शिल्पीमा ‘शकुन्तलाको औँठी’, कस्तो छ नाटक?

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक यतिबेला ‘शकुन्तलाको औँठी’ मञ्चन भइरहेको छ । साधारण मानिसको अति साधारण जीवनशैलीसँग सम्बन्धित अस्तित्ववादी यो नाटकले मान्छेका भावना र समाजलाई विषय बनाएको छ । भारतका प्रसिद्ध लेखक सुरेन्द्र वर्माले लेखेको यो नाटकले महिला र पुरुषको मानसिक सोचलाई पनि केलाएको छ ।

नाटक पुस सात गतेसम्म चल्नेछ ।

एक्टर्स स्टुडियोको प्रस्तुति रहेको यो नाटकलाई ‘मेटा थिएटर’ भनिएको छ । एउटा क्लासिकल टेस्टलाई अहिलेको समाजसँग तुलना गरेर समाजका पात्रको मनोविज्ञान र ती पात्रले पार्ने प्रभावलाई नाटकमार्फत केलाउन खोजिएको छ ।

उक्त नाटकमा एक्टर्स स्टुडियोमा अभिनय सिकेका विद्यार्थीहरुको अभिनय छ । नाटकलाई सुरज मल्लले  निर्देशन गरेका हुन् । नाटकमा स्वयम् सुरज मल्लको पनि मुख्य भूमिकामा अभिनय छ । यस्तै आशीष श्रेष्ठ, रञ्जना भट्टराई, प्रकृति रायमाझी, विकास न्यौपाने, दिया मास्के, सुनील खड्का, अनुप न्यौपाने लगायतका कलाकारले नाटकमा जोडदार अभिनय गरेका छन् ।

कस्तो छ नाटक?

नाटक ‘शकुन्तलाको औँठी’ ले समाजमा रहेका विभिन्न पात्रका माध्यमबाट समाज, जीवन दर्शन र व्यक्तिको मनोविज्ञानलाई केलाउने कोशिश गरेको छ । सुरज मल्ल निर्देशित यो नाटकमा कलाकारको अभिनय कुशल र कलात्मक छ । पात्र अनुसार कलाकारले नाटकका माध्यमबाट सामाजिक पात्रको नक्कल गर्छन् ।

शकुन्तलाको औँठीका लागि रिहर्सल चलिरहँदा कलाकारको जीवनमा देखिने विभिन्न आरोह अवरोह दर्शकले नजिकबाट नियाल्न पाउँछन् । नाटकले बेलाबेलामा दर्शकलाई हँसाउँछ । बेलाबेलामा पात्रसँगै भावनात्मक बनाउँछ ।

यस्तै नाटकमा बेलाबेलामा गीत पनि गाइन्छ । ती गीतमा जीवनको बोध भेटिन्छ । संगीत र नाटकको संयोजनले यो नाटक एक स्तरीय नाटक बनेको छ । नाटकले स–साना कुरालाई पनि कलात्मक रुपमा प्रस्तुत गरी जीवनका सुक्ष्म रुपलाई पनि केलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?