सरकारी जग्गा कब्जा गर्ने बीस जनाविरुद्ध मुद्दा

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । 

प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । 

प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी सङ्गठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि प्रहरीले सार्वजनिक मुद्दा दायर गरी दोषीलाई पक्राउ गर्न थालेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमीन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताए । 

उनका अनुसार पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत रहेका छन् । 

खोकाछाप्राका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर एक महीनाभित्र बनेका संरचना हटाएर लैजाने आदेश दिने त्यसका विपरीत रातिका बेला आएर घर तोड्ने र पक्राउ गर्ने कार्य गरिएको खोकाछाप्रा समितिका खेमराज ओझाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?