जिल्ला अस्पताल सार्दै गर्दा डा. केसीले भने- अस्पताल सार्नुभन्दा माग पूरा गरियोस्

काठमाडौं । पछिल्लो ६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मुटुको चाल अनियमित भएपछि इलामस्थित जिल्ला अस्पतालमा सारिएको छ ।

मुटुको चाल अनियमित हुनुका साथै खोकीसमेत बढ्दै गएपछि डा. केसीलाई जिल्ला अस्पताल सारिएको हो । पटकपटकको अनशनका कारण निम्तिएको मुटुको समस्यालागि औषधिसमेत नखाएका डा. केसीको पाँचौ दिनदेखि नै मुटुको चाल गढबढी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

केही महिनाअघि मुटुमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पतालको मनमोहन सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गम्भीर र नकारात्मक संकेत देखिएपछि आइतबारदेखि नै अस्पताल जान आग्रह गर्दा डा. केसी तयार नभए पनि स्थानीयको आग्रहमा अस्पताल जान तयार भएको बताइएको छ ।

अस्पताल लैजानेक्रममा डा. केसीले ‘मेरो स्वास्थ्यको चिन्ता गरेर अस्पताल सार्नु भन्दा मेरो माग पूरा गरियोस्’ भनेका छन् ।

यसैबीच, डाक्टर केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन आज पनि इलाममा र्याली निकालिँदैछ । बिहान ११ बजे इलामको रत्नचोकमा भेला भएर डाक्टर केसीले उठाएका मागको समर्थन गरिने उहाँका समर्थकहरुले बताएका छन् । 

शनिबार महिला र आइतबार ज्येष्ठ नागरिकले स्वतःस्फुर्त रुपमा र्याली निकालेर डाक्टर केसीले उठाएका मागमा समर्थन गर्दै उहाँसँगको सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।

१५औं अनशनको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयकमाथिको प्रतिवेदन समितिबाट पारित भएपछि डा. केसी गत बुधबारदेखि अनशनमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?