‘गरुड पुराण’ की नायिका भन्छिन्, ‘अभिनय गर्ने भनेको टिकटक चलाएजस्तो होइन रहेछ’

काठमाडौं । आउँदो माघ ४ गतेबाट रिलिज हुने चलचित्रमा नायिका छिन् प्रियंका सिंह । उनी यही फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन् । ट्रेलरका आधारमा हेर्ने हो भने उनको अभिनय त्यति कमजोर देखिन्न । र, उनी फिल्ममा अभिनेता कर्माको अपोजिटमा छिन् ।

फिल्म रिलिजको मिति नजिकिँदै गर्दा भेट भएकी प्रियंकाले चलचित्रमा अभिनय गर्नु कोठामा बसेर म्युजिकल्ली या टिकटकमा अभिनय गरेजस्तो सजिलो नभएको धारणा राखेकी छिन् ।

‘यो फिल्म मेरो पहिलो फिल्म पनि हो, टिम राम्रो परेकाले गर्दा काम गर्न सहज त भयो, तर अभिनय गाह्रो काम रहेछ’, उनले पत्रकारसँगको भेटमा भनिन्, ‘फिल्ममा अभिनय गर्नु सजिलो छैन रैछ, ठूलो टिमसँग काम गर्नुपर्छ, कहिले त अडियन्सकै अगाडि पनि अभिनय गर्नुपर्ने हुन्छ ।’

पहिलो फिल्मको अभिनय सुनाउँदै उनले सेटमा रमाइलो हुने गरेको र फिल्मको भूमिका निभाउन पाउँदा नयाँ अनुभव लिएको पनि उनले बताइन् । उनले भनिन्, ‘वास्तविकतामा म त्यति नबोल्ने स्वभावकी छु, तर फिल्ममा भने मेरो एकदमै बोल्ने युवतीको भूमिकामा छु, दर्शकले यो भूमिका रुचाउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । कसेम नेपालको कथा रहेको यो फिल्ममा आकाश बरालका संवाद, उज्जवल ढकालको सम्पादन, अजित प्रजापति र अशोक गौतमको लगानी छ ।

चलचित्रमा प्रियंकासँगै, कर्मा, कामेश्वर चौरासिया, प्रविण खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, कमल प्यासी देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?