हेलचेक्राइले निम्त्याएको भयावह परिणाम : दृष्टिविहीन शिक्षक दम्पत्तीले यसरी जोडे अथाह खुसी

एउटा लोभलाग्दो सहयात्रा

ललितपुर महालक्ष्मी नगरपालिकामा एक दृष्टिविहीन शिक्षक दम्पत्ती बस्छन् । तेजबहादुर रोका र लक्ष्मी रोका ।

दुवैले ३ वर्षको उमेरमा आँखाको ज्योति गुमाए । तेजबहादुरले आँखाको इन्फेक्सनका कारण र लक्ष्मीले दादुराका कारण । धामीझाँक्रीलाई नै ‘डाक्टर’ मान्ने त्यो समयमा परिवारले सामान्य स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेकै कारण आफूले यति भयंकर परिणाम खेप्नुपरेको उनीहरु बताउँछन् । ‘अस्पताल लानुको सट्टा धामिकामा लगियो,’ अस्पताल लगेको भए यस्तो अवस्था नआउने सुनाउँदै रोका दम्पत्ती थप्छन्, ‘समयमै अस्पताल लगेको भए हामी दृष्टिविहीन हुने थिएनौं ।’


ADVERTISEMENT

आँखा देख्न छोड्दा निकै सानो उमेरको भएकाले त्यसअघि देखेका दृश्य उनीहरुलाई याद छैन । यद्यपी, दुवैले आवाज सुनेकै भरमा वा महसुस गरेको आधारमा आफ्नै तरिकाले मस्तिष्कमा हरेक वस्तुको चित्र कोर्छन् जसरी एक अर्काको कोरेका छन् । 

तेजबहादुरको कल्पनामा लक्ष्मी गहुँगोरी अनि चिटिक्क परेकी छिन्, न होची न अग्ली । उनलाई लक्ष्मी संसारकै सबैभन्दा सुन्दर छिन् जस्तो लाग्ने उनले बताए । त्यस्तै लक्ष्मीलाई तेज कस्तो हुनुहुन्छ जस्तो लाग्छ भन्ने प्रश्न गर्दा भन्छिन्, ‘हिस्सी परेको ह्यान्डसम’ हुनुहुन्छ जस्तो लाग्छ’ ।

जसरी उनीहरु एकअर्कालाई सुन्दर ठान्छन् त्यस्तै उनीहरुका लागि हरेक मानिस सुन्दर छन् अनि सबै वस्तु उत्तिकै राम्रा । भन्छन्, ‘आँखा नदेख्नुको छुट्टै विशेषता छ, हाम्रो नजरमा सबैजना राम्रा, सबैजना सुन्दर ।’

सबैलाई फूलको नजरले हेर्ने यी दम्पत्तीको २४ वर्ष लामो दाम्पत्य जीवनमा कहिलेकाहीँ ठाकठाक ठुकठुक परेपनि ठूलो झगडा कहिल्यै नपरेको उनीहरु बताउँछन् । ‘यतिका वर्षसम्म हाँसीखुसी बाँचेका छौं’, आफ्नो पारस्परिक दाम्पत्य जीवनको शुत्र खुलाउँदै उनीहरु भन्छन्, ‘किनभने हाम्रो सोच मिल्छ, दुवैजना कर्ममा विश्वास गर्छौं।’

हुन पनि उनीहरुले कर्मले नै भाग्य लेखेका छन् । शारीरिक अशक्तताको आडमा माग्न बस्ने कैयौं शारिरीक रुपमा अशक्तहरुका  निमित्त उदाहरण बनेका छन् । शारीरिक अशक्तताले भविष्यमा आफूलाई अरुप्रति निर्भर बनाउँछ भन्ने बुझेर नै दुवैले पढाइलाई प्राथमिकता दिए र त्यसलाई निरन्तरता दिन सफल भए ।

पढ्नकै लागि घर छोडेको बताउँदै तेजबहादुर सुनाउँछन्, ‘म त पढ्नकै लागि बुबासँग झगडा गरेर शहर छिरेको । कम्तीमा पनि एसएलसी गरेपछि जागिर पाउँछु भन्नेमा ढुक्क थिएँ ।’ 

घरबाट हिँडेपछि उनी धरानस्थित दृष्टिविहीनहरुको स्कुल ज्ञानचक्षु विद्यालय पुगे । भलै उनी त्यसअघि धरान आएका थएनन् तर, ‘यहाँ यस्तो खालको स्कुल छ’ भनेर सुनेकै भरमा सोध्दै, खोज्दै त्यहाँ पुगेको उनी बताउँछन् ।

तेजबहादुरले सोही विद्यालयबाट एसएलसी दिएका हुन् । लक्ष्मी पनि ज्ञानचक्षुमै पढ्थिन् तर, तेज भन्दा केही ब्याच सिनियर । उनलाई भने परिवारले नै विद्यालयमा भर्ना गरिदिएका थिए । 

चिनजान विद्यालयमै भए तापनि एक अर्कासँग मनपेट साट्ने अवसर पाएका थिएनन् उनीहरुले । त्यो अवसर क्याम्पसको देउसीभैलो कार्यक्रमले जुराइदिएको तेजले बताए । ‘देउसी कार्यक्रममा गाउने केटी नै कोही भएन त्यसैले लक्ष्मीलाई समूहमा राखियो’, आफ्ना पुराना दिन याद गरेर मुस्कुराउँदै उनले थपे,‘मेरो त त्यही बेला लभ परिसक्या थियो नि !’

तेजको ठट्यौली कुरा सुनेर अलि लजाउँदै हल्का मुस्कुराउँछिन् लक्ष्मी । थप्छिन्, ‘तर, मलाई त विवाह हुन्छ जस्तो लागेको थिएन, उनले अगाडि थपिन्, ‘दुवै तिरको परिवारको कुरा मिलेपछि मात्र मैले प्रस्ताव स्वीकारेकी हुँ ।’

दुवै शिक्षित र कर्मशील भएकाले परिवार पनि उनीहरु एकअर्काको असल सहयात्री बन्छन् भन्ने कुरामा विश्वस्त थिए । अन्ततः विवाह भयो । अहिले वैवाहिक जीवन ठ्याक्कै २४ वर्षको भयो । आफ्नै कमाइमा बाँच्न पाउँदा यी दम्पत्ती दङ्ग छन् । भन्छन्, ‘न घरपरिवारबाट सम्पत्ति लिएका छौं न त कसैको अगाडि हात फैलाएर माग्नुपरेको छ । यसैमा सन्तुष्ट छौं ।’

आफै आँखा नदेखे पनि उनीहरु कैयौं विद्यार्थीलाई ज्ञानको ज्योति बाँडिरहेका छन् । २१ वर्षदेखि ।

दुवैजना विगत २१ वर्षदेखि शिक्षण पेशामा आवद्ध छन् तर, भिन्नभिन्न स्कुलमा पढाउँछन् । तेजबहादुर महालक्ष्मी नगरपालिकाको सिद्धिमंगल माध्यमिक विद्यालयमा र लक्ष्मी महालक्ष्मी नगरपालिकाकै भानोदय प्राविमा ।

बिहानै उठेर आधिबाटोसम्म सँगै आउँछन् । आ–आफ्नो स्कुल जान्छन् । स्कुल विदा भएपछि छुट्टिएकै ठाउँमा भेट्छन् अनि सँगै घर फर्किन्छन् । 

उनीहरुको एक छोरा पनि छन्, सजल रोका । सजल अहिले १२ कक्षामा कम्प्युटर साइन्स पढ्दैछन् । त्यसैले, आफ्ना लागि मात्र नभएर अब त छोराको भविष्यका लागि पनि आफूहरुले कर्म गर्नैपर्ने रोका दम्पत्ती बताउँछन् ।  

उनीहरुकोे एउटै मात्र इच्छा छ ‘छोरालाई राम्रो शिक्षादिक्षा दिने’ ।

सजलसँग तेजिलो दृष्टि छ । उनले आमाबुबालाई गरेको सम्मान देख्दा यस्तो लाग्छ उनी आधुनिक युगका ‘श्रवण’ हुन् । रामायणमा जसरी श्रवणकुमार आफ्ना दृष्टिीविहीन बाबुआमालाई बोकेरै तीर्थयात्रा गराउन हिँड्छन् त्यस्तै सजल भ्याएसम्म आफ्ना बाबुआमालाई डो-याएर कहिले पशुपति, कहिले पार्क पुग्छन् । कलेज जानुअघि र फर्किएपछि घरका काममा आमाबाबालाई सघाउँछन् ।घरको आर्थिक अवस्था बुझेर नै अनावश्यक मागहरु राख्दैनन् । उनको पनि एउटै उद्देश्य छ ,‘आमाबाबालाई खुसी राख्ने ।’

यसरी रोका परिवारले एक अर्काको खुसीमा नै आफ्नो खुसी खोजिरहेका छन् । पाइरहेका छन् । 

Leave a comment