जग्गा किनेर प्रदेशको राजधानी बनाउन सकिन्न : सभामुख घर्ती

बुटवल । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ को राजधानी अन्य प्रदेशको भन्दा नमुना बनाइने तर त्यो काम हतारमा नहुने प्रष्ट पारेका छन् । प्रदेशको राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक रहेको उनले बताए ।  

राजधानीको विषयमा दीर्घकालिन सोचको साथमा अघि बढ्न र दलीय स्वार्थभन्दा माथि उठ्न उनले प्रदेश सांसदहरुलाइ आग्रह समेत गरे । सरकारले जग्गा किनेर राजधानी बनाउन नसक्ने भन्दै उनले खाली रहेको सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउनुपर्ने बताए । 

मंगलबार बुटवलमा आयोजित साक्षात्कारमा उनले भने, ‘राजधानी कहा भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्दछ,   राजधानी जहाँ भएपनि १०० वर्षसम्म का पुस्ताहरुको लागि पनि अनुकुल हुने खालको बनाउनुपर्छ ।’ 

प्रदेश नम्बर ५ को राजधानी सबैको पहुँच, सबैको अनुकुल हुनुपर्ने गरी बनाउने बताए । उनले सबैको इच्छा, नभएमा सबै व्यवस्थापन गर्न सकिने बताए । सिंगो नयाँ शहर नै बनाउने गरी राजधानी निर्माण गर्न सकिने उनको भनाइ छ । 

राजधनीको विषयमा भौगोलिक विकटता पनि महत्वपूर्ण रहेको भन्दै उनले कसैको घर, जग्गा, घडेर कहाँ छ भनेर  त्यहाँ राजधानी बन्नु पर्छ भन्ने तर्क गलत रहेको बताए । उनले रुपन्देहीका सबै जिम्मेवार निकायसँग बाँके र बर्दियाको क्षेत्रलाई समेत समेटेर  कार्य अगाडि बढाउनको लागि आग्रह गरे । 

विगतको अवस्था र अहिलेको अवस्था धेरै परिर्वतन आएको  र  अभावको बीचमा प्रदेश सरकारले काम गरेको भन्दै उनले अहिले पनि सोही प्रकृतिले काम गरेको बताए । ‘अहिलेको कामले कुनै पनि दलले चित्त दुखाउनुपर्ने अवस्था छैन,संघीयता कार्यान्वयनमा केही जटिलता रहेकाले पनि जनतामा संघीयता कार्यान्वयनमा केही समस्या आएको छ ।’ घर्तीले भने ।

संविधान कार्यान्वयन गर्ने दायित्व सबैको रहेको भन्दै उनले सबैको सहकार्यबाट संविधान  र संघीयता कार्यान्यवन गर्नुपर्ने बताए । उनले भने, ‘यो एकल प्रयासबाट सम्भव छैन, जनताको  ईच्छा अनुसारको संघीयता र सविधान पुर्णरुपमा कार्यान्वयन गर्नमा सबैको  साथ र सहयोग आवश्यक छ  ।’

संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको नाम लुम्बिनी  र प्रदेश अहिलेकै ठांउमा उपयुक्त हुने बताए । अहिले राजधानी लगायतको विषयमा उनले बेकारको खिचडी पाकिरहेको तर्क गरे । सबै जिल्लाको प्रतिनिधित्व भन्दै हिड्ने समितिमा सबै जिल्लाका प्रतिनिधित्व खोज्ने बहानामा ढिलाइ गरिएको बताए ।

उनले समस्या समाधान गर्ने हो भने सच्चा इमान्दारीता देखाई, ढिलाई गर्न नहुने बताए । ‘राजधानी र नामको विषयमा तुरुन्त टुंगाउनुपर्छ,हामीले राजधानी रुपन्देही र लुम्बिनी नामाकरणका लागि संसद अबरुद्ध पनि गरेका थियौं,अहिलेपनि हामी त्यही चाहन्छौं’।

‘दुइतिहाइ बहुमत, अल्पमत भन्दा सजिलो पाटो राजनीतिक सहमति हो, टुंगो लगाऔं ।’ उनले भने । 

संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानीको विषयमा सांसदहरु चुकेको बताए ।  रुपन्देहीमा भन्सार, विमानस्थल, सडक, पूर्वाधारहरु, अस्पताल सबै भएको कारण  राजधानीका लागि रुपन्देही तयार रहेको बताए । उनले भने, ‘रुपन्देही बाहेकको विकल्प छैन, भगवान गौतमबुद्धको नाममा लुम्बिनी प्रदेश,रुपन्देही राजधानी राख्नुपनैपर्छ नत्र हामी आन्दोलन थाल्छौं’ ।

उनले  रुपन्देही नै राजधानी गराउनका लागि पार्टीको निर्णय भएको समेत प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?