पाँच पटकसम्म मापसेमा परेका ४२३ चालकको लाइसेन्स खारेज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४ सय २३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

महाशाखाले पटक/पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो ।

महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो ।

‘खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।’

आर्थिक वर्ष २०७०/७१ मा ५२, आव २०७१/७२ मा १२२, २०७२/७३ मा १३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?