हवाई रुट थप्ने नेपालको प्रस्तावप्रति भारत सकारात्मक : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय आकाश हुँदै हवाई रुट थप्ने नेपालको प्रस्तावप्रति भारत सकारात्मक देखिएको बताएका छन् । 

भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय आकाश हुँदै हवाइ रुट थप्ने नेपालको प्रस्तावमा स्वराजले सकारात्मक जवाफ दिएको बताए । 

तर, अन्तर्राष्ट्रिय उडान भर्दा भारतीय आकाश मार्गमा नेपालले कहिलेबाट नयाँ रूट पाउँछ भन्ने प्रस्टतः दुवै पक्षले जानकारी दिएका छैनन् । 

साथै भारतले एक सय रुपैयाँभन्दा माथिका भारुको प्रयोगमा नेपालले लगाएको प्रतिबन्धबारे चासो राखेको थियो भने जवाफमा नेपाली पक्षले नयाँ नोटका सम्बन्धमा भारतको प्रतिबद्धता मागेको छ । 

भारतको विदेश मन्त्रालयले नीतिगत सुझाव संकलनका लागि गर्ने राइसिना डायलगको चौथो संस्करणमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए । उनले अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा आयोजित राइसिना डायलगमा सम्बोधन गरेका थिए ।

नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवालीले भारतीय समकक्षी स्वराजबीच बहुपक्षीय परियोजनाहरुलाई तिब्रता दिने विषयमा समेत छलफल गरेका थिए । 

त्यस्तै परराष्ट्रमन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणका समयमा भएका सहमति तथा सम्झौता कार्यान्वयनबारे समेत कुरा भएको बताए ।

यस्तै परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त संयन्त्रको पाँचौ बैठक छिट्टै काठमाडौंमा बस्ने पनि सहमति भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?