फिल्ममा फरक भूमिका निभाउनु मेरो ‘स्टाइल’ जस्तै भयो: विपिन कार्की

काठमाडौं । केही वर्षअघिसम्म विपिन कार्की फिल्ममा फाटफुट देखिन्थे । नाटकमा राम्रै जमेका विपिनले फिल्ममा स–साना भूमिकामै चित्त बुझाइरहेका थिए । जब दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘पशुपतिप्रसाद’ मा भष्मे डनको भूमिकामा देखिए, त्यसपछि धेरैको नजरमा लोकप्रिय बने उनी । उक्त फिल्म व्यावसायिक रुपमा समेत सफल भयो । विपिनको मात्र होइन, सम्रग फिल्म र कलाकारको उत्तिकै तारिफ भयो ।

अहिले पनि हुन्छ ।

उनले अन्य फिल्ममा पनि फरक–फरक भूमिका निभाएका छन् । ती फिल्ममा विपिनका क्यारेक्टर रुचाइएका पनि छन् । चाहे त्यो ‘लूट २’ होस्, या हालै रिलिज भएको फिल्म ‘प्रसाद’ ।

आफ्ना भिन्दै भूमिकामध्ये विपिनलाई भने फिल्म ‘हरि’ मा निभाएको बुबाको भूमिका हो । उक्त फिल्मले हलसम्म दर्शक तान्न नसके पनि हेरेका दर्शकले विपिनको अभिनयको तारिफ खुलेरै गरेका हुन् ।

‘यो फिल्ममा मैले हरि पात्रको बुबाको भूमिका निभाएको छु, त्यो भूमिका अहिलेसम्मका भूमिकामध्ये आफैलाई पनि धेरै मन परेको भूमिका हो ।’, विपिनले सुनाए ।

यद्यपि दर्शकले ‘हरि’ लाई खासै रुचाएनन् । उनलाई धेरैले ‘भष्मे डन’ भनेरै चिन्छन् ।

नाटकमा समेत विपिनले स–साना भूमिका निभाउने गर्थे । पछि उनले मुख्य भूमिकामा नाटकमा जम्न थाले । 

सिनेमाको यात्रा पनि ठ्याक्कै यस्तै छ उनको । पहिले स–साना भूमिका, अहिले मुख्य भूमिका ।

चलचित्र ‘प्रसाद’ मा बाबुरामको भूमिका निभाएर पछिल्लो समय चर्चाको घेरामा रहेका विपिन अब ‘गोपी’ बनेर पर्दामा देखिँदैछन् । यो फिल्ममा उनी गाईपालन गर्ने एक किसानको चरित्र निर्वाह गरेका छन् ।

‘म हरेक फिल्ममा आफूलाई फरक बनाउन प्रयास गर्छु, यो फिल्ममा मलाई गोपीकै रुपमा देख्नुहुनेछ ।’, विपिनले सुनाए । उनका अनुसार यो फिल्ममा उनको प्रस्तुति अरु फिल्मको भन्दा पृथक छ ।

पात्र तयार पार्न समय लाग्छ

विपिन कार्की छनोट गरेर फिल्म खेल्ने अभिनेतामा पर्छन् । आफूले छानेका फिल्ममा पनि आफूले अभिनय गर्न सक्छु भन्ने लाग्यो भने मात्र अभिनयका लागि तयार हुन्छन् ।

‘म हरेक फिल्ममा काम गर्नु पहिले उक्त भूमिकामा नयाँपन दिन सक्छु कि, सक्दैन भन्ने कुरामा ख्याल गर्छु, फिल्मको भूमिकालाई स्किृप्ट पढेपछि आफैले तयार पार्छु’, विपिनले सुनाए, ‘क्यारेक्टर एकैपटक बन्ने पनि होइन, पात्रको मनोविज्ञानमा आफ्नो आइडिया प्रयोग गर्छु, निर्देशकसँग सल्लाह गरेर नै आफ्नो भूमिका पाइनल गर्छु ।’

एउटा भूमिकाका लागि आफूलाई तीन महिनासम्म लाग्ने गरेको उनले सुनाए । सोही कारण पनि विपिन एकैसाथ धेरै फिल्ममा काम गर्दैनन् । काम गरेका फिल्ममा आफूलाई हाइलाइटमा राख्छन् ।

‘म स्किृप्ट पढेपछि पात्रका बारेमा सोच्न थाल्छु, उक्त भूमिका निभाउन सक्छुजस्तो लाग्यो भने क्यारेक्टरको विकास गर्छु ।’, उनले थपे ।

फिल्म ‘जात्रा’ मा फडिन्द्रको भूमिकामा देखिएका विपिनको यो क्यारेक्टर पनि उत्तिकै लोकप्रिय छ । यो फिल्मको दोस्रो सिक्वेल निर्माणकै क्रममा छ । ‘जात्रा’अघि विपिनलाई ‘गोपी’ को भूमिकामा देखिँदैछ ।

‘शुरुमा त ‘गोपी’ मा काम गर्छु भन्ने थिएन, अन्तिम समयसम्म पनि काम नगर्ने मनस्थिति थियो, किनकि समय कम थियो,’ विपिनले अगाडि थपे, ‘एक बसाइमा स्किृप्ट पढिसकेपछि क्यारेक्टरलाई न्याय दिन सक्छु भन्नेमा कन्भिन्स भएँ, पछि काम गर्न तयार भएँ ।’

स्किृप्टमा कमी कमजोरी हुँदै नभएका होइनन् । तर, उनले आफूलाई आएका स्किृप्टमध्ये यो स्किृप्टलाई पनि राम्रै ठाने ।

उनका अनुसार फिल्ममा आम किसानको कथा छ, जो दूध बेचेर विदेशको विकल्प खोज्छ । फिल्ममा पशु र मान्छेबीचको सम्बन्ध पनि देखाइएको छ । यस अर्थमा पनि फिल्ममा विपिनले निभाएको किसानको भूमिका अन्य फिल्ममा भन्दा फरक भएको अनुमान गर्न सकिन्छ ।

‘मलाई हरेक फिल्ममा फरक भूमिका निभाउन किन पनि मन लाग्छ भने दर्शकले मबाट यस्तै अपेक्षा गर्नुहुन्छ, यो मेरो आफ्नै स्टाइलजस्तो भयो ।’, उनले बताए ।

थियटरको माध्यम हुँदै चलचित्र क्षेत्रमा तानिएका अभिनेता कार्की नाटक र चलचित्र दुवै फरक विधा भएको धारणा राख्छन् । उनका अनुुसार नाटक सिकेर फिल्म जानिने होइन र फिल्ममा अभिनय गर्न जान्दैमा नाटक खेल्न सकिने भन्ने पनि होइन । ‘फिल्म र नाटकमा गर्ने त अभिनय नै हो, तर दुवैमा काम गर्ने शैली फरक हुन्छ, फिल्ममा टेक्निकल्ली काम गर्न केही गाह्रो छ, नाटकमा पनि पर्दा पछाडि गरिने रमाइलो कहाँ कम छ र?’, उनले अगाडि थपे, ‘अँ, फिल्ममा पनि कहिलेकाहीँ पचासौँ टेक खानुपर्छ, त्यसमा पनि रमाइलो छ नि, आफैले गरेको काम पछि झन् राम्रो भएको हुन्छ ।’

फिल्ममा पनि रिहर्सलको ट्रेन्ड

एउटा नाटकका लागि नाटक टिमले तीन महिनासम्म अभ्यास गर्छन् । तर करोडौँको लगानीमा बन्ने फिल्ममा निर्माताले खासै अभ्यास गरेको पाइँदैन । विपिनको बुझाइमा भने पछिल्ला केही वर्षयता फिल्ममेकरले पनि फिल्मको रिहर्सल गर्न लागेका छन् । ‘अहिले त धेरै फिल्म पहिले रिहर्सल गरेर मात्र फ्लोरमा जाने गरेको पाएको छु, यो राम्रो पनि हो, यसले फिल्मलाई अझ परिष्कृत बनाउन भूमिका खेल्छ ।’

फिल्म ‘गोपी’ मा किसानको भूमिकामा देखिएका विपिन कुनै बेला स्कूल पढ्दा गाईको दूध बेच्न समेत भ्याउँथे । स्कूल पढ्दा दूध पु–याएर मात्र आफू स्कूल जाने गरेको विपिन स्मरण गर्दै सुनाए ।

आफूले घरमा गरेकाले फिल्ममा अभिनय गर्दा पनि ‘गरिसकेको काम’ भएकाले अझै सहज भएको उनले सुनाए । ‘मैले पहिले पनि गोठको काम गरेको हो, त्यही कारणले पनि होला, फिल्ममा काम गर्न खासै गाह्रो भएन, तर फिल्मको क्यारेक्टरमा केही गाह्रो पनि थियो ।’

जस्तो कि, उनको घरमा गाई त पालिएको थियो तर जर्सी गाई पालिएको थिएन । फिल्ममा उनले गाई पालन गरेर दूध बेची गुजारा चलाउने किसानको भूमिका निभाएका छन् । घरमा गाई पाल्दा भने त्यत्रो दौडधूप थिएन ।

ड्रेसअपमा भन्दा अभिनयमा चासो

त्यसो त विपिन कार्की सामान्य जीवन बाँचिरहेका साधारण युवकजस्तो देखिन्छन् । धेरै बोल्दैनन् । कुनै पनि चरित्रका बारेमा गहन भएर सोच्छन् । त्यो सोच र आफूले बुझेको चरित्रलाई उनले फिल्ममा प्रयोग गर्छन् । सार्वजनिक कार्यक्रममा भेट्दा पनि उनी सामान्य बनेर नै आइरहेका हुन्छन् ।

हामीसँगको भेटघाटमा पनि उनी सरल बनेर आएका थिए । दाह्री झुप्प थिए । सोध्यौँ, ‘तपाईंजस्तो स्टारले त व्यक्तित्वमा पनि ख्याल गर्नुपर्ने होइन र? प्रायः यस्तै गेटअपममा देखिनुहुन्छ नि?’खिस्स हाँस्दै उनले सुनाए, ‘ठीकै छु त, यत्तिको भए भइहाल्यो नि ।’

‘टिपटप’ बन्न खासै नरुचाउने विपिन पहिले आफू यही वातावरणबाट आएको र अहिले पनि यसैमा रमाएको बताए । लोकपथसँगको कुराकानीमा उनले भने, ‘हुन त ड्रेसअपलाई लिएर निकै ख्याल गर्ने कलाकार पनि हुनुहुन्छ, आ–आफ्नै रुचि हो । त्यसको पनि बेला आउँदो रहेछ, कुनै जमानामा चासो लाग्थ्यो, तर अहिले खासै चासो लाग्दैन ।’

अन्तमा उनले भने, ‘बरु अभिनयमा कसरी निखार ल्याउने भनेर सोच्छु तर ड्रेसअपमा खासै ध्यान जाँदैन ।’

तस्वीरहरूः अर्घेलो थापा (भष्मे डनको क्यारेक्टर फिल्मबाट लिइएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?