा घण्टा छिटो हुने भएकाले तल्लो सडक पनि निर्माण गरिएको थियो । 

जाजरकोट–डोल्पाको दुनैसम्म सडकको ट्र्याक खुला हुँदासम्म रुकुमको छेपारे, जाजरकोटको तल्लु, रुकुमको अनाह, जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणी, डोल्पाको खदाङ, धाउनी, त्रिपुराकोटलगायत ठाउँमा ट्र्याक खुुला भए पनि पुल निर्माण गर्न बाँकी भएकाले त्यस्ता स्थानमा सवारी साधान बदलेर यात्रा गर्नु परेको यात्रुको गुनासो छ । 

हिउँदयाममा मात्र यात्रा गर्न सकिने जाजरकोट–डोल्पा सडकको वर्षायाममा यातायात सञ्चालन गर्नका लागि दर्जनभन्दा बढी पुल निर्माण गरेमा मात्र सम्भव हुने डोल्पाकी सांसद सत्य पहाडीले बताए । भेरी नदी र नलगाड नदीमा ठूला आधा दर्जन स्थानमा पुल निर्माणका लागि छिटो पहल गर्नुपर्नेमा अहिलेसम्म बोलपत्र नै शुरु भएको छैन भने खमाउरी खोला, त्रात्रगाड, ताँसुगाड, जाजरकोटको तल्लु र रुकुमको गोतामकोट बीचमा रहेको भेरी नदीमा पुल र निर्माण हुन नै बाँकी छ । 

त्यस्तै रुकुमखण्डको पीपलचौरखोला, घेत्माखोलामा साना पुल निर्माण गर्न बाँकी भने डोल्पाको खदाङस्थित भेरी नदीमा ठूलो पुल र त्रिपुरकोट–जुफाल जोड्ने भेरी नदीमा ठूलो पुल निर्माणका लागि कुनै पहल भएकै छैन । दुनै हुँदै यो सडकखण्ड चीन र नेपालको सिमाना मरिम्लाबाट चीन जोड्ने लक्ष्य लिइएको छ भने कर्णाली प्रदेशको नेपालगञ्जबाट जमुनाह नाँका हुँदै भारतको रोपेडियालाई सिधा जोड्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?