कराँते खेलाडी सिमोन ‘लक्ष्मणरेखा’ कोर्दै, भन्छन्, ‘सेल्फ डिफेन्स’को प्रशिक्षणले महिला हिंसा न्यूनीकरण हुनेछ

हाम्रो देशमा खेलाडीहरुलाई खेल्ने वातावरण भएन, सम्मान कमाएपनि पैसा कमाउन गाह्रो छ भन्ने जस्ता चौतर्फी गुनासो आइरहँदा सिमन भन्छन्, ‘नेपालमा जन्मिएर मेस्सी, रोनाल्डो जस्तो सम्मान चाहनु गलत हो, खेलाडीहरुले पनि आफ्नो धरातल बुझ्न जरुरी छ’। 

सिमोन खत्री आफै पनि खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कराँते प्रतियोगितामा भाग लिइसकेका छन् । उनका बुबा पनि कुनै जमानाका कराँते खेलाडी हुन् जो हाल नेपाल कराँते महासंघका महासचिवका रुपमा कार्यरत छन् । पारिवारिक माहोल नै खेलकुदमय भएकाले उनमा सानैदेखि खेलकुदप्रति विशेष लगाव भएको उनी बताउँछन् ।

तर, खेलकुदबाटै पैसा कमाउँछु भन्ने महत्त्वकांक्षा भने उनमा कहिल्यै पलाएन । ‘मलाई खेलसँग लगाव थियो तर, यसैबाट अरु देशका खेलाडीजस्तै अर्बपति हुन्छु भन्ने सोच चाहिँ कहिल्यै आएन ।’ उनी भन्छन् । 

त्यसैले खेलजीवन सँगसँगै उनले पर्यटन क्षेत्रमा पनि हात हालेका छन् । खेललाई ‘प्यासन’ र ‘ट्राभल एण्ड टुरिजम’ लाई ‘पेशा’ का रुपमा लिएर अघि बढिरहेका सिमोनले दुवै क्षेत्रमा उत्तिकै मजा लुटिरहेका छन् ।

परिस्थितिका कारण केही समय खेल क्षेत्रबाट विश्राम लिएतापनि आजभोलि उनमा अन्तराष्ट्रिय स्तरका खेलमा प्रतिस्पर्धा गर्ने उत्सुकता जागेको उनले सुनाए । आफ्नो खेलले समाजमा केही फाइदा पुगोस् भन्ने उद्देश्यले अबको दिनमा उनी ‘सेल्फ डिफेन्स’को प्रशिक्षण कक्षा सञ्चालन गर्ने योजनामा छन् ।

‘कराँते खेल भनेकै सेल्फ डिफेन्ससँग सम्बन्धित हो’, उनी थप्छन्, ‘बलात्कार, यौन दुव्र्यवहार जस्ता घटनाहरु दिनप्रतिदिन बढिरहेका बेला हामीले आफ्नो खेललाई सामाजिक सेवामा सदुपयोग गर्न सक्छौं नि ।’

आफ्नो ‘सेल्फ डिफेन्स’ कक्षालाई उनले ‘लक्ष्मणरेखा’ भनेर नामाकरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?