एकअर्काको तारिफमा सकियो ‘वीर विक्रम २’ को गीत रिलिज कार्यक्रम

काठमाडौं । निर्देशक मिलन चाम्सले बनाएका फिल्मलाई समीक्षकले खासै तारिफ गर्दैनन् । फिल्ममा लोजिक खोज्ने दर्शकलाई उनका फिल्मले तान्दैनन् । तर, मनोरञ्जन खोज्ने दर्शकमा केही दर्शकले भने उनका फिल्म मन पराएका छन् । मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘ब्लाइन्ड रक्स’ पत्तासाफ भएपनि पछिल्ला फिल्म ‘लिलिबिली’ र ‘बोबी’ ले भने ठीकै चर्चा कमाएका थिए । व्यापार पनि औसत गरेका थिए ।

मिलन चाम्सलाई चिनाउने फिल्म ‘वीर विक्रम’ हो । यो फिल्ममा खासै त्यस्तो कथा नभए पनि चाम्सले निर्देशन गरेका फिल्ममध्ये यो फिल्मलाई चाहिँ राम्रै मानिन्छ । यतिबेला उनी सोही फिल्मको नाम सापटी लिएर ‘वीर विक्रम २’ निर्देशन गरेका छन् ।

बिहीवार काठमाडौंमा सोही फिल्मको गीत रिलिज कार्यक्रम थियो । उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकार पल शाह र वर्षा शिवाकोटीको उपस्थिति थियो भने नाजिर हुसेन, बुद्धि तामाङ लगायत अन्य कलाकार आएनन् । यता गीतका कोरियोग्राफर कविराज गहतराज, सिनेमाटोग्राफर सुदीप बराल, निर्देशक मिलन चाम्स, लेखक प्रदीप भारद्वाज उपस्थित थिए । कार्यक्रममा जब कलाकारलाई बोल्नका लागि अनुरोध गरियो । सबै कलाकारले एकले अर्काको तारिफ गर्न थाले ।

निर्देशक मिलन चाम्सले आफू वर्षा शिवाकोटीको फ्यान भएको र पल शाहको काम देखेर पललाई स्टार मान्न थालेको बताए । उनले भने, ‘पललाई मैले यो क्षेत्रमा आउने बेलाभन्दा पहिलेदेखि नै चिनेको थिएँ, तर मैले उसलाई स्टार मान्दिनथेँ, यो फिल्ममा सँगै काम गरेपछि र उसको काम देखेपछि लाग्यो, ऊ मेरा लागि सधै स्टार हो ।’, निर्देशकले भने ।

यता पल शाहले पनि वर्षा शिवाकोटी, निर्देशक चाम्स, कोरियोग्राफर कविराज र छायांकार सुदीप बरालको कामको खुलेरै तारिफ गरे । वर्षा शिवाकोटीले पनि निर्माण टिमको तारिफ गर्न बाँकी राखिनन् ।

आज रिलिज भएको गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर सुन्न सकिन्छ भने गीतका शब्दलाई कुसुम गजमेर र तुलसी घिमिरेले लेखेका हुन् । यो गीत फिल्म ‘देउता’ को ‘पिरतीको मीठो तिर्सना’ गीतको रिमेक हो ।

चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटीको मुख्य भूमिका छ । ‘वीर विक्रम’ मा दयाहाङ राई र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?