प्रतिनिधिसभा बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा प्रस्तुत हुने भएको छ । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट गत बुधवार बहुमतले पारित भएको चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित आज (आइतवार) मध्यान्ह १२ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको हो । 

संघीय संसद सचिवालयका अनुसार समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने व्यवस्था समेटिएको छ ।

१५ औं अनसनका क्रममा गत साउन १० गते सरकार र डा. गोविन्द केसीबीच भएको सहमति विपरित समितिले प्रतिवेदन अनुमोदन गरेको भन्दै डा. केसी इलाम पुगेर १६ औं चरणको अनसन शुरु गरेका छन् । 

अनसनको पाँचौ दिन आज पनि जारी छ । अहिले डा. केसी स्वास्थ्य अवस्था भने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । 

डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने र छातीमा समस्या देखिनुका साथै खोकी समेत बढेकोले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन चिकित्साहरुले सुझाव दिएका छन् ।

यसैबीच प्रतिनिधिसभाको आज बस्ने बैठकबाट अघिल्लो अधिवेशन मै छलफलमा आएका तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार राष्ट्रियसभाबाट आएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयक तथा प्रतिनिधिसभा मै उत्पन्न भएका निवृत्तिभरण कोष विधेयक र भुक्तानी तथा फस्र्यौट विधेयक पारित गर्ने कार्यसूची रहेको जानकारी दिए ।

उक्त तीन वटै विधेयक गत साउनमा संघीय संसद सचिवालयमा दर्ता भएर सैद्धान्तिक छलफल भएपनि संसद अधिवेशन अन्त्य हुँदा समितिमा दफावार छलफल हुन बाँकी थियो ।  

यसैगरी बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक टेवल गर्ने कार्यसूची छ भने नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल हुने सहप्रवक्ता अर्यालले बताए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?