जब मेस्सीलाई नजिकबाट देखेँ, मोडलिङपछि इभेन्ट म्यानेजमेन्टमा सिफ्ट भएकी ममता

‘अरु खेलाडी छिर्दासम्म सामान्य देखिएको स्टेडियमको  वातावरण मेस्सी छिर्नासाथ एकाएक हौसियो । सबैजनाले एउटै शब्द मात्र दो-याइरहेका थिए ‘मेस्सी’ । मेरो आँखाभरि आँसु थियो त्यसैले मेस्सीलाई पनि धमिलो देखेँ । कसलाई सुनाउँ, के गरौं भयो तर, छेउमा कोही थिएन । एक्लै गएकी थिएँ । त्यो फिलिङ म बयान गर्नै सक्दिन । ड्रिम कम ट्रु ।’

हालै सम्पन्न लालिगा हेर्न बार्सिलोना पुगेकी नायिका, मोडल ममता प्रधानले आफ्नो अनुभव यसरी सुनाइन् । बोलिरहँदा उनका आँखा चम्किला देखिए, गाला मुस्कुरायो । मेस्सीलाई आफ्नो क्रश मान्ने उनको सपना थियो जीवनमा एकपटक जसरी पनि मेस्सीको गेम लाइभ हेर्ने । त्यही सपना पूरा गर्न उनी पुगिन् बार्सिलोना ।

भलै खेलका दौरान घाइते भएका मेस्सीले पूरै गेम खेल्न सकेनन् तर, जति समय उनी फिल्डमा थिए त्यो समय आफूले गेम भन्दा पनि उनैलाई हेरेर बिताएको ममताले सुनाइन् ।

‘मेस्सीलाई त त्यहाँ भगवान जस्तै गर्दा रहेछन्’, मुस्कुराउँदै उनी भन्छिन्, ‘त्यो माहोल, त्यो समय म कहिल्यै भुल्न सक्दिन ।’

कुनै जमानामा म्युजिक भिडियो, विज्ञापनमा देखिने ममता आजकल मिडियामा खासै देखा पर्दिनन् । 

एक जमाना थियो जब मिनिस्कर्ट लाएर फोटोशुट गर्ने वा फिल्म खेल्ने मोडल, अभिनेत्रीहरुलाई ‘बोल्ड’ मानिन्थ्यो । कतिले पब्लिसिटीकै लागि मिनिस्कर्ट लगाए भने कतिले लगाएको मिनिस्कर्टले सिनेमा जगतमा वर्षौंदेखि चलिआएको चलनलाई तोड्यो । सिनेमामा हिरोइनले पूरा लुगा लाउनुपर्छ, सुशील र घरेलु हुनुपर्छ भन्ने मानसिकतालाई अन्तैतिर मोड्यो । ममता प्रधान पनि तिनै ‘बोल्ड’ हिरोइनको सूचिमा पर्छिन् ।

उनले लगाएको स्कर्टले कस्तो प्रभाव पा-यो त्यो दर्शकले नै जानुन् तर, जे होस् उनी त्यसबेला ‘बोल्ड’ अवतारमा प्रस्तुत भइन् जब नेपाली सिनेमा यति फराकिलो र आधुनिक भइसकेको थिएन । यसरी आफ्नो इमेजलाई नै रिस्कमा राखेर फरक पहिरनमा देखिनु सहज नभएको उनी बताउँछिन् । 

‘अहिले जस्तो मोडर्न थिएन हाम्रो समाज’, अगाडि थप्छिन्,‘छोटो लुगा लगाएकाले नै विभिन्न आरोपहरुको सामना गर्नुप-यो’।

केही म्युजिक भिडियो, विज्ञापन र फिल्म खेलेपछि उनले यो क्षेत्रलाई चटक्कै छोडिन् । हामीले कारण सोध्यौं । उनले सटिक वाक्यमा आफ्नो उत्तर टुङ्ग्याइन्, ‘सोचेजस्तो नहुँदो रहेछ’ । 

उत्तर प्रष्ट्याउँदै थपिन्, ‘खेलेका कति फिल्म चलेनन् कति अझै रिलिज डेट पर्खेर थन्किरहेका छन्, दिक्क भएर अब अर्कै क्षेत्रतिर लाग्ने बारेमा सोचेँ ।’

यही वर्षदेखि इभेन्ट आयोजकका रुपमा काम गर्ने योजना बनाएको उनले बताइन् । ‘पहिल्यैदेखि एकदमै रहर थियो इभेन्टहरु आयोजना गर्ने’, उत्साहित हुँदै थपिन्, ‘यसपालि न्यू इयर इभ आयोजना गर्ने प्लान छ ।’  

अहिले उनी यसैको तयारीमा लागेकी छिन् । कुनै इभेन्टमा गएर यो राम्रो भएन, त्यो राम्रो भएन भन्दै त्यहाँको व्यवस्थापनमा कमजोरी देखाउन सजिलो हुन्छ तर, आफै व्यवस्थापन गर्न गाह्रो भन्ने कुरा बुझिसकेको उनी सुनाउँछिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?