नेपालगञ्ज-दिल्ली मैत्री बस सेवा सञ्चालन

राँझा । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताएका छन् । 

नेपालगञ्जमा नेपालगञ्ज-दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उहाँले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, नेपालस्थित भारतीय राजदुतावासका सहसचिव निरजकुमार, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगञ्जको दूरी घटाएको धारणा व्यक्त गरे ।

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिकट माध्यमबाट सर्वसाधारणलाई टिकट किन्ने व्यवस्था मिलाइने बताए ।

दुई वर्षदेखि पर्यटन परमिटका आधारमा बस सेवा सञ्चालन गर्दै आए पनि अब मैत्री बस सेवा सञ्चालनका लागि आधिकारिक अनुमति प्राप्त भएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताए ।

नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि बस सेवा सञ्चालन गर्न नेपाल सरकार र भारतको उत्तर प्रदेश यातायात परिवहन निगमबाट भेरी यातायात प्रालि सूचिकृत भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?