रामपुर उपत्यकामा प्याराग्लाइडिङको सफल उडान

बेझाड । पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ ।

प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सफल परीक्षण उडान गरिएको हो । रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो ।

पहिलो उडान बाहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो ।

दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो । 

“रामपुर प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावना बोकेको ठाउँ छ,” उनले भने ।  छब्बीस जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका सुनुवारले नयाँ ठाउँ खोजी गर्ने क्रममा बाहुनडाँडा र सिलुवाको लोस्दीलाई छनोट गरिएको बताए । “यहाँ एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ,” उनले भने, “यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना छ ।” 

रामपुर नगरपालिका क्षेत्रलाई प्याराग्लाइडिङको हबका रुपमा चिनाउन अभियान थालिने नगर प्रमुख रमणबहादुर थापाले बताए। “पूर्वाधार विकास गरी रामपुरलाई पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ उडान सेवा सञ्चालन गर्नयोग्य बनाउँछौँ, नगरपालिकाले प्रक्रिया अगाडि बढाउँदैछ”, उनले बताए ।

उनले आफैँले प्याराग्लाइडिङमा यात्रा गरेपछि ध्यान केन्द्रित भएको बताए । नागबेली आकारमा बगेको कालीगण्डकी, हरियाली डाँडाकाँडा, सुन्दर रामपुर उपत्यका, उत्तरतर्फ टल्केका हिमालको दृश्यसँगै प्याराग्लाइडिङमा यात्रा गर्दा निकै रमाइलो भएको पहिलो प्याराग्लाइडिङका यात्रु रामपुर नगरपालिका–६ का सीताराम आचार्यले बताए । 

रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन् । प्याराग्लाइडिङ उडानकै कारण गाउँको विकास हुने उनीहरुको आशा छ । विकास निर्माण नहँदा यहाँ बसाइँसराइका कारण बस्ती पातलिँदै गएको छ ।

अब छिट्टै नै प्याराग्लाइडिङ सञ्चालनको काम अगाडि बढाउन थालेपछि पुनःबस्ती भरिने वडा नं ७ का वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताए ।  सरकारीस्तरको टोलीले यहाको अध्ययन अवलोकन गरी प्याराग्लाइडिङका रुपमा विकास गर्न सकिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?