चिसोमा बच्चालाई संक्रमण हुनबाट कसरी जोगाउने?

काठमाडौं । मौसम परिवर्तन भएसँगै बालबालिकामा रुघाखोकी र भाइरल इन्फेक्सनको समस्या देखिन थाल्छ । बालबालिकाको इम्युन सिस्टम कमजोर हुनाले रुघाखोकीको चपेटामा उनीहरु सजिलै आउन सक्छन् । 

सामान्य रुघाखोकी लाग्ना साथ अभिभावक बालबालिकालाई औषधि दिन हतारिन्छन् । तर औषधि दिनुभन्दा अगाडि आफूले कुन औषधि दिँदै छु, यसको बेला भएको छ कि छैन जस्ता कुरामा ध्यान दिनु जरुरी छ । 

यी सावधानी उपनाउन सकिन्छ  :-

उमेरअनुसार औषधि 
बालबालिकालाई उमेरअनुसार नै औषधि दिनु स्वस्थकर हुन्छ । त्यस्तै, बालबालिकालाई लागेको रोगको लक्षण पहिचान गरेर सोहीअनुसारको औषधि दिनु अत्यन्त आवश्यक छ । 

अतिरिक्त औषधि दिनाले साइड इफेक्ट हुनुका साथै बालबालिकाको प्रतिरोधक क्षमतामा पनि यसले ह्रास ल्याउन सक्छ । 

उचित मात्रा 
कतिपय अभिभावकले बालबालिकालाई औषधि खुवाउँदा बिर्कोबाट अथवा सोझै औषधिको सिसीबाट मात्रा विचार नगरी खुवाउने गर्छन् । यो गलत तरिका हो ।

बालबालिकालाई औषधि खुवाउँदा सही मापन गरेर खुवाउनुपर्छ । यसको लागि चम्चा अथवा स्केल भएको बिर्कोको प्रयोग गर्न सकिन्छ । 

एस्पिरिन र निद्राको औषधि नदिऔं 
कहिले पनि २० वर्षभन्दा कम उमेरका बिरामीलाई एस्पिरिन अथवा एस्पिरिनयुक्त औषधि दिनु हुँदैन । त्यस्तै, निद्राको लागि एन्टिथिस्टेमाइन्स जस्तै डिमेट्याप, बेनाड्रिल आदि दिनुहुँदैन । 

एकै समयमा भिन्न औषधि नखुवाऔं 
त्यस्तै, एकै समयमा एकभन्दा बढी औषधि मिलाएर खुवाउनु हुँदैन । एकभन्दा बढी औषधि खुवाउनुपरेको अवस्थामा केही समयको अन्तरालमा ती औषधि दिनु राम्रो हुन्छ । 

बालबालिकालाई रुघाखोकी लागेमा यस्ता व्यवहार अपनाऔं  

बालबालिकाले ठूलाबडालाई देखेर नै हरेक कुरा सिक्छन् । त्यसैले बालबालिकालाई स्वस्थ राख्न आफूले पनि निम्नलिखित व्यवहार अपनाऔं र बालबालिकालाई पनि सकेसम्म गर्न लगाऔं :-

-रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।

-बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५, १० मिनेट राख्ने ।

-सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।

-अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने ।

-अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने ।

-एक हातको बूढीऔंलाले अर्को हातका सबै औंलाको टुप्पोलाई दसपटक पालैपालो अँठ्याउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।

-दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने ।

-गहन आरामको अनुभव गर्ने । कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?