काठमाडौं । आज २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर हर्षोल्लासका साथ पृथ्वी जयन्ती मनाइएको छ ।
हरेक वर्ष पुस २७ गते पृथ्वी नारायण शाहको जन्म जयन्ती मानाइँदै आइएको छ । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन भने दिइदै आएको सार्वजनिक बिदासमेत कटौती गरेको छ ।
गोर्खाली राजा नरभुपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यका रुपमा छरिएर रहेको नेपाललाई एकीकृत गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई ‘राष्ट्रनिर्माता’को उपमा समेत दिइएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लोकपथ टेलिभिजनले पृथ्वीनारायण शाहलाई कसरी सम्झनु हुन्छ ? पृथ्वीनारायण शाहबाट वर्तमान सरकारले के सिक्ने ? भनेर सर्वसाधारणहरुलाई प्रश्न गरेको थियो । यी प्रश्नमा सर्वसाधारणले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
सबैलाई एकै बनाउनको लागि पृथ्वीनारायण शाहको ठूलो योगदान रहेकाले वर्तमान सरकारले सबै जात, भाषा, संस्कृति, समुदमयलाई समेट्नु पर्ने सुझाव दिएका छन् ।
पृथ्वी जयन्तीको अवसरमा आयोजना भएको कार्यक्रममा राष्ट्र प्रमुखको उपस्थिति भएतापनि सरकार प्रमुखको उपस्थिति थिएन । यस विषयमा पनि सर्वसाधारण आक्रोशित देखिए ।
नेपाल भनेर गौरव गर्ने अवसर पृथ्वीनारायण शाहको देन भएकाले अबका दिनहरुमा उनको सम्मानको लागि उचित कदम, निर्णय र काम गर्दै लैजानको लागि पनि सर्वसाधारणहरुले सुझाव दिएका छन् । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान सम्माननीय भएकाले ‘दिव्योपदेश’मा लेखिएका कुराहरुलाई वर्तमान सरकारले मान्नु पर्ने भनाइहरु पनि आएका छन् ।
लोकपथकर्मी एलिसा अर्यालले बटुलेको आजको भ्वाइस अफ यूथ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया